राष्ट्रिय जनगणना २०७८मा लिपुलेक , कालापानी र लिम्पियाधुराको जनसङ्ख्या पनि समेटियो नेपालको जनसङ्ख्या २ करोड ९१ लाख ,

 नेपालको जनसंख्या २ करोड ९१ लाख ९२ हजार ४ सय ८० पुगेको छ । केन्द्रीय तथ्याँक विभागले राष्ट्रिय जनगणना – २०७८ को प्रारम्भिक विवरण सार्वजनिक गर्दै नेपालको जनसंख्या २ करोड ९१ लाख ९२ हजार ४ सय ८० पुगेको जानकारी दिएको हो ।



नेपालमा पुरुषको तुलनामा महिलाको संख्या धेरै छ । जसमा पुरुषको जनसंख्या १ करोड ४२ लाख ९१ हजार ३ सय ११ र महिलाको जनसंख्या १ करोड ४९ लाख १ हजार १ सय ६९ छ । प्रारम्भिक विवरण अनुसार विदेशमा रहेका नेपालीको जनसंख्या २१ लाख ६९ हजार ४ सय ७८ र नेपालमा जम्मा परिवार संख्या ६७ लाख ६१ हजार ५९ जना रहेको छ । जनसंख्याको वृद्धि दर शून्य दशमलव ९३ प्रतिशत रहेको छ ।

यसअघि वि.सं. २०६८ सालको जनगणना अनुसार नेपालको जनसंख्या २ करोड ६४ लाख ९४ हजार ५ सय ४ थियो । यसमा पुरुषको जनसंख्या १ करोड २८ लाख ४९ हजार ४१ र महिलाको १ करोड ३६ लाख ४५ हजार ४ सय ६३ थियो । यस्तै , १० वर्षअघिको जनगणना अनुसार घर – परिवारको संख्या ५४ लाख २३ हजार २ सय ९७ थियो । विभागका उप – निर्देशक हेमराज रेग्मीका अनुसार वि.सं. २०७८ सालको जनगणनाको विस्तृत तथ्याँक भने ६ महिनाभित्र आउने छ ।

विभागले गत भदौ ३० गतेदेखि असोज १८ गतेसम्म घर तथा घर – परिवारको सूचीकरण तथा कार्तिक २५ गतेदेखि मंसिर ०९ गतेसम्म मुख्य जनगणनाको काम गरेको थियो । लिपुलेक , कालापानी र लिम्पियाधुराको जनसङ्ख्या पनि समेटियो नेपाली भूमि लिपुलेक , कालापानी र लिम्पियाधुराको जनसङ्ख्या पनि जनगणना २०७८ मा समेटिएको केन्द्रीय तथ्याँक विभागले जनाएको छ ।

जनगणनाको प्रारम्भिक विवरण सार्वजनिक गर्दै केन्द्रीय तथ्यांक विभागका महा – निर्देशक नेविनलाल श्रेष्ठले नेपालको जनसङ्ख्या २ करोड ९१ लाख ९२ हजार ४ सय ८० भित्र ती भेगको जनसङ्ख्या समेत समेटिएको जानकारी दिए । ती भेगमा कति जनसङ्ख्या छ भन्ने बारे भने विस्तृत प्रतिवेदनमा मात्रै समेटिने विभागले जनाएको छ । विभागले ६ महिनाभित्र विस्तृत प्रतिवेदन सार्वजनिक हुने जनाएको छ । गणक आफैं ती भेगमा पुग्न नसकेपछि वैकल्पिक माध्यमबाट जनगणना गरिएको थियो ।

Post a Comment

Previous Post Next Post