मलाई फिल्मको स्टार बन्नु छैन : कार्म

चकलेटी नायकहरुको भीडमा अब्बल अभिनय गर्ने कलाकारको दर्जामा आउने नाम हो, कार्म शाक्य । हरेक प्रकारको भूमिकामा जीवन्त उत्रन सक्ने खुबी भएका उनले फिल्म ‘सानो संसार’बाट अभिनय करिअर सुरु गरेका थिए । त्यसयता तीन दर्जनभन्दा बढी फिल्ममा आफ्नो अभिनय कौशल प्रस्तुत गरिसकेका उनलाई दर्शकहरुले विशेषगरी चकलेटी भूमिकामा रुचाउने गरेका छन् ।

तर, कर्म भने चकलेटी भूमिकामा अभिनय गर्नु आफ्नो स्वभाव नभएको बताउँछन् । बैशाख २३ गतेबाट प्रदर्शनमा आउन लागेको फिल्म ‘षट्कोण’को विषयमा जानकारी दिन बिहीवार राजधानीमा आयोजित एक कार्यक्रममा उनले भने, ‘जति पनि फिल्ममा मैले चकलेटी भूमिकामा काम गरेँ, त्यो मेरो स्वभाव वा छवि होइन । मलाई काम गर्न मन पर्ने विषयवस्तु भनेको ‘षट्कोण’ जस्तो हो ।’

आफूलाई अहिले पनि मेकरहरुले लभस्टोरी फिल्मबाट अफर गर्ने गरेको भएपनि अब आफूलाई एकै खालको लभस्टोरीमा काम गर्न मन लाग्न छाडेको कार्मको भनाई छ । उनी अगाडि भन्छन्, ‘लभस्टोरी गर्दै नगर्ने चाहिँ होइन तर, केही फरक गर्न चाहन्छु । केटी पाउनका लागि परिवार र समाजसँग भिड्नु पर्ने कथा लभस्टोरीमा बासी भइसक्यो । नयाँ लभस्टोरीबाट प्रस्ताव आए गर्छु ।’

उनले आफ्नो नामको अर्थ ‘तारा’ (स्टार) रहेको पनि खुलाए । तर, नामको अर्थ ‘स्टार’ भएपनि आफू ‘स्टार’ बन्न फिल्ममा नआएको उनको कथन छ । ‘म स्टार बन्न फिल्ममा आएकै होइन । मलाई स्टार बन्नु पनि छैन । मलाई कलाकारिता गर्नु छ,’ उनी भन्छन्, ‘कलाकार भएपछि शोअप गर्नुपर्छ भन्ने पनि कहिल्यै लागेन । थिएटरबाट आएका मान्छेहरु प्रायः यस्तै स्वभावका हुन्छन् होला ।’




Post a Comment

Previous Post Next Post