‘क्लिन सिट’ का राजा गोलरक्षक किरण चेम्जोङले २५ ‘क्लिन सिट’ को उल्लेखनीय उपलब्धि हात पारेका छन्

 मोरिससविरुद्धको दोस्रो मैत्रीपूर्ण खेलमा एक समय त्यस्तो आएको थियो, जतिबेला नेपालले गोल खाने निश्चितजस्तै देखिएको थियो । नेपालले दसौं मिनेटमा गोल मात्र के गरेको थियो, टिमले मोरिससलाई पेनाल्टी अवसर दिएको थियो । पेनाल्टीमार्फत मोरिससले बराबरी गर्ने मौका पाएको थियो । तर पेनाल्टीमा कप्तान एन्डी सोफी सफल रहेनन् । उनको प्रहारमा नेपाली गोलरक्षक किरण चेम्जोङले सही अनुमान गरे ।


उनले आफ्नो दायाँतर्फ डाइभ गर्दै बललाई रोके । नेपालले यो खेल किन जितेको थियो भने किरणले पूरा खेल अवधिमा एकभन्दा बढी अवसरमा उत्कृष्ट बचाउ गरे । नतिजा नेपालले मोरिससविरुद्ध लगातार दुई खेलमात्र जितेन, दुवै खेलमा कुनै गोल पनि खाएन । त्यसो भनेको लगातार दुई ‘क्लिन सिट’ । खासमा भन्दा किरणलाई अन्तर्राष्ट्रिय फुटबलमा नेपालका ‘क्लिन सिट’ का राजाभन्दा हुन्छ । उनी नेपालले पाएका अहिलेसम्मकै सबैभन्दा अब्बल दर्जाका गोलरक्षक हुन् ।


यसमा कसैको फरक मत हुनसक्छ, कम्तीमा तथ्यांकले यस्तै भन्छ । मोरिससविरुद्धको दोस्रो खेलमा उनले कुनै गोल नखानुको अर्थ थियो, नेपालका लागि उनले २५ ‘क्लिन सिट’ को उल्लेखनीय उपलब्धि हात पारेका छन् । यो नेपालका लागि उनको ८१ औं खेल थियो । सबैलाई थाहा छ, उनी नेपालका लागि सर्वाधिक खेल खेल्ने खेलाडी हुन् । अब त्यस्तो दिन पनि आउने सक्नेछ, जतिबेला उनले नेपालका लागि ऐतिहासिक सय ‘क्याप’ जित्नेछन् ।

यो त भविष्यको कुरा भयो । अहिले तत्कालका लागि चर्चाको विषय भने उनका यिनै ‘क्लिन सिट’ को हो । सबैभन्दा पहिले सन् २००८ मा फर्किन पर्छ, जतिबेला उनले नेपालका लागि डेब्यु गरे । अवसर थियो, एएफसी च्यालेन्ज कप छनोट अनि प्रतिद्वन्द्वी थियो मकाउ । जर्मन प्रशिक्षक थोमस फ्लाथले उनलाई पहिलो खेलको अवसर त थिए, तर त्यो २३ मिनेटमात्र टिकेको थियो । उनी चोट बोक्दै मैदानबाट बाहिरिए । लागिरहेको थियो, उनले फेरि फुटबल पनि खेल्न सक्ने छैनन् ।

विपक्षी खेलाडीसँग ठोक्किएर उनको बंगारामा गम्भीर चोट लागेको थियो । तर उनी भाग्यमानी रहे र मैदानमा फर्कन सफल रहे । उनले नेपालका लागि दोस्रोपल्ट सन् २०११ मा खेले । अवसर थियो, भुटानविरुद्ध पोखरामा भएको मैत्रीपूर्ण अन्तर्राष्ट्रिय खेल । त्यही खेलमा उनले पहिलो ‘क्लिन सिट’ बनाए । त्यसपछि सुरु हुन्छ उनको २५ खेलमा कुनै गोल नखाएको यात्रा । विश्व फुटबलमा कुनै पनि गोलरक्षकको प्रदर्शन नाप्न एउटा बलियो औजार ‘क्लिन सिट’ नै हो ।




किरणले सन् २०११ मै एएफसी च्यालेन्ज कपमा अफगानिस्तान र श्रीलंकाविरुद्ध दुई खेलमा कुनै गोल खाएनन् । यस्तै प्रदर्शन उनले त्यही वर्ष विश्वकप छनोटमा टिमोर लिस्टे पनि कायम राखे । त्यही वर्ष भारतमा सम्पन्न साफ च्याम्पियनसिपमा पनि बंगलादेशविरुद्ध उनको प्रदर्शनमा गोल थिएन । सन् २०१२ को नेहरू कपमा पनि उनकै उत्कृष्ट प्रदर्शनका कारण भारतविरुद्धको खेल गोलरहित बराबरीमा टुंगिएको थियो ।

सन् २०१३ मा उनले तीन ‘क्लिन सिट’ राखे । यसको सूची बनाउने हो भने किरणले सन् २०१५ मा दुई खेल, २०१६ मा तीन खेल, २०१७ मा दुई खेल र २०१८ मा फेरि दुई खेलमा नेपालका लागि कुनै गोल खाएनन् । सन् २०१९ मा उनको यस्तै प्रदर्शन दुई खेलमा रह्यो भने २०२१ मा तीन खेल र २०२२ मा दुई खेलमा दोहोर्‍याए ।

अन्तर्राष्ट्रिय फुटबलमा अहिलेसम्म नेपालले ५२ खेलमा कुनै गोल नखाएको प्रदर्शन रहेको छ । यसमध्ये २५ खेल त किरणकै नाममा रहेको छ । यसले पनि देखाउँछ, नेपालका लागि अन्तर्राष्ट्रिय फुटबलमा उनको दबदबा छ । अब एकपल्ट सर्वकालीन सूची बनाऔं न त ? त्यसमा नेपालका को–को गोलरक्षकले कति खेलमा कुनै गोल खाएनन् त ?

किरणसँगै ६ अन्य गोलरक्षकले नेपालका लागि ‘क्लिन सिट’ बनाएका छन् । त्यसमध्ये किरणपछि दोस्रो स्थानमा छन् उनकै गोलरक्षक गुरु उपेन्द्रमान सिंह । उनले ९ खेलमा ‘क्लिन सिट’ राखे । त्यसपछि दिवंगत भइसकेका गोलरक्षकको नाम आउँछ । उनी थिए लोकबहादुर शाही । उनले ६ खेलमा कुनै गोल खाएनन् ।

नेपाली राष्ट्रिय टिमका अहिलेका गोलरक्षक प्रशिक्षक विकास मल्लले ५ खेलमा ‘क्लिन सिट’ को उपलब्धि छोए । त्यस्तै अजर अधिकारीले ४, विकेश कुथुले २ र रितेश थापाले १ खेलमा यस्तै उपलब्धि आत्मसात् गरे । तथ्यांकमा किरण ती ६ गोलरक्षकभन्दा गोल नखाने उपलब्धिमा धेरै अगाडि छन् । जतिबेला किरणले खेल्न छाड्ने छन्, त्यतिबेला उनको नाममा ‘क्लिन सिट’ को त्यस्तो कीर्तिमान रहनेछ जुन भंग हुन गाह्रै हुनेछ । असम्भव मात्र भन्न नहुने हो ।

Post a Comment

Previous Post Next Post