सिफारिस नदिएपछि नेपालगन्ज १८ वडा कार्यालयमा तनाव, पत्रकारमाथी हातपात

नेपालगन्ज : पक्षपात गरेर वडाअध्यक्षले सिफारिस नदिएको भन्दै नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर १८ का आक्रोशित स्थानीय बासिन्दाले बिहीबार वडा कार्यालय घेराउ गरेका छन् । नेपालगन्ज-१८ लग्दहवा निवासी ४५ वर्षीया रामप्यारी वर्मा विगत ७ महिनादेखी मृत्यु दर्ता नाता प्रमाणितका लागि वडा कार्यालयमा पुगेपनि वडाअध्यक्ष दीपककुमार बर्माले सिफारिस नदिएको आरोप छ ।
रामप्यारीकी आमा ८० वर्षीया सिउरी कुर्मीको करिव ७ महिनाअघि कालगतिले मृत्यु भएको थियो । आमाको मृत्यु भएपछि मृत्यु दर्ता नाता प्रमाणितका लागि वडा कार्यालयमा जादाँ वडाअध्यक्ष बर्माले विभिन्न बहाना बनाउँदै सिफारिस रोकेको रामप्यारी बताउँछिन् ।







‘धेरै पटक सिफारिस माग्न वडा कार्यालयमा आएँ, तर वडाअध्यक्षले जहिले पनि मलाई सिफारिस नदिएर फर्काउने काम गरेँ, मैले हात जोडेर विन्ती गर्दा उल्टै प्रहरी बोलाएर थुनाउँछु भनेर धाक धम्की दिएँ,’ रामप्यारीले वडा कार्यालय परिसरमा सञ्चारकर्मीसँग बिहीबार भनिन् ।




मृत्यु दर्ता नाता प्रमाणित नहुँदा आमाको जग्गा नामसारी हुन नसकेको उनले बताइन् । मृतक सिउरीका दुई छोरी मात्र छन् । रामप्यारी र मिरा सहोदर दुई बहिनी हुन् । आमाको मृत्यु पश्चात कानुनी रुपमा स्वतः अंश पाउने अधिकार भएपनि वडा कार्यालयको सिफारिस नपाउँदा सबै काम रोकिएको उनको गुनासो छ ।




रामप्यारी र मिराले लामो समयदेखी सिफारिस नपाएपछि उनको न्यायका लागि बिहीबार वडा नम्बर १८ का केही अगुवा तथा स्थानीय बासिन्दा पुगेका थिए । वडाअध्यक्ष बर्माको कार्यकक्षमा सामान्य रुपले छलफल भइरहेका बेला एक्कासी विवाद बढेपछि केहीबेर तनाव उत्पन्न भयो । त्यसक्रममा पत्रकार र महिलामाथी दुर्व्यवहार समेत भएको प्रत्यक्षदर्शीले बताए ।






नेपाली कांग्रेस लुम्बिनी प्रदेशकी सदस्य कृष्णा सापकोटाले सिफारिस नपाएका दुई दिदी बहिनीको न्यायका लागि आफुहरु वडा कार्यालयमा पुग्दा वडाअध्यक्षले उल्टै प्रहरी बोलाएको बताइन् । ‘दुई दिदी बहिनी छन्, उनीहरुका दाई भाई छैनन्, बुवाको सम्पत्ती हस्तान्तरणका लागि सिफारिस माग्न वडा कार्यालयमा पटक पटक पुग्दा नपाएपछि पीडितले नेपाली कांग्रेससँग सम्पर्क राख्नु भयो, त्यसपछि हामी उहाँको सिफारिसका विषयमा बुझ्दै थियौं, एक्कासी वडाअध्यक्षले प्रहरी र आफ्ना मान्छे बोलाएर दादागिरी देखाउनु भयो ।’
वडाअध्यक्ष वर्माले भने सिफारिस रोक्ने कुनै नियत नभएको जिकिर गरेका छन् । आफ्नो पहिलो कार्यकाल छदैं नाता प्रमाणितका लागि सिफारिस माग्न आएपनि दुबैको नाममा बराबर सम्पत्ती जाओस् भनेर सिफारिस रोकेको बताए ।
‘सिफारिस दिदाँखेरी एउटाले बढी पाउने र अर्कोले कम पाउने हुन्छ कि, यहाँबाट हामीले सिफारिस गर्दा मालपोतमा अप्ठ्यारो नहोस् भनेर रोकिएको हो,’ उनले भने ‘सिफारिस रोक्नुपर्ने कुनै कारण छैन, सिफारिस त दिने हो, नदिने कुरै छैन ।’

नेपालगन्ज १८ स्थित वडा कार्यालयमा समाचार संकलन गर्न पुगेका पत्रकार सलामत अलि शेखमाथी हातपात एवम् दुर्व्यवहार भएको हो । वडाअध्यक्ष बर्माको कार्यकक्षमै पीडित पक्षसँग छलफल भइरहेका बेला एक्कासी विवाद उत्पन्न भएको थियो । सो विवादले उग्ररुप लिएपछि स्थिती तनावपुर्ण बन्यो ।









सो क्रममा उपस्थित भएका नेपालगन्जस्थित प्रभात घोषणा राष्ट्रिय दैनिकमा कार्यरत पत्रकार शेखले भिडियो खिच्न लाग्दा वडाअध्यक्ष बर्मा एक्कासी उठेर हातपात एवम् दुर्व्यवहार गरेको पीडितले बताए । ‘वडाअध्यक्षको कार्यकक्षभित्र विवाद बढेपछि मैले मोबाईल निकालेर भिडियो खिच्दै थिए, वडाअध्यक्ष दीपक बर्मा एक्कासी आएर मेरो घाँटी समाते र मोबाईल खोस्ने प्रयास गरे, तर मैले मोबाईल दिएन,’ शेखले भने ‘त्यसपछि वडाअध्यक्षकै निर्देशनमा त्यहाँ रहेका प्रहरीले मलाई घिर्सादै बाहिर गेटसम्म पुर्याएँ, त्यहाँ रहेका स्थानीय बासिन्दाले छुटाए ।’







पत्रकारको परिचय दिदाँ दिदै पनि प्रहरीले आफुमाथी अमानविय ब्यवहार गरेको उनको गुनासो छ । यस्तै सुरक्षार्थ खटिएका प्रहरीले वडा कार्यालयमा पुगेकी निरुता गैरेमाथी दुर्व्यवहार गरेका छन् । आफुलाई एक जना पुरुष प्रहरीले सम्वेदनशिल अंग (छाती) समातेर दुर्व्यवहार गरेको उनले सुनाइन् ।

यसअघि अघिल्लो कार्यकालमा पनि पत्रकारमाथी दुर्व्यवहार गरेका वडाअध्यक्ष बर्माले पत्रकार महासंघको कार्यालयमै पुगेर माफी मागेका थिए । वडाबाट दिइने सिफारिस लगायत विभिन्न सेवा, सुविधामा सेवाग्राहीमा पुर्वाग्रह राख्ने गरेको स्थानीयको गुनासो छ ।
Sources From 

दूरसञ्‍चार मिडिया नेटवर्क प्रा.लि.

Post a Comment

Previous Post Next Post