• क.सङ्कुल , विषय उठान
बदलिँदो विश्व स्थितिमा पनि आजको युग साम्राज्यवाद र सर्वहारा क्रान्तिको युग हो भन्ने संश्लेषण नै सही छ । साथै यतिबेला विश्वका आधारभूत अन्तरविरोधहरु विष्फोटक स्थितिमा पुगेका छन । त्यसको प्रत्यक्ष प्रभावबाट दुनियाँका कुनै पनि मुलुकहरु अछुतो रहेन कुरा भएन । यसको असर विद्यमान अर्थ-सामाजिक संरचनामा पर्ने कुरा पनि स्वभाविक नै भयो । यस स्थितिमा भयावह बन्दै गरेको आर्थिक स्थिति तथा हरेक क्षेत्रमा उत्पन्न नयाँ संकटहरु र सामाजिक विघटनका स्थितिहरुको गहिरो अध्ययन गर्न आवश्यक छ । यस स्थितिको द्वन्द्वात्मक गरिएन भने मनोगत र काल्पनिक निष्कर्षमा पुगिन्छ । यसर्थ ठोस परिस्थितिको ठोस विश्लेषणको आधारमा नै अगाडि बढ्नु सही हुन्छ । मुलतः आजको विश्व सामाजिक स्वरुप अर्धसामन्ती, अर्धऔपनिवेशिक तथा नवऔपनिवेशिक मात्र रहेन । बरु विश्व एकाधिकार पुँजीवादको वर्चस्व हुँदै भूमण्डलीकृत साम्राज्य-राज्यले प्रत्यक्ष उपनिवेशको स्थितिमा पुग्यो । समग्रमा यतिबेला विश्व समाज भूमण्डलीकृत साम्राज्य राज्यद्वारा नियन्त्रित छ । यसप्रकारको स्थितिमा पुरानै तरिकाले अगाडि बढ्न सकिदैन । यसर्थ आजको वस्तुस्थितिलाई ठिक ढंगले संश्लेषण गर्न जरुरी छ ।
विश्वराजनीतिमा गम्भीर प्रकारका हेरफेर र फेरबदलहरु आएका छ्न । मानवजातिले आफ्नो विकास प्रक्रियामा नयाँ चुनौतीहरुको सामना गर्नुपर्ने परिस्थिति सिर्जित भएको छ । मुलतः शीतयुद्धको अन्त्य र सोभियत संघको विघटनपछि बनेको अमेरिकी एकध्रुवीय विश्व साम्राज्य विघटनको स्थितिमा पुगेको छ । यसरी विश्व साम्राज्यवादी शक्ति केन्द्रहरु बीचको अन्तरविरोध विष्फोटक स्थितिमा पुगेको कारण साम्राज्यवादी बहुध्रुवको विकास भएको छ । यसले विश्व अर्थ-राजनीतिमा विशेष अर्थ राख्छ । त्यसकारण विकसित भौतिक स्थिति र घटनाक्रमहरुलाई नजरअन्दाज गरेर हुँदैन । बरु त्यसप्रकारको स्थितिबाट कसरी अगाडि बढ्ने सन्दर्भमा सर्वहारा वर्ग र त्यसको नेतृत्व गर्ने कम्युनिस्ट पार्टीले नयाँ रणनीतिहरु विकास गर्नुपर्ने हुन्छ ।
विश्वमा भूमण्डलीकृत नयाँ साम्राज्यवादी शक्तिहरुको उदय भएको छ । साथै साम्राज्यवादीहरु शस्त्रास्त्रको विकास गर्ने सन्दर्भमा निकै ठुलठुला कसरतहरु गरिरहेका छ्न । यसरी मानव जातिले एक्काइसौं शताब्दीको युगमा प्रवेश गरेसँगै विश्व साम्राज्यवादी शक्तिहरुका बीचमा नयाँ शीतयुद्धको विकास भएको थियो । आज त्यसको उत्कर्षमा विश्व प्रत्यक्ष युद्धतर्फ धकेलिएको स्थितिलाई सहजै अनुमान गर्न सकिन्छ । यस स्थितिमा अब विकसित समस्याहरुको समाधान गर्न क्रान्तिकारी कम्युनिस्टहरु जिम्मेवार बन्न जरुरी छ । विश्व मानव जातिको शत्रु भूमण्डलीकृत विश्व साम्राज्यवादलाई परास्त गर्नका लागि विश्व सर्वहारा भूमण्डलीकरणको संरचनागत आधार र नयाँ विचारको विकास गर्नुपर्ने हुन्छ ।
