नेपालगञ्ज, २०८३ असार ४ गते। साबाँकेमाजिक विकास डिभिजन कार्यालय, नेपालगञ्ज बाँकेको आयोजनामा सञ्चालित “विद्यार्थी प्रतिभा पहिचान कार्यक्रम” अन्तर्गत बाँके र बर्दिया जिल्लाका माध्यमिक तहमा अध्ययनरत विद्यार्थीहरूबीच “उद्यमशीलता र आत्मनिर्भर युवा” विषयक वक्तृत्वकला प्रतियोगिता भव्य रूपमा सम्पन्न भएको छ। सामाजिक विकास डिभिजन कार्यालय बाँकेका शाखा प्रमुख श्री ऋषिराज शर्माज्यूको सभाध्यक्षतामा सम्पन्न कार्यक्रममा शिक्षा क्षेत्रका विशिष्ट व्यक्तित्वहरू, शिक्षक–शिक्षिका, विद्यार्थी तथा सरोकारवालाहरूको उल्लेखनीय उपस्थिति रहेको थियो। प्रतियोगितामा सहभागी विद्यार्थीहरूले उद्यमशीलता, आत्मनिर्भरता, नेतृत्व विकास, नवप्रवर्तन र युवाको भूमिकाका विषयमा प्रभावकारी प्रस्तुति दिँदै आफ्नो प्रतिभा प्रदर्शन गरेका थिए। प्रतियोगिताको नतिजाअनुसार बागेश्वरी एकेडेमी, कोहलपुर बाँकेकी छात्रा आशिका के.सी. प्रथम स्थान हासिल गर्दै नगद रु. १०,००० प्राप्त गर्न सफल भइन्
भने नेपाल राष्ट्रिय माध्यमिक विद्यालय, खजुराकी छात्रा भावना एडी द्वितीय स्थान हासिल गर्दै नगद रु. ७,००० प्राप्त गर्न सफल भइन्। त्यसैगरी स्प्रिङडेल स्कूल, नेपालगञ्जकी छात्रा हिना खड्का तृतीय स्थान हासिल गर्दै नगद रु. ५,००० प्राप्त गर्न सफल भइन्
भने रामजानकी माध्यमिक विद्यालय, कोहलपुरका छात्र एल.एल. सिक्देल सान्त्वना स्थान प्राप्त गर्दै नगद रु. ३,००० प्राप्त गर्न सफल भए। प्रतियोगिताको मूल्याङ्कन महेन्द्र बहुमुखी
क्याम्पस नेपालगञ्जका प्राध्यापक डा. हरि प्रसाद तिमिल्सिना, शिक्षा विकास तथा समन्वय इकाइ बाँकेका प्रमुख धनसुदन चौलागाईं तथा शिक्षाविद् जित बहादुर शाहले गर्नुभएको थियो। कार्यक्रमलाई सम्बोधन गर्दै सभाध्यक्ष श्री ऋषिराज शर्माज्यूले वर्तमान समयको आवश्यकता अनुसार युवाहरूलाई केवल शैक्षिक ज्ञानमा सीमित नराखी उद्यमशील, सिर्जनशील,
सीपयुक्त र आत्मनिर्भर नागरिकका रूपमा विकास गर्न आवश्यक रहेको बताउनुभयो। उहाँले यस्ता प्रतियोगिताले विद्यार्थीहरूमा आत्मविश्वास, नेतृत्व क्षमता, विश्लेषणात्मक सोच, सार्वजनिक वक्तृत्वकला तथा सामाजिक उत्तरदायित्वको भावना अभिवृद्धि गर्ने उल्लेख गर्दै भविष्यका सक्षम, जिम्मेवार र आत्मनिर्भर युवा तयार पार्न यस्ता कार्यक्रमहरूको महत्वपूर्ण भूमिका रहने धारणा व्यक्त गर्नुभयो। कार्यक्रमको अन्त्यमा विजयी विद्यार्थीहरूलाई नगद पुरस्कार तथा प्रमाणपत्र वितरण गरिएको थियो भने सहभागी विद्यार्थीहरूको उत्साहजनक सहभागिता, प्रभावकारी प्रस्तुति र प्रतिस्पर्धात्मक वातावरणले कार्यक्रमलाई अत्यन्त सफल, उपलब्धिमूलक तथा स्मरणीय बनाएको आयोजकले जनाएको छ।



Post a Comment