संबिधानको सुरक्षा गर्न मेरो उम्मेदवारी हो’ : उम्मेदवार कुर्मी

बाँके (जानकी), कात्तिक २२ :बाँके, प्रदेश सभा ३(२) का उम्मेदवार बादशाह कुर्मीले संविधान रक्षा र अहिले प्राप्त भएको ब्यवस्था जोगाउनका लागि नेपाली कांग्रेससहित पाँच दलबीच गठबन्धन गर्नुपरेको प्रष्ट्याएका छन् । तत्कालिन प्रधानमन्त्री केपी शर्मा ओलीले संविधानलाई लत्याएर दुई पटक संसद विघटन गरेकाले पाँच दल एकै ठाउँमा उभिएर गठबन्धन


गर्नुपरेको बताए । 


बाँकेको जानकी गाउँपालिका वडा नम्बर ५ स्थित बेलहरी (गुरुवा गाउँ) मा मंगलबार कात्तिक पूर्णिमा नहान मेलाको उद्घाटन गर्दै प्रमुख अतिथी समेत रहेका कांग्रेस नेता कुर्मीले केपी ओलीले केवल कुर्सीका लागि विगतमा बाम गठबन्धन गरेको र तीन वर्षमै असफल भएको बताए । नेपाली काँग्रेसको नेतृत्वमा बसेको संबिधानको रक्षा र कार्यान्वयन गर्ने जिम्मेवारी काँग्रेसकै भएको बताए । 


‘यो संबिधानले मधेसी, मुस्लिम, दलित, अपांगता, महिला, जनजाती, थारु, खस आर्य लगायत सबैको अधिकारलाई सुरक्षा गरेको छ, यही संबिधानको सुरक्षा गर्नका लागि मेरो उम्मेदवारी भएको हो,’ उनले भने । आफु यसअघि संबिधान सभा सदस्य हुँदा बाँकेको क्षेत्र नम्बर ३ मा थुप्रै विकास निर्माणका काममा बजेट हालेको र अब निर्वाचित भएपछि पुनः विकास निर्माणको कामलाई निरन्तरता दिइने प्रतिवद्धता जनाए । 


‘यो मेलामा पवित्र उद्धेश्य लिएर आउनु भएको छ, शान्तिपूर्वक मेला अवलोकन गर्नुहोला,’ उनले भने ‘आउँदै गरेको निर्वाचनमा प्रतिनिधी सभा सदस्य पदमा हाम्रा नेता किशोरसिंह राठौर र प्रदेश सभा ३(२) मा मलाई रुख चिन्हमा मतदान गरी विजयी गराउनु हुन म हार्दिक अनुरोध गर्दछु,’ उनले भने । 


जानकी गाउँपालिका अध्यक्ष छब्बन खाँले यसवर्षबाट गाउँपालिकाले निःशुल्क रुपमा मेला सञ्चालन गर्ने ब्यवस्था मिलाएको बताए । यसअघि मेला सञ्चालक समितिले मेला स्थलमा पसल राखे वापत शुल्क लिने गरेकोमा गाउँपालिकाले यसवर्षबाट निःशुल्क गरिदिएको अध्यक्ष खाँले सुनाए । यसका लागि गाउँपालिकाले मेला सञ्चालक समितिलाई ३ लाख रुपैयाँ प्रदान गरेको छ । 


आसन्न प्रतिनिधी सभा र प्रदेश सभा निर्वाचनमा आफ्नो विवेक प्रयोग गरेर असल नेतालाई भोट हाल्न अध्यक्ष खाँले आग्रह गरे । ‘यस क्षेत्रको विकास गर्न सक्ने क्षमता भएको नेतालाई जिताउनुस्,’ उनले भने ‘अहिले मतदान गरेर पछि पछुताउने अवस्था नहोस् ।’  जानकी गाउँपालिका वडा नम्बर ५ का वडाअध्यक्ष टिकानाथ यादवले आसन्न निर्वाचनका लागि प्रतिनिधी सभा सदस्य पदमा किशोरसिंह राठौंर र प्रदेश सभा ३(२) मा बादशाह कुर्मी नै उपयुक्त उम्मेदवार रहेको बताए । जिल्लादेखी केन्द्रसम्म पहुँच रहेका नेतालाई जिताएपछि विकासका योजना ल्याउन सहज हुने उनको भनाई छ ।

Post a Comment

Previous Post Next Post