साम्राज्यवादको उदय
विश्व साम्राज्यवादको उदय कुनै आकस्मिक घटना होइन, अपितु सामाजिक व्यवस्थाहरुको विकास प्रक्रियामा पुँजीवादको गर्भबाट साम्राज्यवादको जन्म भएको हो । प्राचीनकालीन धार्मिक अर्थात इश्वरीय साम्राज्यहरुको पतनपछि पुँजीवादको विकास प्रक्रियालमा साम्राज्यवादको जन्म नहुन्जेलसम्मको गर्भास्थाले विकासको जटिल स्थिति पार गर्यो । यसरी १६औं शताब्दीदेखि साम्राज्यवादको जन्म भइ १९औं शताब्दीमा त्यो उत्कर्षमा पुग्यो । त्यस स्थितिदेखि साम्राज्यवाद विभिन्न रूपमामा प्रस्तुत हुँदै आएको छ । यसरी साम्राज्यवादले हतियार र युद्धद्वारा विश्वको जनशक्ति, स्रोत-साधन र प्रकृतिमाथिकै लूट मच्चाउने नीति अनुरुप विश्वव्यपी युद्ध आतंक मच्चाउँदै आयो ।
खासगरी दोस्रो विश्वयुद्धपछि साम्राज्यवादले आफूलाई प्रत्यक्ष औपनिवेशबाट अप्रत्क्ष नवऔपनिवेशमा बदल्यो । यसरी उत्पीडित जनता तथा राष्ट्रहरुमा आफ्ना कठपुतली सरकारहरू बनाएर राजनीतिक, आर्थिक, सांस्कृतिक एवं सामरिक रूपमा शाोषण र उत्पीडनको प्रक्रिया तीव्र पार्यो । पछिल्लो स्थितिमा शीतयुद्धको अन्त्यपछि एक ध्रुवीय बनेको अमेरिकी साम्राज्यवादले वित्तीय पुँजीको माध्यमबाट नवऔपनिवेश नीति अवलम्बन गर्यो । किन्तु सबै साम्राज्यवादी शक्तिहरूको गठबन्धनमा विश्वका उत्पीडित राष्ट्रहरूलाई शोषण र उत्पीडन गर्ने तरिका विश्व साम्राज्यवादको पछिल्लो रणनीति हो । यसरी अमेरिकि साम्राज्यवादको नेतृत्वमा साम्राज्यवादीहरु संगठित भए पनि उनीहरूको आपसी अन्तरविरोध पनि चर्किदै गएको छ ।
यतिबेला साम्राज्यवादीहरु बीचको आपसी अन्तरविरोध विष्फोटक स्थितिमा पुग्यो र विश्व बहुध्रुवीय बन्यो । पुनः प्रत्यक्ष औपनिवेशिक नीति अवलम्बन गर्दै साम्राज्य राज्य विस्तार गरिरहेको छ । साथै साम्राज्यवादले वित्तीय तथा एकाधिकार पुँजीको अत्यधिक सङ्केन्द्रित गरी विश्व बैङ्क, अन्तर्राष्ट्रिय मुद्राकोष, बहुराष्ट्रिय कम्पनी र विश्व व्यापार सङ्गठनको नामबाट उत्पीडित राष्ट्रको अर्थतन्त्रलाई नियन्त्रणमा लग्यो । जसरी उत्पादन, उपभोग, विनिमय, वितरणको क्षेत्रमा पनि साम्राज्यवादी नियन्त्रण कायम छ । यसरी विश्व कब्जा गर्ने भूमण्डलीकरणको रणनीति अवलम्बन गर्न पुगेको छ । यतिबेला उदारीकरण र निजीकरणको प्रक्रियाबाट खुला अर्थतन्त्र र बजार अर्थतन्त्रमाथि आफ्नो लुटलाई कायम राख्न साम्राज्यवाद उद्यत छ ।
विश्वका आधारभूत अन्तरविरोधहरु
