हिंसा अन्त्य र परिवर्तन गर्न लागि हामी सबैको दायित्व


छत्र सुनारको भनाइ
नेपालमा महिला हिंसा न्यूनीकरणका लागि विभिन्न कानूनी तथा संस्थागत व्यवस्था कायम छन् । पहिलो लिखित कानून मुलुकी ऐन १९१० को जीउ मास्ने बेच्ने, सती जाने, आशय करणी, करणीको आशयले हातपात गर्ने, हाडनाता, जबर्जस्ती एवम् कमारा र बाँधाको महलको व्यवस्थालाई पनि त्यो समयको प्रगतिशील व्यवस्था मान्नुपर्ने हुन्छ । त्यसपछि जारी गरिएको सुधारिएको मुलुकी ऐन २०२० हुँदै विभिन्न विषयगत कानून हुँदै मुलुकी फौजदारी संहिता २०७४ सम्म आइपुग्दा महिला हिंसा न्यूनीकरणका लागि प्रशस्त कानूनी व्यवस्था र प्रतिबद्धता छन् । सोही मात्रामा राज्यले संस्थागत संयन्त्रहरूको पनि स्थापना र विकास, स्रोतको परिचालन गर्दै आएको छ । विभिन्न आध्यात्मिकता मिसिएको विश्वाससँग हाम्रो सामाजिक मूल्य गाँसिने गरेको छ । जसले गर्दा महिला माथिको नियन्त्रणको दायरा अझ पनि कसिलो देखिन्छ । त्यस्तो मानसिकता कसरी निर्माण हुन्छ र यसमा जिम्मेवार के हो वा को हो ? भन्ने प्रश्नको उत्तर खोज्न अब ढिलो गर्नुहँुदैन । यस बाहेक, हिंसालाई उत्प्रेरित गर्ने कारणमा उमेर, वर्ग, संस्कृति, जातीयता, धर्म, यौन झुकाव र उनीहरूको उत्पत्तिको विशिष्ट भौगोलिक क्षेत्र हुन सक्दछ । यसका अतिरिक्त नागरिक चेतनाको स्तरमा देखिएको कमि, गोप्यतामा रमाउने हाम्रो संस्कृति, औपचारिक शिक्षा प्राप्त भएको तर दीक्षा प्राप्त गर्न नसकेको हाम्रो वर्तमान हुन नसकेको कानूनी व्यवस्थाको कार्यान्वयन र अपराधीलाई कडा दण्ड सजाय लैङ्गकि हिंसालाई मलजल गर्ने अन्य कारण हुन सक्दछ । हिंसाका कारण, हामीले विवेचित गरेका हुन् कि त्योभन्दा फरक हुन्, त्यसले तात्विक फरक नराख्ला । 


