नेपालजंग
सिद्धार्थ जंग शाह
नेपाली कांग्रेसका सभापति गगन थापाले आफ्नो पदबाट राजीनामा दिएका छन्। हालै सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा पार्टीले व्यहोर्नुपरेको हारको नैतिक जिम्मेवारी लिँदै थापाले बुधबार उपसभापति विश्वप्रकाश शर्मासमक्ष राजीनामा बुझाएका हुन्।
फागुन २१ गते भएको निर्वाचनमा सभापति थापा स्वयम् सर्लाही क्षेत्र नं. ४ बाट पराजित भएका थिए।
थापा सहित चुनावमा होमिएका पार्टीका सबै पदाधिकारीहरू पराजित भएपछि नेतृत्वमाथि नैतिक प्रश्न उठेको थियो।
: विशेष महाधिवेशनपछि बनेको नयाँ नेतृत्वलाई निवर्तमान सभापति शेरबहादुर देउवा पक्षले स्वीकार गरेको थिएन। सो महाधिवेशनविरुद्धको मुद्दा हाल सर्वोच्च अदालतमा विचाराधीन छ।
सभापति थापाको राजीनामाबारे छलफल गर्न नेपाली कांग्रेसले शुक्रबार दिउँसो १ बजे केन्द्रीय समितिको बैठक बोलाएको छ। एक पदाधिकारीका अनुसार, उक्त बैठकले राजीनामा स्वीकृत गर्ने वा नगर्ने भन्ने विषयमा अन्तिम निर्णय लिनेछ।
विशेष महाधिवेशन भएको छोटो समयमै चुनावमा होमिएको कांग्रेसभित्र आन्तरिक कलह र चुनावी नतिजालाई लिएर गम्भीर समीक्षा हुने देखिएको छ। सभापति थापाको यो कदमलाई कतिपयले राजनीतिक नैतिकताको रूपमा हेरेका छन् भने कतिपयले पार्टीभित्रको बढ्दो ध्रुवीकरणको परिणाम ठानेका छन्।


Post a Comment