धादिङमा बस दुर्घटना: त्रिशूली नदीमा खस्दा १७ जनाको मृत्यु, २४ घाइते

 फागुन ११ गते । 

सिद्धार्थ जंग शाह।

पोखराबाट काठमाडौं आउँदै गरेको यात्रुवाहक बस धादिङमा दुर्घटना हुँदा १७ जनाको मृत्यु भएको छ भने २४ जना गम्भीर घाइते भएका छन्।


 सोमबार बिहान करिब १:३० बजे ग १ ख १४२१ नम्बरको बस धादिङको बेनिघाट रोराङ गाउँपालिका-५, भैँसीगौडा स्थित पृथ्वी लोकमार्गबाट त्रिशूली नदीमा खसेको हो। बस सडकबाट करिब १०० मिटर तल खसेको प्रहरीले जनाएको छ।

​सशस्त्र प्रहरी बलका प्रवक्ताका अनुसार घटनास्थलबाट अहिलेसम्म १७ जनाको शव निकालिएको छ। दुर्घटनामा घाइते भएका २४ जनालाई उद्धार गरी उपचारका लागि कुरिनटार र काठमाडौंका विभिन्न अस्पतालहरूमा पठाइएको छ।सशस्त्र प्रहरी बलको विपद् व्यवस्थापन वेश आदमघाट र विपद् व्यवस्थापन तालिम शिक्षालय कुरिनटारबाट गोताखोरसहितको टोली उद्धारमा खटिएको छ। बसमा करिब ४६ जना यात्रु रहेको अनुमान गरिएको छ। नदीमा डुबेको बसबाट यात्रुहरूको खोजी र उद्धार कार्य अझै जारी छ।

​मृतक र घाइतेहरूको पहिचान अझै खुल्न सकेको छैन। दुर्घटनाको ठोस कारण स्पष्ट नभए पनि तीव्र गति वा प्राविधिक गडबडी हुन सक्ने प्रारम्भिक अनुमान गरिएको छ। थप विवरण आउन बाँकी छ।

Post a Comment

Previous Post Next Post