आज विश्व व्यवस्थामा अनेकौं अन्तरविरोधहरु विद्यमान छ्न । त्यसप्रकारका अन्तरविरोधहरु विस्तृत गर्न भने सकिदैन । किनभने सानो आलेखमा विस्तृत गर्न सम्भव पनि छैन । किन्तु यहाँ आधारभूत अन्तरविरोधहरु उल्लेख गर्नेछौं । यसरी आजका आधारभूत अन्तरविरोधहरु निम्नानुसार छन- पहिलो, अन्तरसाम्राज्यवादी अर्थात अन्तर्राष्ट्रिय शक्तिहरुका बीचको आपसी अन्तरविरोध । दोस्रो, पुँजीपति वर्ग र सर्वहारा वर्ग बीचको अन्तरविरोध । तेस्रो, साम्राज्यवाद र उत्पीडित राष्ट्रहरु तथा उत्पीडित जनता बीचको अन्तरविरोध । यी तीन प्रकारका अन्तरविरोधमा साम्राज्यवाद र उत्पीडित राष्ट्रहरु तथा जनता बीचको अन्तरविरोध नै विश्वको प्रधान अन्तरविरोध हो । परन्तु त्यसप्रकारका सबै अन्तरविरोधहरु विष्फोटक स्थितिमा पुगेका छ्न ।
विशेषत: साम्राज्यवादीहरुको आपसी अन्तरविरोध चर्किएको स्थितिमा साम्राज्यवाद कमजोर बन्यो भन्ने होइन, अपितु साम्राज्यवादी मुलुकहरु आ-आफ्नो राजनीतिक वर्चस्व एवं साम्राज्य राज्य विस्तार गर्न सामरिक र आर्थिक गठबन्धन निर्माण गर्दै गएका छ्न । साथै तात्कालिक दृष्टिले कार्यनीतिक रुपमा साम्राज्यवाद बलियो नै छ । साथै साम्राज्यवादीहरु सामरिक तथा आर्थिक गठनबन्धनहरू खडा गर्दै जाने दाउपेचमा छ्न । यसरी आफ्नै आर्थिक, सामरिक र भूराजनीतिक स्वार्थहरू पूरा गर्नका लागि शक्तिशाली देशहरूद्वारा अन्य गरिब एवं उत्पीडित देशहरुमाथि उपनिवेश लाद्ने काम हुँदैछ । त्यसप्रकारका गठबन्धनहरूले प्रायः अन्य कमजोर देशहरूमा आर्थिक तथा सामरिक नियन्त्रण, प्रभुत्व र प्रभाव विस्तार मात्र गर्दैनन् । बरु प्रत्यक्ष रुपमा उपनिवेश कायम गर्ने नीति अवलम्बन गरिरहेका छ्न ।
आज विश्वमा निर्माण गरिएका प्रमुख साम्राज्यवादी आर्थिक गठनबन्धनहरु निम्न रुपले प्रस्तुत गर्न सकिन्छ- पहिलो, विश्व व्यापार संगठन (WTO) विश्व व्यापार संगठनले अन्तर्राष्ट्रिय व्यापार नियमहरू निर्धारण गर्छ । मुलतः ठूला र धनी देशहरूको हितमा नै काम गर्छ । यसरी कमजोर र विकासशील देशहरूलाई आफ्नो व्यापारिक नीति र सम्झौता गर्न बाध्य पारिन्छ । जसले उनीहरूको अर्थतन्त्रलाई नोक्सान मात्र पुर्याउने होइन, अपितु अस्तित्व नै संकटमा पारिरहेको छ । दोस्रो, अन्तर्राष्ट्रिय मुद्रा कोष (IMF) र विश्व दुई अन्तर्राष्ट्रिय वित्तीय संस्थाहरूले विकासशील देशहरूलाई ऋण दिने गर्छन् । किन्तु तिनीहरूका ऋण शर्तहरू कठोर र नवउदारवादी साम्राज्यवादी अर्थ-नीतिहरूमा आधारित हुन्छन् । जसले गर्दा उत्पीडित देशहरूको आर्थिक सार्वभौमिकता र सामाजिक अस्तित्वमा नकारात्मक प्रभाव मात्र पार्ने होइन, अपितु प्रत्यक्ष उपनिवेश कायम गर्दछ । तेस्रो, G7 र G20 समूहहरूले विश्वका साम्राज्यवादी एवं शक्तिशाली देशहरूलाई समेट्छन् । जसले अन्तर्राष्ट्रिय आर्थिक नीति, व्यापार, र वित्तीय निर्णयहरूमा अति केन्द्रीकरण गर्छन् । यी निर्णयहरू प्रायः विकासशील देशहरूको हितमा नभएर साम्राज्यवादी राज्यहरुको स्वार्थमा केन्द्रित हुने गर्छन् । चौथो, उपनिवेशवादी युगका व्यापारिक संगठनहरू सामरिक दृष्टिले सक्रिय छ्न । यसरी अमेरिकी एमसीसी, ब्रिटिश ईस्ट-इण्डिया कम्पनी र अन्य युरोपेली व्यापारिक एवं बहुराष्ट्रिय कम्पनीहरू साम्राज्यवादी आर्थिक गठबन्धनका दृष्टान्त हुन् ।
