नेपालगञ्ज उपमहानगरपालिका–१५, बाँकेस्थित श्री नेपाल राष्ट्रिय आधारभूत विद्यालय सुइयापिप्रहवाले विद्यालय–अभिभावक सम्बन्ध विस्तार तथा शैक्षिक गुणस्तर सुधार गर्ने उद्देश्यले आयोजित अभिभावक भेलामा ‘मेरो विद्यालय, मेरो प्रतिबद्धता’ पत्रमा सामूहिक हस्ताक्षर गर्दै कार्यक्रम सम्पन्न गरेको छ।
विद्यालयमा आयोजित कार्यक्रममा शिक्षक कर्मचारी, विद्यार्थी प्रतिनिधि, विद्यालय व्यवस्थापन समिति, अभिभावक, स्थानीय जनप्रतिनिधि तथा विभिन्न सरोकारवालाले विद्यालयको शैक्षिक, भौतिक तथा सामाजिक विकासमा आ-आफ्नो भूमिका निर्वाह गर्ने प्रतिबद्धतासहित हस्ताक्षर गरेका हुन्। विद्यालय र अभिभावकबीचको सम्बन्धलाई अझ मजबुत बनाउँदै विद्यार्थीको सिकाइ उपलब्धि र विद्यालयको समग्र विकासमा सहकार्य गर्ने उद्देश्यले उक्त प्रतिबद्धता गरिएको विद्यालयले जनाएको छ।
कार्यक्रमका प्रमुख अतिथि नेपालगञ्ज उपमहानगरपालिका वडा नं. १५ का वडाध्यक्ष मदन विक्रम शाहले विद्यालयको विकासमा शिक्षक, अभिभावक, विद्यार्थी, स्थानीय सरकार र समुदायबीचको सहकार्य आवश्यक रहेको बताए। कार्यक्रममा वडा नं. १४ का वडाध्यक्ष मजहर अलि शाह तथा वडा नं. १६ का वडाध्यक्ष कलीम अहमद अन्सारीको समेत उपस्थिति रहेको थियो।
कार्यक्रममा नेपालगञ्ज उपमहानगरपालिकाको शिक्षा, युवा तथा खेलकुद महाशाखाका वरिष्ठ शिक्षा अधिकृत लोकेन्द्र बहादुर शाही, इलाका प्रहरी जमुनहाका प्रतिनिधि, माध्यमिक विद्यालय महेन्द्रनगरका प्रधानाध्यापक मो. शमिम कुरैसी, हनुमान आधारभूत विद्यालय जमुनहाका प्रधानाध्यापक समरबहादुर खत्री तथा हनुमान आधारभूत विद्यालयका विद्यालय व्यवस्थापन समिति अध्यक्ष मधई सिंह सरदारलगायतको उपस्थिति रहेको थियो।
त्यस्तै, स्थानीय समाजसेवी जाविर अलि बेहना, नगर शिक्षा समितिका निवर्तमान सदस्य रमेश प्रसाद श्रीवास्तव लगायत विभिन्न शिक्षा तथा सामाजिक क्षेत्रका व्यक्तिहरूको सहभागिता रहेको थियो।
कार्यक्रमको अध्यक्षता विद्यालय व्यवस्थापन समिति अध्यक्ष चन्द्रिका प्रसाद कहारले गरेका थिए भने कार्यक्रमको सञ्चालन विद्यालयका प्रधानाध्यापक मनोज राजा श्रीवास्तवले गरेका थिए।
विद्यालयले ‘मेरो विद्यालय, मेरो प्रतिबद्धता’ अभियानमार्फत विद्यालयलाई सबैको साझा जिम्मेवारी र साझा सम्पत्तिका रूपमा विकास गर्ने, विद्यार्थीको नियमित उपस्थिति तथा सिकाइमा अभिभावकको भूमिका बढाउने र विद्यालयको शैक्षिक वातावरण सुधार गर्न समुदायसँग सहकार्य गर्ने लक्ष्य लिएको जनाएको छ।
सामूहिक प्रतिबद्धतासहित सम्पन्न उक्त कार्यक्रमले ‘विद्यालय हाम्रो हो, यसको विकासमा हाम्रो पनि जिम्मेवारी छ’ भन्ने भावना अभिभावक, शिक्षक, विद्यार्थी र समुदायमा थप बलियो बनाएको सहभागीहरूले बताएका छन्।





Post a Comment