भाेलिदेखि मौसम सुधार हुँदै जाने सम्भावना

 पछिल्लो केही दिनयतादेखि पश्चिमी न्यून चापीय प्रणालीको प्रभावले प्रभावित मौसम आउँदाे शुक्रबार ( भाेलि ) देखि क्रमिक सुधार हुने भएको छ ।



याे मौसमी प्रणाली शुक्रबारदेखि कमजोर हुने देखिएकाले मौसममा क्रमिक सुधार हुने सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागका वरिष्ठ मौसमविद् वरुण पौडेलले जानकारी दिए । ‘ बिहीबारसम्म देशभर आंशिकदेखि सामान्य बदली नै रहन्छ ’, उनले भने । विभागले आउँदाे २४ घण्टाका लागि चेतावनी तथा परामर्शसहितकाे विज्ञप्ति निकालेर सुदूरपश्चिम , कर्णाली र लुम्बिनी प्रदेशको थोरै ठाउँमा र बाँकी प्रदेशका १/२ ठाउँमा हल्का वर्षाको सम्भावना रहेकाे जनाएकाे छ ।
साथै देशको उच्च पहाडी तथा हिमाली भू-भागका केही ठाउँमा हल्का हिमपातको सम्भावना रहेकाले चिसोबाट बच्न र त्यसको प्रभावबाट जोगिन आवश्यक सुरक्षा तथा सतर्कता अपनाउन अनुरोध गरिएको छ । बिहीबार प्रदेश नम्बर १ , वाग्मती र गण्डकी प्रदेशको पहाडी भू-भागमा आंशिकदेखि सामान्यतया बदली रही बाँकी प्रदेशको पहाडी भू-भागमा आंशिक बदली रहने छ । देशको पहाडी भू-भागका थोरै ठाउँमा हल्का वर्षाको सम्भावना रही देशका उच्च पहाडी तथा हिमाली भू-भागका केही ठाउँमा हल्का हिमपातको समेत सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

Post a Comment

Previous Post Next Post