नारायण रिजाल दैलेख, असार १२ (२०८३) — दुल्लु नगरपालिका, आधारभूत स्वास्थ्य तथा सरसफाइ इकाइको आयोजनामा "क्षयरोग मुक्त अभियान" अन्तर्गत समुदायमा युवा, नागरिक समाजका प्रतिनिधि, विभिन्न संघ–संस्था तथा महिला स्वास्थ्य स्वयंसेविकाहरूका लागि एकदिने अभिमुखीकरण कार्यक्रम आज सम्पन्न भएको छ।
कार्यक्रमको अध्यक्षता दुल्लु नगरपालिकाका नगरप्रमुख भरत प्रसाद रिजालले गर्नुभएको थियो। कार्यक्रममा नगर उपप्रमुख बिना कार्की, प्रमुख प्रशासकीय अधिकृत लगायत जनप्रतिनिधि, कर्मचारी तथा सरोकारवालाहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।
कार्यक्रममा प्रशिक्षक दीपेन्द्र जोशी र हिमाल आचार्यले क्षयरोगको वर्तमान अवस्था, रोगको पहिचान, समयमै परीक्षण र उपचार, समुदायको भूमिका तथा क्षयरोग मुक्त समाज निर्माणका लागि अपनाउनुपर्ने रणनीतिबारे सहजीकरण गर्नुभएको थियो। उहाँहरूले क्षयरोग अन्त्यका लागि स्थानीय तह, स्वास्थ्यकर्मी, महिला स्वास्थ्य स्वयंसेविका, युवा तथा नागरिक समाजबीच प्रभावकारी समन्वय र जनचेतना अभिवृद्धि आवश्यक रहेकोमा जोड दिनुभयो।
अध्यक्षीय मन्तव्यका क्रममा नगरप्रमुख भरत प्रसाद रिजालले दुल्लु नगरपालिकालाई क्षयरोगमुक्त नगरपालिका बनाउने लक्ष्यमा सबै सरोकारवालाले साझा जिम्मेवारीका साथ सक्रिय भूमिका निर्वाह गर्नुपर्ने बताउनुभयो। उहाँले समुदायस्तरमै सचेतना, समयमै परीक्षण र नियमित उपचारलाई अभियानका रूपमा अघि बढाउनुपर्ने आवश्यकता औँल्याउनुभयो।
कार्यक्रममा सहभागीहरूले प्राप्त ज्ञान तथा सीपलाई समुदायमा प्रभावकारी रूपमा विस्तार गर्दै क्षयरोग नियन्त्रण तथा उन्मूलन अभियानलाई सफल बनाउन प्रतिबद्धता व्यक्त गरेका थिए। आयोजकका अनुसार यस्ता कार्यक्रमले समुदायमा जनचेतना अभिवृद्धि गरी क्षयरोगमुक्त समाज निर्माणमा महत्वपूर्ण योगदान पुग्ने विश्वास लिइएको छ।



Post a Comment