रोटरी क्लब अफ सेन्ट्रल बाँकेको रु. २ लाख ५९ हजारभन्दा बढीको राहत सामग्रीसहित जाजरकोट राहत अभियान सम्पन्न
नेपालगञ्ज, भदौ २१ । जाजरकोट नगरपालिका वार्ड न. ०२, रिसांग क्षेत्रमा श्रावन ३० गतेको गएको पहिरो विपद्बबाट प्रभावित नागरिकलाई मानवीय सहयोग पुर्याउने उद्देश्यले रोटरी क्लब अफ सेन्ट्रल बाँकेको नेतृत्वमा सञ्चालन गरिएको “जाजरकोट–रसुवा राहत कोष–२०२६” अन्तर्गत रु. २ लाख ५९ हजार १७५ बराबरको राहत सामग्री तथा वस्तुगत सहयोग संकलन तथा वितरण गरिएको छ।
राहत अभियानमा रोटरी डिस्ट्रिक्ट ३२९२, नेपाल–भुटान, रोटरी क्लब अफ सेन्ट्रल बाँके, स्पोन्सर क्लब रोटरी क्लब अफ सेन्ट्रल लुम्बिनी, इन्टर्याक्ट क्लब अफ सेन्ट्रल बाँके तथा इन्टर्याक्ट क्लब अफ बागेश्वरी मावि लगायतको सहयोग रहेको थियो। यस अभियानले रोटरी परिवारसँगै स्थानीय समुदाय र सामाजिक अभियन्ताहरूको सहकार्यलाई समेत जोड दिएको थियो।
राहत सामग्रीमा खाद्य सामग्री, विद्यालय झोला, न्यानो कपडाका सेट, कम्बल, दरी, झुल तथा बाल्टिन लगायत विपद् प्रभावित परिवार तथा विद्यार्थीका लागि आवश्यक सामग्रीहरू समावेश थिए। विशेषगरी विभिन्न संस्था तथा व्यक्तिबाट प्राप्त वस्तुगत सहयोगले अभियानलाई प्रभावकारी बनाउन महत्वपूर्ण योगदान पुर्याएको थियो।
राहत सामग्रीको संकलन, व्यवस्थापन, ढुवानी तथा वितरणमा अध्यक्ष रोटेरियन ईश्वरी जंग मल्ल, प्रेसिडेन्ट इलेक्ट रोटेरियन बिमल कार्की, रोटेरियन सरोज रेग्मी, रोटेरियन मनीष मण्डल तथा प्रस्तावित सदस्य प्रेम प्रसाद चौलागाईंले स्वयंसेवकका रूपमा सक्रिय भूमिका निर्वाह गरेका थिए।
अभियानमा मेरो टुकी प्रज्ञालयबाट यातायात सहयोग तथा नेपालगञ्ज भन्सार एजेन्ट संघलगायत विभिन्न गैर–रोटेरियन सामाजिक अभियन्ताहरूबाट समेत सहयोग प्राप्त भएको थियो।
राहत वितरण तथा स्थानीय समन्वयमा भेरी नगरपालिका, जिल्ला प्रशासन कार्यालय जाजरकोट, भेरी नगरपालिका वडा नं. २, यात्रा मिडिया हाउसको महत्वपूर्ण सहयोग रहेको थियो।
रोटरी क्लब अफ सेन्ट्रल बाँकेले अभियान सफल बनाउन सहयोग गर्ने रोटरी डिस्ट्रिक्ट ३२९२, नेपाल-भुटान, रोटरी तथा इन्टर्याक्ट क्लबहरू, सहयोगी संघसंस्था, सामाजिक अभियन्ता, स्वयंसेवक तथा स्थानीय निकायहरूप्रति हार्दिक आभार व्यक्त गरेको छ।
क्लबले विपद्को समयमा राहत वितरणमा मात्र सीमित नभई प्रभावित समुदायको आवश्यकता पहिचान गरी आगामी दिनमा पनि मानवीय सेवा, सामाजिक उत्तरदायित्व तथा समुदाय केन्द्रित कार्यक्रमहरूलाई निरन्तरता दिने प्रतिबद्धता जनाएको छ।
यसैगरी, रसुवा विपद् प्रभावित नागरिकका लागि रु. १ लाख सहयोग गर्ने प्रतिबद्धता समेत रोटरी क्लब अफ सेन्ट्रल बाँकेले जनाएको छ। जाजरकोटमा गरिएको सहयोग र रसुवाका लागि गरिएको प्रतिबद्धता गरी उक्त राहत अभियानले विपद्को समयमा मानवीय सेवाप्रतिको रोटरीको प्रतिबद्धतालाई थप बलियो बनाएको छ।





Post a Comment