यस परिस्थितिमा साम्राज्यवादी शक्ति केन्द्रद्वारा विश्व मानव जाति विरुद्ध निर्माण गरिएका सैन्य गठबन्धनहरु निम्न रूपले प्रस्तुत गर्न सकिन्छ- पहिलो, NATO (North Atlantic Treaty Organization) नाटाे एक पश्चिमी साम्राज्यवादी शक्तिहरुको सैन्य गठबन्धन हो । जुन सन् १९४९ अर्थात शीतयुद्धको स्थितिमा स्थापना गरिएको थियो । त्यसको उद्देश्य साम्राज्यवादीहरुको सामूहिक सुरक्षा, साम्राज्य राज्यको विस्तार र सदस्य राष्ट्रहरूको हितमा काम गर्नु रहेको छ । यहाँसम्म आइपुग्दा NATO ले एशिया-प्रशान्त क्षेत्रमा आफ्नो प्रभुत्व विस्तार गर्न सफल भएको छ । दोस्रो, अमेरिकाको नेतृत्वमा सन् २००७ (Quadrilateral Security Dialogue) क्वाडको गठन गरिएको थियो । त्यसमा संयुक्त राज्य अमेरिका, जापान र अष्ट्रेलिया समावेश गरी बनाइएको छ । यो एक अनौपचारिक सामरिक वा सैन्य गठबन्धन हो । जसमा सन् २०१७ मा भारत पनि थपियो । यसरी हाल अमेरिकाको नेतृत्वमा इजरायल, युएई, भारत र संयुक्त राज्य अमेरिकासहित क्वाड-२ बनाइएको छ । यो गठबन्धन हिन्द-प्रशान्त क्षेत्रमा स्वाधीनता, स्वतन्त्रता र स्थिरताका विरुद्ध छ । यसरी चीनयाँ सामाजिक साम्राज्यवादको उदयलाई रोक्न र उसको प्रभुत्वलाई सन्तुलित गर्नकासाथै यस क्षेत्रका उत्पीडित देशहरुमा साम्राज्य राज्य विस्तारका लागि क्वाड सक्रिय छ । तेस्रो, सन् २०२१ मा AUKUS ओकस (Australia-United Kingdom-United States) को निर्माण गरियो । त्यो एक नयाँ सुरक्षा साझेदारी हो । त्यसमा अस्ट्रेलिया, बेलायत र अमेरिका रहेका छन् । यसको मुख्य उद्देश्य हिन्द-प्रशान्त क्षेत्रमा चीनको प्रभावलाई सन्तुलित गर्न आफ्नो सैन्य क्षमता वृद्धि गर्नु हो । चौथो, सन् २०२३ मा अमेरिका, जापान र दक्षिण कोरिया मिलेर क्याम्प डेभिड रक्षा सम्झौता गरिएको छ । यो नयाँ शीतयुद्धको प्रारम्भको रूपमा व्यक्त भएपनि त्यो चाहिँ साम्राज्यवादी युद्धको नयाँ अभिव्यक्ति हो । यसका अतिरिक्त ब्रिक्समा छवटा देश थपेर ब्रिक्स प्लस बनाइएको छ । उक्त स्थितिले अन्तरसाम्राज्यवादी अन्तरविरोध विष्फोटक बन्दैछ । यसरी बदलिँदो विश्व परिस्थितिले विकल्प जन्माउने कुरा निश्चित छ ।
बहुध्रुवी विश्व व्यवस्था
विश्व साम्राज्यवादी बहुध्रुव र बहुध्रुवीय विश्व व्यवस्थामा विभाजित भएको छ । बदलिँदो विश्व परिस्थितिले नयाँ चुनौती र सम्भावनाहरु सिर्जित गरेको छ । यसरी साम्राज्यवादी बहुध्रुवीय स्थिति भनेको विश्वमा एकै समय धेरै शक्तिशाली राष्ट्रहरू वा देशहरूको उपस्थिति हुनु हो । यहाँ साम्राज्यवादीहरुले आफ्नो अभिष्ट पुरा गर्न सम्पूर्ण शक्ति परिचालन गरिरहेका छ्न । विश्वव्यापी राजनीतिमा शक्ति सन्तुलनको स्थितिले समग्र गतिमा विभिन्न दिशा वा ध्रुवहरूमा विभाजित भएको अवस्था छ । खासगरी शीतयुद्ध समाप्त भएपछि, विश्व राजनीतिमा एकल ध्रुवीय अमेरिकी नेतृत्वको स्थिति देखा पर्यो । किन्तु हालका वर्षहरूमा चीन, रूस भारतजस्ता अन्य देशहरू शक्तिशाली राष्ट्रका रूपमा उदाए । यसले विश्वलाई नयाँ ध्रुवीकरणको प्रक्रियामा अगाडि बढायो ।
