बाँकेमा युवतीको बीभत्स हत्या: बेवारिसे अवस्थामा इनारमा भेटियो शव, छिमेकी युवक पक्राउ

माघ १४
दिद्धार्थ जंग शाह 

​नेपालगन्ज, बाँके – बाँकेको डुडुवा गाउँपालिकामा एक युवतीको हत्या गरी इनारमा फालिएको अवस्थामा शव फेला परेको छ। जिल्ला प्रहरी कार्यालय बाँकेले उक्त हत्यामा संलग्न रहेको आरोपमा एक युवकलाई पक्राउ गरी सार्वजनिक गरेको छ।
​गत २०८२ माघ १ गते बिहान करिब १०:२४ बजे डुडुवा गाउँपालिका वडा नम्बर ३, बनकट्टीस्थित राम फेरन कुर्मीको घर पछाडि रहेको पुरानो र प्रयोगविहीन इनारमा एक बेवारिसे शव फेला परेको थियो। प्रहरी उपरीक्षकको नेतृत्वमा खटिएको टोलीले सशस्त्र प्रहरीको सहयोगमा उक्त सडिसकेको अवस्थाको शव निकालेर पोस्टमार्टमका लागि भेरी अस्पताल पठाएको थियो।
​शवको खानतलासी र मृतकले लगाएको लुगा तथा गहनाका आधारमा मृतक सोही गाउँकी २१ वर्षीया बसन्ती गोडिया रहेको पुष्टि भएको छ।

​पोस्टमार्टम रिपोर्टका अनुसार मृतकको टाउको र घाँटीमा धारिलो हतियार प्रयोग गरी चोट पुर्‍याइएको  पाइएको छ, जसले घटना नियोजित हत्या भएको पुष्टि गरेको छ।
​ गत पुस १ गतेदेखि नै परिवारको सम्पर्क बाहिर रहेको र उनको हत्या करिब एक महिना अगाडि नै भएको हुनसक्ने देखिएको छ।
​अनुसंधान अनुसार मृतक र छिमेकी युवकबीच प्रेम सम्बन्ध रहेको खुलेको छ। आपसी विवाद र मनमुटावका कारण योजनाबद्ध रूपमा हत्या गरिएको अभियुक्तले स्वीकार गरेका छन्।
​प्रहरीले हत्याको आरोपमा सोही स्थान बस्ने २५ वर्षीय राकेश बर्मालाई पक्राउ गरेको छ। बर्मा पेशाले कृषक हुन्।
​जिल्ला प्रहरी कार्यालय बाँकेका सूचना अधिकारी (प्रहरी नायव उपरीक्षक) दीपक पातलीका अनुसार अभियुक्त बर्मालाई मुलुकी अपराध संहिता, २०७४ को ज्यान सम्बन्धी कसूरमा मुद्दा दर्ता गरिएको छ। बाँके जिल्ला अदालतबाट सात दिनको म्याद थप गरी उनीमाथि थप अनुसन्धान भइरहेको छ।

Post a Comment

Previous Post Next Post