बि–ग्रुपद्धारा अति विपन्न परिवारलाई खाद्यान्न तथा न्यानो कपडा वितरण नेपालगन्ज

 / नेपालगन्ज उप–महानगरपालिकाको समन्वयमा केएर नेपाल, एक्सन एड नेपाल, मर्सीकोर र बि–ग्रुपद्वारा सन्चालित शीत लहर आपतकालीन प्रतिकार्य परियोजना अन्तगर्त नेपालगन्ज उपमहानगरपालिकाका वडामा रहेका अति विपन्न परिवारलाई खाद्यान्न तथा न्यानो कपडा सामग्री वितरण गरिएको छ ।


आईतवार देखि सुरु भएको सो खाद्यान्न तथा न्यानो कपडा वितरण कार्यक्रममा पहिलो दिन वडा नं. १, ४ र वडा नं. ११ का २५ जना अति विपन्न परिवारलाई खाद्यान्न तथा न्यानो कपडा वितरण गरिएको छ ।

सो कार्यक्रम अन्तर्गत नेपालगन्ज उपमहानगरपालिका भित्र रहेको शीत लहरबाट  प्रभावित अति विपन्न १७० धरधुरीले भौचर मार्फत रु १३,५०० बराबरको खाद्यान्न तथा न्यानो कपडा सामाग्री प्राप्त गर्नेछन् । साथै ४० जना गर्भवती र सुत्केरी महिलाले रु.२००० बराबरको पोषण खाद्यान्न प्राप्त गर्नेछन् । नेपालगन्ज उपमहानगरपालिका भित्रका अति विपन्न परिवारहरुले भौचर मार्फत सामग्री प्राप्त गर्ने व्यवस्था मिलाइएको बी–ग्रुपका अध्यक्ष टेक बहादुर पुनले जानकारी दिनुभयो । लाभग्राहीहरुले रु.५,२०० बराबरको दाल, चामल, नुन, चिनी, तेल, साथै रु.२,५५० बराबरको पारिवारीक सामाग्री कम्बल सिरक, पिफम र रु.५,७५० को आधारभुत ब्यक्तिगत न्यानो कपडा लगायतका विभिन्न खाद्यान्न तथा न्यानो कपडा सामग्री गरी जम्मा रु.१३,५०० बराबरको प्राप्त गर्नेछन् ।

सो वितरण कार्यक्रमको प्रमुख अतिथि नेपालगन्ज उपमहानगरपालिकाका प्रवक्ता एवं वडा नं.१ का वडा अध्यक्ष प्रमोद रिजाल र बि–ग्रुपका अध्यक्ष टेक बहादुर पुनले लाभग्राहीलाई सामाग्री वितरण गर्नुभएको थियो ।

सो कार्यक्रममा बोल्नु हुदै नेपालगन्ज उपमहानगरपालिकाका प्रवक्ता एवं वडा नं.१ का वडा अध्यक्ष प्रमोद रिजालले शीत लहरबाट प्रभावित घरघुरीलाई सहयोग हुदाँ विपन्न परिवारलाई यो सहयोग प्याकेजले ठूलो राहत पुगेको बताउनु भयो । त्यसै गरि बी–ग्रुपका कार्यक्रम संयोजक सोम गुरुङ्गले अति विपन्न र शीत लहरबाट प्रभावित परिवारहरुलाई नेपालगन्ज उपमहानगर पालिकाको सिफारिसमा खाद्यान्न सामाग्री तथा न्यानो कपडा वितरण गरिएको जानकारी दिनुभयो । सो वितरण कार्यक्रमको नेपालगन्ज उपमहानगरपालिकाका उपमेयर  उमा थापा मगरले अनुगमन समेत गर्नुभएको थियो ।

Post a Comment

Previous Post Next Post