यहाँ समाजको गन्तव्य भने सदैव हिंसा अन्त्यको दिशामा हुनु आवश्यक छ । यसका लागि आजको समयमा महिला हिंसा नियन्त्रण गर्ने कार्यमा लाग्नुपर्छ । हामी आम पुरुष वर्गले पुरुष भएर होइन बावु, दाजु वा जीवनसाथी भएर यी प्रश्नको उत्तर खोज्नुपर्ने भएको छ । मैले असहजतामा पारिरहेको महिला पनि कसैको छोरी, कसैको बुहारी, कसैकी दिदीबहिनी अनि कसैकी श्रीमती हुन् । जसरी मेरी छोरीको स्वतन्त्रता र स्वच्छन्दता मलाई अमूल्य छ, त्यसरी नै यी चेलीको दाजु वा जीवनसाथीलाई यिनको सुरक्षा र स्वाभिमान प्यारो हुन्छ । त्यस्तै महिला मित्रहरूले आमा, दिदी र जीवनसाथीको भावबाट सोच्नुपर्ने कुरा भनेको, कतै मेरो छोराले कसैको छोरीको बलात्कार त गर्ने छैन ? मेरो भाइको कारणले कुनै चेली हिंसामा त परेकी छैनन् ? मेरो जीवनसाथीले कार्यालय वा अन्य स्थानमा महिलामाथि दुव्र्यवहार त गरेको छैन ? समग्रमा हामी आम पुरुषले पुरुष र महिलाले महिला भएर होइन, मानिस भएर यी प्रश्नको उत्तर खोज्नुपर्छ । के सारा पुरुष पापी, क्रूर, अमानवीय र बलात्कारी मानसिकताका हुन्छन् त ? महिलामाथि यौनिक हिंसा किन हुन्छ ? कसले गर्छ यौनिक हिंसा ? समाजमा कैयौं परिवर्तन हुँदा पनि आखिर के कारण यौनिक हिंसामा कमी आउनुको सट्टा लगातार बढिरहेको छ ? सामाजिक न्याय, समानता र सम्मानको प्रत्याभूति दिने दाबी गर्ने कैयौं कानूनी पाना आखिर यौनिक हिंसा रोक्ने सवालमा किन यतिविघ्न निरीह बने होलान् ? अन्त्यमा, पुरुषले मनन गर्नुपर्ने केही कुरा छन् । तपाईं जतिसुकै प्रजातान्त्रिक, न्यायप्रेमी र क्रान्तिकारी नै किन नहुनूस्, महिलाको शरीर र आत्मसम्मानलाई व्यवहारतः सम्मान गर्ने सफा नियतको अभावमा तपाईंका सबै परिचय गौण बन्दछन् । तपाईंमा यौनजन्य हिंस्रक प्रवृत्ति छ भने र त्यसले सिर्जेका घटना सार्वजनिक भए भने तपाईंका अन्य सबै सद्गुण ‘शून्य’ मा विलुप्त हुन्छन् । त्यति मात्र होइन तपाईं पुरुषको महिलाप्रति सदाशय र मैत्रीभाव हरदम परीक्षामा छ हिजोआज । तपाईंको ‘पुरुषत्व’सँगै तपाईंभित्रको मानवीय र ‘न्यायिक’ चरित्र नै परीक्षामा छ । हिजो थिएन भन्ने होइन, तर आज बढी छ । कार्ल माक्र्स र पाब्लो नेरुदा माथि लाग्ने गरेको आरोपले मात्र होइन, मोदनाथ प्रश्रति र रघुजी पन्तको टिप्पणीले पनि प्रष्ट पार्दछ । ‘मीटु’ अभियानलाई पनि लिन सक्नुहुन्छ । किनभने हिजो जसरी तपाईंका कर्तुत लुकाउने सजिला अस्त्र आज छैनन्, ढिलोचाँडो तपाईंको दोहोरो चरित्रको मखुन्डो खुल्छ । तपाईं प्रतिकारको निशानामा पर्नुहुन्छ । त्यसो भएको खण्डमा तपाईं सानो या ठूलो जुनसुकै स्तरको सार्वजनिक बेइज्जती खप्न तयार हुनुपर्छ, यो दाग जीवित हुँदा मात्र होइन मरणोपरान्त समेत वर्षौं वर्ष हजारौं वर्षसम्म प्रष्ट देखिन्छ । यदि यो कुरा तमाम पुरुष वर्गमा बुझाउन सकिने हो भने हिंसाको दर स्वतः आधा भन्दा बढीले घट्छ ।
सँगसँगै घरपरिवार, विद्यालयबाट नै छोराछोरीमा निगरानी, असल शिक्षा अनि दीक्षा दिएर बालबालिकालाई हुर्काउन सक्नुपर्छ । तब मात्र आउने दिनमा महिला तथा बालिकाले फरक लिंग भएका कारणले कमजोर महसूस गर्नुपर्दैन, हिंसामा पर्नुपर्दैन । धन्यवाद












Enter


Chhatra






Post a Comment

Previous Post Next Post