आज साम्राज्यवादीहरुको आपसी अन्तरविरोध युद्धस्तरमा पुगेको छ । जसको फलस्वरूप नयाँ साम्राज्यवादी शक्तिहरुको उदय भएको छ । ती साम्राज्यवादीहरु विद्यमान संकटबाट बच्न विभिन्न हत्कण्डाहरु अपनाउदै आएका छ्न । साम्राज्यवादहरु आफ्नो गम्भीर संकट टार्न भूमण्डलीकरण अन्तर्गत निजीकरण र उदारीकरणको नीतिसमेत अवलम्बन गर्न पुगेका छ्न । यसको साथै नवउदारवादी अर्थ नीति पनि अपमाउदै आएका छ्न । वस्तुतः साम्राज्यवादीहरुले जुनसुकै नीति अवलम्बन गरे पनि विद्यमान संकटहरुको समाधान गर्न सकेनन् र सम्भव पनि छैन । यद्यपि अहिले पनि साम्राज्यवादीहरु विभिन्न विकल्पहरु खोजिरहेका छ्न । किन्तु उनीहरू त्यसप्रकारका संकटहरुबाट मुक्त हुने कुनै सम्भावना छैन । खासगरी अमेरिकी नेतृत्वको एकध्रुवीय विश्व व्यवस्थाले मानव सभ्यता विरुद्ध युद्ध अपराध र आतङ्कको स्थिति सिर्जना गर्यो । यसका अतिरिक्त जलवायु सङ्कट, आर्थिक सङ्कट, महामारी लगायतका समग्र स्थितिहरुमा उत्पन्न समस्याहरुको कारक नै बनेको छ । यसर्थ विश्वका कयौं देशहरू साम्राज्यवादका विरुद्ध उत्रिएका छ्न । साम्राज्यवादको उत्पीडन, शोषण र अतिक्रमणमा परेका देशहरूमा स्वाधीनताका संघर्षहरुको लहर देखिन्छ । यसकारण साम्राज्यवादले आफ्नो चियान खन्ने वर्ग आफै उत्पादन गर्दछ भन्ने कुरा थप पुष्टि भएको छ । यसरी साम्राज्यवादको अन्तिम चियान खन्ने शक्ति सर्वहारा वर्ग नै हो ।
साम्राज्यवादका रुपहरु
विश्व मानचित्रमा सामाज्वादले अपनाउँदै आएका विभिन्न रूपहरु त विस्तृत गर्न सम्भव छैन । परन्तु आधारभूत रूपहरुको सन्दर्भमा विस्तृत गर्न खोजिएको छ । यसरी साम्राज्यवादका प्रमुख रुपहरु निम्न अनुसार व्यक्त गर्न सकिन्छ- पहिलो, भूमण्डलीकृत साम्राज्यवाद । दोस्रो, एकाधिकार पुँजीवादी साम्राज्यवाद । तेस्रो, वित्तीय पुँजीवादी साम्राज्यवाद । चौथो, नवऔपनिवेशीक साम्राज्यवाद । पाचौं प्रत्यक्ष उपनिवेशिक साम्राज्यवाद ।यहाँ साम्राज्यवाद जुनसुकै रूपमा आएपनि मूलभूत रूपले युद्ध र ध्वंस हो । यसरी साम्राज्यवाद पुँजीवादको मरणासन्न अवस्था हो भन्ने लेनिनको निष्कर्षलाई आधार बनाएर साम्राज्यवादका रूपमाहरुका सन्दर्भमा विश्लेषण गर्नुपर्ने हुन्छ । किनकि साम्राज्यवाद पुँजीवाद र समाजवाद बीचको संक्रमणकालीन चरण हो । साथै साम्राज्यवादको जन्म पुँजीवादको गर्भबाट हुन्छ । त्यसको अन्त्य राष्ट्रिय मुक्ति क्रान्तिको प्रक्रियाद्वारा मात्र सम्भव छ ।
