बाँकेको अम्बे स्टिलको आयल ट्याङ्कीमा भीषण आगलागी, डेढ करोडभन्दा बढीको क्षति


​यात्रा मिडिया (नेपालगन्ज) — बाँकेको जानकी गाउँपालिका–५, बकसपुरमा सञ्चालित अम्बे स्टिल सरिया उद्योगको फर्नेस आयल ट्याङ्कीमा बिहीबार दिउँसो आगलागी भएको छ। विद्युत् लाइन सर्ट भएर भएको आगलागीबाट करिब १ करोड ५६ लाख रुपैयाँ बराबरको भौतिक क्षति भएको प्रारम्भिक अनुमान गरिएको छ।

​जिल्ला प्रहरी कार्यालय बाँकेका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक (DSP) प्रतीतसिंह राठौरका अनुसार दिउँसो करिब १ः३० बजे उद्योगभित्र फलाम पगाल्न प्रयोग गरिने फर्नेस आयल राखिएको ट्याङ्कीमा एक्कासि आगलागी भएको थियो। आगलागीको खबर पाउनासाथ इलाका प्रहरी कार्यालय खजुराखुर्दबाट प्रहरी टोली तत्काल घटनास्थलमा खटिएको थियो।

​घटनापछि नेपाल प्रहरी, स्थानीय बासिन्दा तथा नेपालगन्ज र आसपासबाट पुगेका दमकलको सहयोगमा आगो पूर्ण रूपमा नियन्त्रणमा लिइएको छ। सुरक्षा निकाय र स्थानीयको सक्रियताका कारण आगो उद्योगका अन्य शाखामा फैलिन नपाई समयमै नियन्त्रणमा आएकाले थप ठूलो क्षति हुनबाट जोगिएको छ।

​घटनामा कुनै मानवीय क्षति वा घाइते नभएको प्रहरीले जनाएको छ। आगलागीबाट भएको क्षतिको पूर्ण विवरण सङ्कलन गर्ने कार्य जारी रहेको र घटनाका सम्बन्धमा थप अनुसन्धान भइरहेको बाँके प्रहरीले जानकारी दिएको छ।

Post a Comment

Previous Post Next Post