होली;आज की भोलि ?

 होली;आज की भोलि ? 


रंजीत शर्मा/ परासी/ २३ फाल्गुन। 

होली आज की भोलि ? भन्ने प्रश्न धेरैको दिमागमा विगत धेरै दिन देखी चली आएको छ। आज भने तराईका अधिकांश मानिसको जिज्ञासा भने होली कहिले हो भने भएको छ। 



नेपालमा होली दुई दिने मनाउने गरिन्छ।नेपाली परम्परा अनुसार होली आज हुने पर्ने हो किन भनें हिजो नेपालको पहाडी भागमा होली मनाई सकेका छन्। तर आज भने तराईको केही भागमा आज होली मनाउँदै छन् भने केही भागमा भोलि होली मनाउने तयारीमा छ । 


तराई क्षेत्रमा यो पर्व प्रतिपदाका दिन मनाउने गरिन्छ । पर्व एउटै भए पनि फरक फरक दिनमा किन मनाइन्छ होली भन्ने प्रश्न उठ्नु स्वाभाविक हो । वाचन प्रवीण पण्डित इन्द्रदत तिवारीका अनुसार फरक–फरक दिनमा होली मनाइनुको कारण बुझ्नु अघि होली किन मनाउन थालियो भन्नेबारे बुझ्न जरुरी रहेको बताउँछन् ।


पौराणिक मान्यताअनुसार त्रेता युगमा हिरण्यकश्यपु नाम गरेका राक्षसका छोरा प्रह्लाद भगवान् विष्णुको भक्त रहेको र हिरण्यकश्यपुलाई यो कुरा मन नपरेपछि आफ्नी बहिनी होलिकामार्फत प्रह्लादलाई अग्निमा जलाएर मार्ने योजना बनाएका थिए । अग्निमा नजल्ने वरदान पाएकी होलिकाले प्रह्लादलाई आफ्नै काखमा राखेर अग्निकुण्डमा बस्ने योजना बनाइन् । तर, अग्निकुण्डमा बस्नासाथ होलिका जलेर मरेको तर प्रह्लाद सकुशल रहेको मान्यता छ । फागुन शुक्ल पूर्णिमाको रातमा राक्षसरुपी होलिका दहन भएको र सोही दिनको सम्झनास्वरुप फागुन पूर्णिमामा रङ खेलेर खुशी आदानप्रदान गर्ने परम्परा सुरु भएको पण्डित तिवारीको भनाइ छ ।


यस्तै, फागुन शुक्ल पूर्णिमा कै दिन द्वापर युगमा भगवान कृष्णलाई मार्न भनेर कंशले राक्षसरुपी पुतनालाई पठाएको र पुतनाले मान रुप धारण गरेर कृष्णलाई स्तनपानमार्फत विष पिलाएर मार्न खोज्दा पुतना आफै गरेको पौराणिक मान्यता पनि रहेको उनले सुनाए । भारतको मथुरा क्षेत्रमा भएको सो घटनाको सम्झना र पुतना मारिएको खुशीयालीमा मथुरा र आसपासका क्षेत्रमा होली मनाउन थालिएको र यो परम्परा विस्तार हुँदै गएको उनको भनाइ छ ।


पण्डित तिवारीका अनुसार पुतना पूर्णिमाको रात मारिएकी हुनाले त्यसको खुशी भोलिपल्ट मनाउनुपर्छ भनेर मथुरा लगायत भारतका अन्य क्षेत्रमा प्रतिपदाका दिन होली खेल्ने गरिएको हो । यो परम्परामा टेकेर तराई मधेसमा पनि प्रतिपदाका दिन होली खेल्ने गरिएको उनले बताए ।


उनले भने, ‘एउटा कालखण्डमा एउटा बुझाइ भयो । पूर्णिमाका दिन भएको कुराको उत्सव पूर्णिमामै मनाउनु पर्छ भन्ने एउटा पक्ष र पूर्णिमामा भएको घटनाको खुशीयाली भोलिपल्ट पो मनाउनुपर्छ भन्ने अर्को पक्षको मान्यताका कारण बेग्लाबेग्लै दिन होली मनाउन थालिएको हो ।’


फरक फरक दिन मनाउने भए पनि तर यस वर्षको तराई होली मंगलवारका दिन परेकोले हिन्दू धर्म अनुसार मंगलवारका दिन कुनै पनि शुभ कार्य न हुने भएको हुँदा एक दिन पछि बुधवार मनाउने छन्। 


अर्को तिर केही तर्क विदहरुले यस वर्षको होली मुस्लिम धर्मावलम्बीको शब-ए-बारात पर्व हुने हुँदा मुस्लिम र हिन्दुमा कुनै किसिमको झै-झगडा, विवाद न होस भनेर एक दिन पछि सारिएको वताए। 


राम्रो तरिकाले तयार पारिएका रङ र अबिरले छालाको रोग निवारण गर्ने भएकाले यस्ता रङको प्रयोग गरी फागु खेल्नाले शीतकालमा शरीरमा उत्पन्न कफको विनाश हुन्छ । बालिएको चीरको धुवाँबाट शीतकालका अनेकौँ रोगका कीटाणु निर्मूल हुने हुनाले यो पर्वको आयुर्वेदिक महत्त्व पनि छ ।


अर्थात् होली पर्व फरक फरक ठाउँ अनुसार हिमाल पहाडमा हिजो,तराई मधेसको केही ठाउँमा आज र केही ठाउँमा भोलि मनाउने छन्।

Post a Comment

Previous Post Next Post