नेपालगञ्जको अस्तव्यस्त ट्राफिक : भारतीय गाडी तथा सिटी रिक्साको दादागिरी र व्यवस्थापनमा ट्राफिक प्रहरी असफल

 

कार्तिक २३ नेपालगंज 

सिद्धार्थ जंग शाह।

बाँकेको व्यापारिक केन्द्र नेपालगञ्जमा व्यापारिक गतिविधि बढ्दै जाँदा यहाँको जनघनत्व र सवारीसाधनको चाप पनि अत्यधिक बढेको छ। यसैको व्यवस्थापनका लागि वि.सं. २०८० सालमा नेपाल सरकारले नेपालगञ्जका मुख्य पाँच चोकहरू—गणेशमान चोक, बीपी चोक, धम्बोझी चोक, पुष्पलाल चोक र राँझा चोक—मा ट्राफिक बत्ती जडान गरेको थियो।

​यद्यपि, धम्बोझी चोक र पुष्पलाल चोकबाहेकका बत्तीहरू खासै प्रयोगमा नआउँदै गएको २४ गतेको (जेनजी) आन्दोलनका क्रममा तोडफोड गरिए। अहिले फुटेको बत्तीको सङ्केतमा नै नेपालगञ्जवासी ट्राफिक नियम पालना गर्न बाध्य छन्।

​नो-पार्किंग बोर्डकै अगाडि अव्यवस्थित पार्किङ र सडक अवरुद्ध

​नेपालगञ्जको धम्बोझी चोकस्थित हाम्रो मोमो अगाडिको नो पार्किंगमै अव्यवस्थित पार्किङले गर्दा विगतमा पनि ठूला दुर्घटनाहरू भएका छन्। तर पनि ट्राफिक प्रहरीको धज्जी उडाउँदै, त्यही स्थानमा अटोरिक्सा र नगर बसहरूले यात्रु ओराल्ने र चढाउने कार्य गर्छन्। यसका कारण हरेक दिन ट्राफिक प्रहरीको आँखा अगाडि नै सडक पूरै बन्द हुने गरी सिटी रिक्साहरूको दादागिरी चल्छ।



निजी नम्बर प्लेटका गाडीहरु द्वारा यात्रु ओसारपसार: नो-पार्किङ क्षेत्रमा समेत निजी नम्बर प्लेटका गाडीहरू राखी व्यावसायिक रूपमा यात्रु ओसारपसार गर्ने गरिन्छ।



​ट्राफिकको मिलोमतोमा अवैध धन्दा: धम्बोझी सिद्धार्थ कटेज अगाडि हरेक दिन १५/२० वटा निजी नम्बरका गाडीहरू खुलेआम रिजर्भमा जाने गर्दछन्। यो क्रम तत्कालीन बाँके ट्राफिक प्रमुख (प्रहरी निरीक्षक) हिमालय शाहको समयमा बन्द भएको थियो, तर उहाँको सरुवा भएलगत्तै नेपालगञ्ज ट्राफिक प्रहरीको मिलोमतोमा यो अवैध कार्य पुनः सुचारु भएको छ।



​नेपालगञ्जको सडकमा भारतीय गाडीको 'आतङ्क'

​नेपालगञ्जमा क्यासिनो र ठूला होटलहरू खुलेसँगै भारतीय पर्यटकहरूको चाप बढेको छ।

​भारतीय पर्यटकहरू नेपालगञ्ज प्रवेश गर्दा भन्सारमा 'एन्ट्री' गरेपछि मात्र नेपालगञ्ज बजार घुम्न पाउने सुविधा कार्ड दिइन्छ। यो कार्ड लिएका गाडीलाई नेपालगञ्ज भन्सारदेखि राँझा एयरपोर्टसम्म बिना नेपाल सरकारलाई दस्तुर (भन्सार शुल्क/परमिट शुल्क) बुझाई जान पाउने नियम छ।

​तर, भारतीय गाडीहरू ३२ किलोमिटरभित्र गाभार सम्म बिना शुल्क जाने गरेको कुरा हामीले गरेको रिपोर्टिङको क्रममा फेला परेको छ।

​'ट्राफिकलाई पैसा दियो, सबै मिल्छ'

​हामीले एक जना भारतीय चालकलाई 'तपाईं राँझा एयरपोर्टभन्दा उत्तर आउँदै हुनुहुन्छ, दस्तुर तिर्नु पर्छ नत्र ट्राफिकले कारबाही गर्छ' भन्दा उनले जवाफ दिए, "ट्राफिकलाई पैसा दिएपछि सबै मिल्छ।"

​नेपालगञ्जका सडकहरूमा भारतीय गाडीहरूको मनोमानी यतिसम्म छ कि उनीहरूले बाटोको बीचमा (सडकको बीच भागमा) गाडी पार्क गरेर हिँड्ने गरेको फोटोहरू सामाजिक सञ्जालमा समेत देख्न पाइन्छ।




​यी सबै चुनौतीहरू हुँदाहुँदै पनि बाँके ट्राफिक प्रहरी र नेपालगञ्ज ट्राफिक युनिट शहरको ट्राफिक व्यवस्थापनमा पूर्ण रूपमा असफल देखिएको छ।



Post a Comment

Previous Post Next Post