नेपालगञ्ज उपमहानगरपालिका वडा नं. १९ स्वास्थ्य शाखाको आयोजनामा ब्रीटिस इङ्लिश बोर्डिङ स्कुल, नेपालगञ्ज–१९ मा विद्यार्थी लक्षित स्वास्थ्य सचेतना कार्यक्रम सम्पन्न भएको छ।
विद्यालयमा अध्ययनरत माबीका विद्यार्थीहरूको सहभागितामा आयोजित कार्यक्रममा विद्यार्थीहरूलाई स्वास्थ्य, सरसफाइ तथा किशोरावस्थामा हुने शारीरिक, मानसिक र भावनात्मक परिवर्तनका विषयमा महत्वपूर्ण जानकारी प्रदान गरिएको थियो।
कार्यक्रममा किरण कुमार थारु, सि.अहेव तथा सुनिल बज्राचार्य, जनस्वास्थ्य अधिकृतले विद्यार्थीहरूलाई किशोरावस्थामा शरीरमा हुने विभिन्न परिवर्तन, व्यक्तिगत सरसफाइ, स्वच्छ वातावरण, स्वस्थ जीवनशैली तथा स्वास्थ्यसम्बन्धी समस्याबाट बच्ने उपायका बारेमा जानकारी दिएका थियो।
किशोरावस्थामा उचाइ तथा तौल बढ्ने, शरीरको बनावटमा परिवर्तन आउने, आवाजमा परिवर्तन हुने, छालामा डन्डीफोर आउने, शरीरमा रौँ पलाउने लगायतका शारीरिक परिवर्तनहरू स्वाभाविक प्रक्रिया भएको जानकारी दिँदै यस्ता परिवर्तनलाई सहज रूपमा स्वीकार गर्नुपर्ने विषयमा समेत विद्यार्थीहरूलाई सचेत गराइएको थियो। साथै यस उमेरमा देखिन सक्ने भावनात्मक तथा मानसिक परिवर्तन, आत्मविश्वास, तनाव व्यवस्थापन, सकारात्मक सोच र आफ्ना समस्या अभिभावक, शिक्षक वा स्वास्थ्यकर्मीसँग खुलेर साझा गर्नुपर्ने विषयमा पनि जानकारी दिइएको थियो।
कार्यक्रममा किशोरीहरूका लागि महिनावारीका समयमा अपनाउनुपर्ने व्यक्तिगत सरसफाइ, सुरक्षित तथा स्वच्छ सामग्रीको प्रयोग नियमित रूपमा सामग्री परिवर्तन गर्ने बानी तथा महिनावारीसम्बन्धी भ्रम र गलत धारणाबाट मुक्त हुनुपर्ने विषयमा समेत सचेतना प्रदान गरिएको थियो।
विद्यार्थीहरूलाई दैनिक जीवनमा स्वास्थ्य र सरसफाइलाई प्राथमिकता दिन नियमित रूपमा हात धुने, शरीर तथा वरपरको वातावरण सफा राख्ने, स्वस्थकर तथा पौष्टिक खानपान अपनाउने, पर्याप्त निद्रा र शारीरिक गतिविधिमा ध्यान दिने तथा स्वास्थ्यसम्बन्धी समस्या देखिएमा समयमै स्वास्थ्यकर्मीको परामर्श लिन सुझाव दिइएको थियो।
विद्यार्थी उमेरमै स्वास्थ्य, सरसफाइ तथा किशोरावस्थामा हुने परिवर्तनबारे सही ज्ञान र सकारात्मक व्यवहार विकास गर्न यस्ता कार्यक्रम महत्वपूर्ण हुने विद्यालयका प्रधानाध्यापक हेमन्त राज काफ्लेले बताउनुभयो। उहाँले विद्यार्थीहरूले प्राप्त गरेको स्वास्थ्यसम्बन्धी ज्ञानलाई आफ्नो दैनिक जीवनमा व्यवहारमा उतार्दै परिवार र समुदायसम्म पनि सकारात्मक सन्देश जाने बताउनु भयो ।
कार्यक्रममा सहभागी कक्षा ९ का रितेस पोख्रेलले किशोरावस्थामा हुने शारीरिक तथा मानसिक परिवर्तन, विभिन्न सर्ने तथा नसर्ने रोगहरु व्यक्तिगत सरसफाइ र स्वस्थ जीवनशैलीका विषयमा धेरै उपयोगी तथा व्यवहारिक जानकारी प्राप्त भएको बताएका थिए।



Post a Comment