बाँकेमा फेरि बाघले मान्छे खायो

 नेपालगन्ज २५ पुष : बाँकेमा बारम्बार बाघले मान्छे खादै आएको छ । घाँस दाउरा, गोठालो जाने स्थानियलाई बारम्बार बाघले आक्रमण गर्दै आएको हो । बाँकेको राप्तीसोनारीमा शनिबार फेरि बाघको आक्रमणबाट एकजनाको ज्यान गएको छ । बाघ आक्रमणबाट सोही गाउँपालिका बैजापुरकी लिला बिष्टको ज्यान गएको दुईदिन पछि शनिवार फत्तेपुरकी ३० वर्षिया चाँदनी थारुको बाघ आक्रमणबाट मृत्यु भएको हो ।


बिहिबार मात्र बाँके राप्तीसोनारी गाउँपालिका वडा नम्बर–४ प्रसोहनाकी लिला विष्टको बाघले आक्रमण गरेर मृत्यु भएको थियो । शनिबार राप्तीसोनारी गाउँपालिका वडा नम्बर ६ फत्तेपुरको हब्रहवा घर भएकी ३० वर्षिया थारुको बाघको आक्रमणबाट मृत्यु भएको प्रहरीले जनाएको छ । फत्तेपुर जंगलमा दाउरा लिन गएको बेला चाँदनीलाई एक्कासी बाघले झम्टेर लगेको थियो । बाघ आक्रमणमा परेकी चाँदनीको खबर पाए लगत्तै फत्तेपुर प्रहरी चौकीका प्रहरी सहित स्थानीय खोजतलासमा जुटेको केहीबेरमा नै चाँदनीको शव भेटिएको फत्तेपुर प्रहरीले जनाएकोछ । यस्तै गत कार्तिक २५ गते गाई चराउन जङ्गल गएका नरैनापुर गाउँपालिका वडा नम्बर– ४ पण्डितपुरुवाका लखन गडरियाको पनि बाघ आक्रमणबाट मृत्यु भएको थियो ।

यसअघि पनि पुष ३ गते जनसिद्धेश्वर बहुमुखी क्याम्पस फत्तेपुरका प्रमुख लोकमणी बटाला बाघको आक्रमणबाट बच्न सफल भएका थिए । क्याम्पसबाट शनिबार बिहान साढे ६ बजे राप्तिसोनारी गाउँपालिका वडा नम्बर – ५ गोरधुईतर्फ मोटरसाईकलमा जाँदै गर्दा आलीनगरमा पर्ने थारुमरैला खोलामा बाघले झम्टिन खोज्दा क्याम्पस प्रमुख बटाला भाग्न सफल भएका थिए । राप्तीसोनारी क्षेत्रमा पटक–पटक बाघ देखिएपछि बाँके राष्ट्रिय निकुञ्जले मान्छे खाने बाघ नियन्त्रण गर्न दुई वटा घरपालुवा हात्तिसहितको टोली परिचालन गरेपनि नरभक्षि बाघ निकुञ्जले नियन्त्रणमा लिन सकेको छैन । शनिवार दिनभरी फत्तेपरका स्थानिय त्रसित बने । कति बेला कसलाई आक्रमण गर्ने बारे उनिहरु कानेखुसी गर्दै आएका छन् । दैनिक गाउँ छेउबाटै बाघले दिउसै आक्रमण गरेपनि स्थानिय क्रसित बनेका हुन् ।

Post a Comment

Previous Post Next Post