सोलुखुम्बुमा सब -ईन्जीनियरलाई दले बिप्लब कार्यकर्ताले कालाेमाेसाे

 शिक्षा समन्वय इकाइ सोलुखुम्बुका सब इन्जिनियर पवन कुमार यादवलाई विप्लव कार्यकर्ताले कालोमोसो र जुत्ताको माला सहित हातपात गरेका छन् । सव इन्जिनियर यादवले विद्यालय भवन निर्माण गर्दा आर्थिक भ्रष्टचार गरेको आरोप लगाउँदै आज (सोमबार) दिउँसो कार्यालयमै पुगेका विप्लव निकट अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तिकारी)का कार्यकर्ताले यादवलाई हातपात गर्दै कालो मोसो र जुत्ताको माला लगाइदिएको प्रत्यक्षदर्शीले बताएका छन् ।



दिउँसो अन्दाजी १ बजे मुखमा मास्क लगाएर नचिनिने भएर कार्यालयमा आएका १० जना युवाहरुले नाराबाजी सहित आफुलाई हातपात गर्दै कालोमोसो र जुत्ताको माला लगाइदिएको पिडित यादवले बताउँनुभयो । हातपातपछि विद्यार्थी युनियनले कार्यालयको मुख्य द्वारमा प्रेस विज्ञप्ती समेत टाँस गरेको छ ।

युनियनका सम्योजक एकराज राईद्वारा हस्ताक्षर गरिएको उक्त विज्ञप्तीमा शिक्षा समन्वय इकाइका सव इन्जिनियरहरु पवन कुमार यादव र नविन कुमार सिंले जिल्लाको महाकुलुङ गाउँपालिका क्षेत्रको विद्यालय भवनहरु निर्माण गर्दा आर्थिक भ्रष्टचार गरेको आरोप लगाइएको छ ।

आफुहरुले सो रकम विद्यालयलाई फिर्ता गर्न पटकरपटक आग्रह गरेपनि बेवास्ता गरेका कारण सांकेतिक रुपमा कारबाही गरेको विज्ञप्तीमा भनिएको छ । साथै उक्त रकम तत्काल फिर्ता नगरे भौतिक कारबाही गर्ने समेत विज्ञप्ती मार्फत चेतावनी दिइएको छ ।

सव इन्जिनियरद्वयले महाकुलुङको कैलाश प्राथमिक विद्यालय भवन निर्माण गर्दा १ लाख ९० हजार, पेल्माङ माध्यमिक विद्यालयमा ५० हजार, बाखोर र चेपेल निम्न माध्यमिक विद्यालयमा ३५र३५ हजार र खिरौले निम्न माध्यमिक विद्यालयमा ७५ हजार रुपैयाँ भ्रष्टचार गरेको आरोप लगाएको छ ।

विप्लव निकट कार्यकर्ताहरुले यस अघि पनि आफुलाई हातपात गरेको पिडित सव इन्जिनियर यादवले बताए । सो समयमा आफुले आफ्नो कुनै कम्जोरी नभएकाले कानुनी कारबाहीमा जान आग्रह गरेको उनले बताए । घटनापछि फरार भएका विप्लव निकट कार्यकर्ताहरुको खोजी कार्य भईरहेको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जनाएको छ

Post a Comment

Previous Post Next Post