दुल्लु ; सम्भावना र समस्या केशर नेपाल (किशोर)


बाइसि – चौबिसि राज्य हुँदा खुबै चर्चित र प्रचलित ठाउँ मध्ये दुल्लु नगरी पनि एक हो । विभिन्न प्रकारको वातावरण र थुप्रै पर्यटकिय स्थल भएका कारण अहिले पनि सानोतिनो चर्चामै रहेको छ । कर्णाली प्रदेशको राजधानि रहेको सुर्खेत जिल्ला सँग सिमाना जोडिएको दैलेख जिल्लाको नगरपालिका तथा सुन्दर पर्यटकिय गन्तव्य भन्दा फरक नपर्ने नाम हो “ दुल्लु “ । पूर्वमा नारायण नगरपालिका र डुङगेश्वर गाउँपालिका पश्चिममा चामुण्डा विनद्रासैनि नगरपालिका उत्तरमा भैरवी गाउँपालिका र दक्षिणमा गुराँस गाउँपालिका र अछाम जिल्ला रहेको दुल्लु क्षेत्र विभिन्न सम्भावना बोकेको ठाउँ हो । यहाँको मुख्य केन्द्रविन्दु दुल्लु बजार हो भने अरु विभिन्न बजारहरु पनि रहेका छन् । यहाँ श्रीस्थान , नाभिस्थान , पादुका आदि पर्यटकिय स्थलहरु रहेका छन् । यिनै स्थानमा प्रज्वलित ज्वाला नै यहाँका मुख्य आकर्षण हुन् । पानि माथि आगो बल्ने नेपालकै एक मात्र ठाउँ दुल्लु हो । पन्चकोशि तीर्थस्थल रहेको यस क्षेत्रले अरु पनि थुप्रै सम्भावना बोकेको छ । केहि समय अघि मात्रै उत्पति भएको “हँश ज्वालाले” यस क्षेत्रको गरिमालाई अझ एक पाइला अगाडि बढाईदिएको छ ।

झट्ट बाहिरबाट हेर्दा तथा सुन्दर एवं सम्भावना बोकेको क्षेत्र दुल्लु हो भन्ने चित्र हाम्रो मानसपटलमा प्रतिविम्बित हुन्छ । भौगोलिक अवस्थितिको रुपबाट हेर्ने हो भने यस क्षेत्रमा कृषिको उच्च सम्भावना रहेको छ । समुद्र सतह देखि ‘५७६’ मिटर देखि सबैभन्दा अग्लो ‘४१००’ मिटर सम्म विभिन्न कृषि उत्पादन हुँदै आइरहेको छ । कृषिमा पनि विभिन्न खाले तरकारि , पशुजन्य , चराचुरुङगी को पनि उच्च सम्भावना बोकेको छ । नेपालकै उत्कृष्ट पर्यटकिय क्षेत्र रारा जाने सडक यसै क्षेत्रबाट गएको हुँदा त्यहाँ जाने पर्यटकहरुलाई यहाँको स्थानिय शैलीमा घुमाउन तथा स्थानीय उत्पादन प्रबर्द्धन गर्न सकियो भने यस क्षेत्रको आर्थिक प्रगति पनि धेरै टाढाको विषय छैन । दुल्लु नगरपालिका क्षेत्रभित्रका विभिन्न ठाउँले विभिन्न सम्भावना बोकेको हामिले देख्दै आएका छौँ । कतै तरकारी उत्पादन हुन्छ भने कतै दुग्ध जन्य वस्तु उत्पादन हुन्छ कतै जडिबुटिको अथाह उत्पादन छ भने यस सँगसँगै अरु खाद्ध वस्तु पनि उत्पादन हुँदै आएको छ ।

यस्ता यावत सम्भावना भएतापनि यहाँ रहेका विभिन्न समस्याले गर्दा यस क्षेत्रलाई उन्नतीको बाटोतर्फ लाग्न अल्झाइरहेका छन् । यहाँको मुख्य समस्या भनेको उत्पादन भएका वस्तुको उचित बजारको व्यवस्था नहुनु , कृषि क्षेत्रको लागि मनग्य सिचाँइ अभाव , बजार क्षेत्रमै खानेपानिको हाहाकार आदि छन् । यहाँका किसानहरु आफूले उत्पादन गरेका तरकारी , खाध्य वस्तु जस्ता उत्पादनहरु दशौँ किलोमिटर बोकेर बजारतिर डुलाउँदै बिक्री गर्न बाध्य छन् । यस्तै हिउँदको समयमा सिँचाई अभावले सयौँ रोपनि खेतियोग्य जमिन बाँझो राख्न यहाँका जनता विवश छन् । दुल्लु क्षेत्रको भनौँ या पहाडि अझ व्यापक रुपले नेपालकै कुरा गर्दा स्तर अनुसारको रोजगारिको समस्या छ । यहाँका धेरै उर्जाशिल युवाहरु विदेसिने क्रम पनि निरन्तर अघि बढिरहेको छ । सबैभन्दा धेरै सम्भावना रहेको कृषि क्षेत्रको मुलभुत रुपमा व्यावसायिकरण नहुनु नै यहाँको आर्थिक क्षेत्रको विकासको बाधक छ । 

अन्तत ; धेरै सम्भावना सँगै समस्यासँग जुध्दै दुल्लु क्षेत्र विकासको पहाड फोर्न लागि परेको छ ।

लेखक केशर नेपाल (किशोर) राइजिङ कर्णाली मिडियामा अाबद्द सञ्चारकर्मि हुन । 

Post a Comment

Previous Post Next Post