नेपालगंज बाँके
सिद्धार्थ जंग शाह
'हाम्रो सुदूरपश्चिम हामी चिनाउँछौ' अभियान अन्तर्गत साइपाल हिमालको आधार शिविर (रानीसैन) क्षेत्रको पर्यटन प्रवर्द्धनका लागि जाँदै गरेको टोलीमाथि बाजुराको हिमाली गाउँपालिका–३ लाम्पाटामा हुम्लाका स्थानीय बासिन्दाहरूले आक्रमण गरेका छन्।
धनगढी उपमहानगरपालिकाका मेयर गोपाल हमाल, हिमाली गाउँपालिकाका अध्यक्ष गोविन्दबहादुर मल्ल, उपाध्यक्ष राजकला सार्की र पत्रकारसहित करिब ४० जनाको टोली रानीसैनतर्फ गइरहेको अवस्थामा हुम्लाको खार्पुनाथ गाउँपालिका–२ थाली गाउँका स्थानीयको समूहले साङ्घातिक आक्रमण गरेको हो।
ड्रोन उडाएपछि विवाद, ३ सयको संख्यामा आएका थिए आक्रमणकारी
जिल्ला प्रहरी कार्यालय बाजुराका अनुसार भ्रमण टोलीले लाम्पाटा क्षेत्रमा ड्रोन प्रयोग गरी भिडियो खिच्ने क्रममा हुम्लाका करिब २ देखि ३ सयको संख्यामा रहेका स्थानीय बासिन्दाहरू एक्कासि आक्रोशित भई वादविवाद र हातपातमा उत्रिएका थिए। अराजक शैलीमा प्रस्तुत भएको उक्त समूहको आक्रमणबाट हिमाली गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत कुल बहादुर थापा, वडा सदस्य पेमा गारा गुरुङ, स्थानीय लक्ष्मी गुरुङ, मिनु कुवँर र प्रहरी चौकी बिच्छ्यामा कार्यरत प्रहरी सहायक हवल्दार महेश धामी घाइते भएका छन्।
घाइतेहरूमध्ये गम्भीर चोट लागेका ४ जनालाई नेपाली सेनाको हेलिकप्टरमार्फत उद्धार गरी उपचारका लागि सुर्खेत पठाइएको छ। घटनापछि भ्रमण टोली गन्तव्यमा नपुगी बीच बाटोबाटै फर्किएको छ।
सिमाना र प्रहरी चौकी निर्माणको विवाद मुख्य जड
यो विवादको मुख्य जड बाजुरा र हुम्लाबीचको लामो समयदेखिको सिमाना विवाद भएको बताइएको छ। बाजुराको हिमाली गाउँपालिका–३ मा पर्ने लाम्पाटा र च्याचौर क्षेत्रलाई हुम्लाबासीहरूले आफ्नो भूभाग दाबी गर्दै आएका छन्। तर, आधिकारिक नापी, लालपुर्जा तथा प्रशासनिक अभिलेख अनुसार रानीसैन, च्याचौर र लाम्पाटा क्षेत्र बाजुरा जिल्लाकै अधीनमा पर्दछ।
हालै सो क्षेत्रको सुरक्षाका लागि लाम्पाटामा अस्थायी प्रहरी चौकी भवन निर्माण कार्य सुरु भएपछि हुम्लाका स्थानीयले अवरोध सिर्जना गर्दै आएका थिए, जसले मंगलबार उग्र रूप लिएको हो।
चौतर्फी भर्त्सना र राष्ट्रिय एकताको माग
यस निन्दनीय र अमानवीय घटनाप्रति बाजुराका स्थानीय तहहरूले संयुक्त विज्ञप्ति जारी गर्दै घोर आपत्ति जनाएका छन्। सामाजिक सञ्जालमा समेत यो घटनाको चौतर्फी आलोचना भइरहेको छ।
नागरिक समाज र स्थानीयबासीले "नेपाल भन्ने देश सबैको साझा भएको र यसको हरेक कुना–काप्चामा हरेक नेपालीको समान अधिकार रहने" भन्दै आपसी सम्मान, सहिष्णुता र राष्ट्रिय एकतामार्फत मात्रै समृद्ध नेपाल निर्माण सम्भव हुने सन्देश दिएका छन्। उनीहरूले शान्तिपूर्ण रूपमा हिँडडुल गर्न पाउने नागरिक अधिकारको हनन गर्ने दोषीहरूलाई तत्काल पहिचान गरी कानुनी कारबाहीको दायरामा ल्याउन सरकारसँग जोडदार माग गरेका छन्।


Post a Comment