१५ पुस नेपालगंज।
सिद्धार्थ जंग शाह
देशको सुरक्षामा अहोरात्र खटिने नेपाली सेनाले पछिल्लो समय मानवीय सेवामा पनि एउटा उत्कृष्ट उदाहरण प्रस्तुत गरेको छ। देशभर, विशेष गरी तराईका जिल्लाहरूमा बढ्दो शीतलहर र चिसोका कारण जनजीवन कष्टकर बन्दै गएपछि नेपाली सेनाले नागरिकको सुरक्षा र राहतका लागि नयाँ अभियान सुरु गरेको छ।
नेपाली सेनाको बज्रदल गण, राँझाले बाँकेका चिसो पीडितहरूका लागि जिल्लाका पुरैना, फुलटेक्रा, आलनगर, नीलसागर आश्रम र खजुराका विपन्न बस्ती लगायत जिल्लाका विभिन्न स्थानहरूमा आफ्नै स्रोत र साधन प्रयोग गरी आगो ताप्न दाउरा वितरण गरेको छ। गणका गणपति प्रमुख सेनानी रामचन्द्र श्रेष्ठका अनुसार सेनाले बस्तीहरूमा आफ्नै ट्रकमार्फत दाउरा पुर्याउने मात्र नभई स्थानीयहरूसँगै मिलेर आगो बाल्नुका साथै शीतलहर तथा जाडोबाट बच्ने उपायहरूबारे सचेतना समेत जगाएको छ।
सेनाको यस सक्रियताले चिसोमा कठ्याङ्ग्रिएका बटुवा, मजदुर र वृद्धवृद्धाहरूलाई ठूलो राहत मिलेको छ। स्थानीय बासिन्दाहरूले सेनाको यो कार्यको मुक्तकण्ठले प्रशंसा गरेका छन्। गणपति श्रेष्ठले 'यात्रा मिडिया'सँग कुरा गर्दै चिसो बढ्दै गएकाले आगामी दिनमा पनि नागरिकलाई राहत हुने यस्ता कार्यहरूलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गर्नुभएको छ।
सेनाको यो सानो तर अर्थपूर्ण सहयोगले धेरैको ज्यान जोगाउन र जनजीवन सामान्य बनाउन मद्दत पुगेको छ। यस कार्यले
नेपाली सेना केवल राष्ट्रको रक्षक मात्र नभई, नागरिकको दुःखको साथी पनि हो भन्ने प्रमाणित गरेको छ।





Post a Comment