नेपालगंज ३० पुस २०८२
सिद्धार्थ जंग शाह
नेपाली कांग्रेसभित्रको आन्तरिक कलहले उग्र रूप लिएपछि संस्थापन पक्षले पार्टीका दुई प्रभावशाली महामन्त्रीहरूलाई निष्कासन गरेको छ। बुधबार ललितपुरको सानेपास्थित पार्टी केन्द्रीय कार्यालयमा बसेको केन्द्रीय समिति बैठकले महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मा तथा सहमहामन्त्री फरमुल्लाह मन्सुरलाई पार्टीबाट निष्कासन गर्ने निर्णय गरेको हो।
बैठकले उनीहरूलाई पार्टीको विधानविपरीत कार्य गरेको र अनुशासन उल्लंघन गरेको ठहर गरेको छ। विशेष गरी संस्थापन पक्षको असहमति हुँदाहुँदै भृकुटीमण्डपमा "विशेष महाधिवेशन" आयोजना गरी नयाँ नेतृत्व चयनको प्रक्रिया अघि बढाएको भन्दै उनीहरूमाथि यो कडा कदम चालिएको हो।
केन्द्रीय सदस्य लक्ष्मी खतिवडाका अनुसार, बैठकले उनीहरूलाई पाँच वर्षका लागि साधारण सदस्य समेत नरहने गरी निष्कासन गर्ने निर्णय गरेको छ। प्रचार विभाग प्रमुख मीन विश्वकर्माले पार्टीको विधान २०१७ को धारा २२ र ३४ का विभिन्न उपधाराहरू प्रयोग गरी उनीहरूलाई निष्कासन गरिएको जानकारी दिनुभयो।
कांग्रेसभित्र नीति र नेतृत्व परिवर्तनको माग गर्दै महामन्त्रीद्वयको नेतृत्वमा पुस २७ गतेदेखि भृकुटीमण्डपमा विशेष महाधिवेशन भइरहेको छ। आजै राति ८ बजेदेखि त्यहाँ नयाँ नेतृत्वका लागि मतदान हुने कार्यक्रम तय भएको थियो। गगन थापाले सभापति पदमा र विश्वप्रकाश शर्माले पुन: महामन्त्री पदमा उम्मेदवारी दिएका छन्।
यो निष्कासनसँगै नेपालको सबैभन्दा पुरानो लोकतान्त्रिक दल नेपाली कांग्रेस औपचारिक रूपमै विभाजनको संघारमा पुगेको छ। संस्थापन पक्षले कारबाही गरे पनि विशेष महाधिवेशन पक्षधरहरूले भने यसलाई "अवैधानिक कारबाही" भन्दै आफ्नो निर्वाचन प्रक्रिया नरोक्ने बताएका छन्।

.jpeg)
Post a Comment