‘ए मेरो हजुर ४’को बम्पर ओपनिङ, पहिलो दिन ८० लाखको ग्रस कलेक्शन





बिहिबार नयाँ बर्षको दिनमा नेपाली फिल्म ‘ए मेरो हजुर ४’ले बम्पर ओपनिङ गरेको छ । देशभरका हलमा यो चलचित्रले बिहिबार ८० लाखको ग्रस कलेक्शन गरेको वितरक गोविन्द शाहीले जानकारी दिए । देशभर मल्टिप्लेक्स हलको वृद्धि भएका कारण पनि साउथको हिन्दी डब फिल्म ‘केजीएफ २’को बम्पर ओपनिङको बाबजुत पनि यो फिल्मले सुखद ओपनिङ गरेको हो ।

काठमाडौंमा फिल्मको व्यापार ४३ लाख रहेको शाहीले बताए । काठमाडौं बाहिर ३५ देखि ३६ लाखको व्यापार भएको शाहीको भनाई छ । यसमा काठमाडौंको रञ्जना र गोपिकृष्णको कलेक्शन आइनपुगेको उनले बताए । यस्तै, काठमाडौं बाहिरको पनि केही हलको रिपोर्ट नआइसकेको उनको भनाई छ । उनले भने–‘देशभर मल्टिप्लेक्स हल वृद्धि भएको छ । यसैले, पनि विदेशी ठूलो फिल्म आउँदा पनि हामीलाई ठूलो असर त गरेन । तर, अझै शो बढी पाएको भए फिल्मले १ करोड भन्दा बढीको ग्रस कलेक्शन सहजै गथ्र्यो ।’

यो फिल्म बिहिबार देशभरका हलमा हाउसफूलका साथ चलेको थियो । फिल्मको शुक्रबारको व्यापार मध्यान्न १२ बजेपछि बढेको छ । बिहान औषत रहेको व्यापार १२ बजेपछि बढेको छ र बेलुकासम्म कतै सोल्ड आउट त कतै भरिने क्रममा छन् ।

शनिबार यो फिल्मले बम्पर कारोबार गर्ने अनुमान गरिएको छ । यो फिल्मलाई झरना थापाले निर्देशन गरेकी हुन् । निर्माता सुनिल कुमार थापाले शो कम पाएपनि दर्शकको उच्च चापका कारण फिल्मले सुखद ओपनिङ गरेको बताए । अनमोल केसी, सुहाना थापा, सलोन बस्नेत अभिनित यो फिल्मको वर्ड अफ माउथ बलियो छ । यसैले, फिल्म लामो समयसम्म चल्ने विश्लेषण प्रदर्शकहरुको पनि छ ।

Post a Comment

Previous Post Next Post