गाभरमा ईन्ट्रयाक्ट क्लब गठनसँगै वृक्षारोपण कार्यक्रम सम्पन्न

 बाँके, बैजनाथ ।

बैजनाथ गाउँपालिका–३, गाभरस्थित श्री बागेश्वरी माध्यमिक ईन्ट्रयाक्ट (Interact) क्लब गठन तथा वृक्षारोपण कार्यक्रम सम्पन्न भएको छ। युवामा नेतृत्व विकास, सामाजिक उत्तरदायित्व तथा वातावरण संरक्षणको भावना अभिवृद्धि गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको हो।




कार्यक्रमको अवसरमा विद्यालय परिसरमा विभिन्न प्रजातिका १०० बिरुवाहरू समेत रोपिएको थियो। वृक्षारोपण कार्यक्रममा विद्यार्थी, शिक्षक, रोटरी सदस्य तथा स्थानीय सरोकारवाला हरूको उत्साहजनक सहभागिता रहेको थियो। सहभागीहरूले वृक्षारोपणसँगै रोपिएका बिरुवाको संरक्षण र नियमित हेरचाह गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए।


रोटरी क्लब अफ सेन्ट्रल बाँकेले युवालाई केन्द्रमा राखेर शिक्षा, नेतृत्व विकास, वातावरण संरक्षण र सामुदायिक सेवाका कार्यक्रमहरूलाई प्राथमिकताका साथ अघि बढाउँदै आएको जनाएको छ। क्लबले विद्यालयसँगको सहकार्यलाई आगामी दिनमा अझ विस्तार गर्दै विद्यार्थीको क्षमता विकास तथा सामाजिक सेवाका विभिन्न गतिविधि सञ्चालन गर्ने योजना बनाएको छ।

विद्यालयमा गठन भएको ईन्ट्रयाक्ट क्लबले विद्यार्थीहरूलाई आफ्नो नेतृत्व क्षमता प्रदर्शन गर्ने, नयाँ सीप सिक्ने र समुदायमा सकारात्मक परिवर्तनका लागि सक्रिय हुने अवसर प्रदान गर्ने विश्वास गरिएको छ।

कार्यक्रमले “युवा नेतृत्व, वातावरण संरक्षण र सामुदायिक सेवा” लाई एकसाथ जोड्दै विद्यालयस्तरबाटै सामाजिक परिवर्तनको अभियान अघि बढाउने सन्देश दिएको क्लबका अध्यक्ष रो. ईश्वरी जंग मल्लले बताउनुभएको छ।

Post a Comment

Previous Post Next Post