साम्राज्यवादले आफ्नो विकास क्रममा विभिन्न रुपमा परिवर्तन गर्दै आएको छ । प्राचीनकालदेखि वर्तमानसम्म आउँदा साम्राज्यवादले समय सापेक्ष आफ्नो नीति पनि बदल्दै आउने गरेको कुरा प्रष्ट छ । सर्वहारा वर्गका महान नेता लेनिनले भन्नुभए जस्तै साम्राज्यवाद जुनसुकै स्थितिबाट आएपनि पतन निश्चित छ । यसरी साम्राज्यवाद कार्यनीतिक रुपमा साच्चिकै बाघ भएपनि रणनीतिक दृष्टिले कागजी बाघ नै हो भन्ने संश्लेषण वैज्ञानिक छ । आज साम्राज्यवाद तात्कालिक दृष्टिले बलियो देखिन्छ । किन्तु दीर्घकालीन दृष्टिले साम्राज्यवाद ध्वंस हो । वस्तुतः आफैमा विघटन हुँदै विनाशको बाटो रोज्नु नै साम्राज्यवादको अन्तिम गन्तव्य हो । यसरी साम्राज्यवादी साम्राज्य राज्यलाई राष्ट्रिय मुक्ति क्रान्तिद्वारा परास्त गर्नुपर्ने हुन्छ ।
विषय बैठान
आज राष्ट्रिय मुक्ति क्रान्ति अपरिहार्य छ । यो दुनियाँको सही र वैज्ञानिक कार्यदिशा हो । साथै मूलबाटो पनि । यसले दुनियाँका सम्पूर्ण क्रान्तिका कार्यभारहरु पुरा गर्न निर्णायक भूमिका खेल्नेछ । यसरी राष्ट्रिय मुक्ति क्रान्तिले पुरा गर्ने मुख्य कामहरु निम्न अनुसार छ्न- पहिलो, राष्ट्रिय मुक्ति क्रान्तिले साम्राज्यवाद र उत्पीडित जनता तथा राष्ट्रहरुको बीचको अन्तरविरोधको हल गर्छ । दोस्रो, साम्राज्यवाद र सर्वहारा क्रान्तिको युगमा मुक्ति क्रान्तिको प्रक्रियाद्वारा नयाँ जनवादी कार्यभार पूरा गरी जनगणतन्त्र तथा समाजवादी गणतन्त्रको स्थापना गर्दछ । तेस्रो, विश्व साम्राज्यवादी उत्पीडन अर्थात् साम्राज्य राज्यको उन्मुलन गर्दछ । उक्त कार्यभारहरु पुरा नगरी दुनियाँका कुनै पनि देशहरु स्वतन्त्र र स्वाधीन हुन सक्दैनन् । यस स्थितिबाट अगाडि बढेर मात्र सामाजिक सत्ता र व्यवस्था परिवर्तन गर्न सकिन्छ ।
अत: विश्वका उत्पीडित मुलुकमा साम्राज्यवाद प्रत्यक्ष उपनिवेशका रूपमा प्रस्तुत भएको छ । यसले विभिन्न सामरिक, आर्थिक, राजनीतिक र भौतिक स्थितिबाट नयाँ रणनीति अख्तियार गर्दै आएको छ । साथै विश्व साम्राज्यवाद निवस्त्र र निकृष्ट रुपमा आइरहेको छ । यस स्थितिमा साम्राज्यवादी बर्बर युद्धलाई विश्व क्रान्तिमा बदल्न सक्नुपर्छ । विश्व क्रान्तिमा बदल्न हरेक मुलुकहरुले विशिष्टतामा कम्युनिस्ट पार्टीको नेतृत्व र सर्वहारा वर्ग, सच्चा देशभक्त, उत्पीडित समुदाय तथा राष्ट्रहरुको सहभागीतामा राष्ट्रिय मुक्ति क्रान्तिको प्रक्रियालाई अगाडि बढाउनुपर्ने हुन्छ । यो नै आजको विश्व समाजको परिवर्तनको सही विकल्प हो । यसरी मात्र साम्राज्यवादको शोषणबाट विश्व मानव जातिलाई सधैको लागि स्वतन्त्र र स्वाधीन बनाउन सकिन्छ । यसर्थ राष्ट्रिय मुक्ति क्रान्तिद्वारा सर्वहारा वर्ग, उत्पीडित समुदाय र राष्ट्रिहरुको मुक्ति सुनिश्चित गर्नु विश्व क्रान्तिको मुख्य कार्यभार हो ।
Post a Comment