एएफसी महिला एसिया कपको उपाधि चीनलाई

२३ माघ, काठमाडौं। चीनले एएफसी महिला एसियन कप फुटबलको उपाधि जितेको छ । भारतको मुम्बईमा आइतबार भएको फाइनलमा उत्कृष्ट पुनरागमन गर्दै चीनले दक्षिण कोरियालाई ३-२ ले पराजित गर्दै नवौं पटक उपाधि जितेको हो । चीनले दुई गोलले पछि परेको स्थिति उल्टाएर उत्कृष्ट पुनरागमन गर्दै दोस्रो तीन गोल फर्काएको हो।


डीवाई पाटिल स्टेडियममा भएको खेलमा युयी सियाओले ईन्जुरी टाईममा गोल गर्दै चीनलाई उपाधि दिलाइन् । खेलको २७ औं मिनेटमा चोई युरीले गोल गर्दै दक्षिण कोरियालाई अग्रता दिलाएकी थिइन् । पहिलो हाफको इन्जुरी समयमा जी सोयुनले पेनाल्टीमा गोल गरेपछि दक्षिण कोरियाले पहिलो हाफमै दुई गोलको अग्रता बनायो। तर कोरियाले अग्रता कायम राख्न सकेन ।

खेलको ६८ औं मिनेटमा जियाली ताङले गोल गर्दै चीनलाई खेलमा फर्काईन् । ७२औं मिनेटमा लिनयान झाङले गोल गरेपछि चीनले खेल २-२ को बराबरीमा पुर्‍यायो । त्यसपछि युयीले खेलको इन्जुरी समयमा गोल गर्दै चीनलाई ३-२ को जित दिलाइन् । चीनले सर्वाधिक ९ पटक उपाधि जितेको हो ।

Post a Comment

Previous Post Next Post