राजनीति, प्रगतिशील आन्दोलन र परिवर्तनका लागि प्रेरक शक्तिका रूपमा युवाहरूको भूमिका सधैँ रहिआएको छ, जसले यथास्थितिलाई चुनौती दिन तथा न्यायोचित समाजको माग गर्न प्रमुख भूमिका निर्वाह गर्दै आइरहेका छन । नेपालको इतिहासमा पनि सामाजिक न्याय तथा समानताको नारा लिई विभिन्न आन्दोलनमार्फत युवाहरूले अग्रभूमिकामा योगदान गरेका छन् ।
चे ग्वेभाराले भनेका छन् : “क्रान्ति पाकेपछि खस्ने स्याउ जस्तो होइन, तिमीहरू आफैले यसलाई खसाल्नुपर्दछ ।” यो भनाइको अर्थ क्रान्तिका लागि पर्खेर बस्नुभन्दा पनि क्रान्तिका लागि आफै सक्रिय रूपमा सहभागी हुनुपर्दछ भन्ने हो ।
सन् १९६८ देखि नै पेरिस आन्दोलनमार्फत युवाहरूले भियतनाम युद्धविरोधी आन्दोलन गर्नुका साथै सक्रिय युवा अभियन्ताहरूले साम्राज्यवाद, पुँजीवाद तथा सामाजिक असमानता विरुद्ध आन्दोलन गरेका थिए । उनीहरूले श्रमिकको हकहितका लागि लड्नुका साथै दमनकारी व्यवस्थालाई चुनौती दिई समतामूलक समाज निर्माणका लागि आधार तयार गरे । सन् २०१० मा सुरु भएको अरब क्रान्तिमा मध्यपूर्व एसियाका युवाहरू राजनीतिक सुधार, सामाजिक न्याय र समान आर्थिक अवसरका लागि सडकमा आएका थिए । स्विडिस जलवायु अभियन्ता ग्रेटा थनवर्गबाट प्रेरित भएर युवाहरूले फ्राइडे फर फयुचर जस्ता आन्दोलन सञ्चालन गर्दै जलवायु परिवर्तनसम्बन्धी जनचेतनामूलक कार्यक्रम चलाइरहेका छन् ।
नेपालमा पनि सन् १९५० को दशकमा विद्यार्थी सङ्गठन गठन गरी निरङ्कुश शासनको अन्त्य गरी संवैधानिक राजतन्त्रको स्थापना गर्न नेपालका बौद्धिक र युवाहरूले प्रमुख भूमिका निर्वाह गरेका थिए । निरङ्कुश राणाशासनको अन्त्य गर्न पनि युवाहरू आन्दोलनमा सहभागी भएका थिए । विद्यार्थी आन्दोलनमार्फत नै युवा वाम नेता तथा कार्यकर्ताहरूले सामाजिक न्याय, भूमिसुधार र सीमान्तकृत अथवा राज्यले पछाडि पारिएका समुदायलाई समान अधिकारका लागि आवाज उठाए । त्यसपछि पनि विभिन्न राजनीतिक आन्दोलनमा युवाहरू अग्रभूमिकामा रहेका थिए । सन् २००६ को शान्ति सम्झौतापछि पनि विभिन्न युवा तथा विद्यार्थी सङ्गठनले निरन्तर सुशासन, आर्थिक विकास तथा समृद्धि, रोजगारी र शिक्षा जस्ता नारामा आवाज उठाइरहेका छन् ।
केही वर्षयता पनि विश्वमा युवाहरूले व्यवस्था परिवर्तन तथा प्रगतिशील परिवर्तनका लागि लड्दै आइरहेका छन्; जस्तै : उदाहरणका लागि विश्वमा सामाजिक लोकतान्त्रिक आन्दोलनको उदय भएको छ, जसको नेतृत्व अमेरिकाका अलेक्जेन्ड्रिया ओकासियो कर्टेज र बर्नी स्यान्डर्सहरूले गरेका छन्, जसले आर्थिक न्याय, विश्वव्यापी स्वास्थ्य सेवा जस्ता कुरामा आवाज उठाइरहेका छन् ।
त्यस्तै, पुँजीवादले सिर्जना गरेको अन्तरनिहित असमानताको विरुद्धमा मानिसमा रहेको भ्रमको विषयमा पनि उनीहरू बोलिरहेका छन्। जातिवाद तथा नस्लवाद विरुद्ध पनि युवाहरूले ब्लाक लिइभ्स म्याटर जस्ता आन्दोलन सञ्चालन गर्दै आइरहेका छन् । नेपालमा पनि युवाहरूले महिला अधिकार, सुशासन, समानता र न्याय जस्ता विषयमा आवाज उठाउने गरेका छन् ।
सामाजिक सञ्जाल जस्ता प्लाटफर्मले युवाहरूसँग जोडिन, उनीहरूको आवाज सुन्न र समर्थकलाई परिचालन गर्न मदत गर्दछ । अनलाइन क्याम्पियनले राष्ट्रिय बहसलाई आकार दिन, स्थापित अवैज्ञानिक यथा कल्पित मान्यतालाई चुनौती दिन र नीतिनिर्मातालाई जवाफदेही बनाउन प्रेरित गर्दछ ।
समकालीन राजनीतिमा अनभिज्ञता, लोकप्रियतावाद र उपभोक्तावाद जस्ता प्रवृत्तिमा युवाको उदय भएको देखिन्छ । सामाजिक सञ्जालमा फैलिएको गलत सूचनाको आधारमा आफ्नो धारणा बनाउने, सतही टिप्पणी गर्ने र कुनै पनि विषयलाई गम्भीरतापूर्वक नलिई त्यसको सजिलो र सस्तो उपायको खोजी गर्ने प्रवृत्ति बढ्दो छ । आलोचनात्मक चेतको अभावले कुनै विषयको गम्भीरतापूर्वक अध्ययन नगरी सामाजिक सञ्जालमा गालीगलौज गरेको देखिन्छ । सामाजिक सञ्जालमार्फत् उदाइरहेको उपभोक्तावाद, जसले अरूलाई प्रभावित पार्न आफ्नो जीवनशैली र भौतिक विलासिताका वस्तुको प्रदर्शन गर्ने गर्दछन्, जुन वस्तुले मानिसलाई खुसी नभई वास्तवमा खाली र असन्तुष्टितर्फ प्रेरित गर्दछ ।
युवाहरू राजनीतिमा आउनु आशाको प्रतीक मात्र नभएर कार्य गर्न तथा आमूल परिवर्तन ल्याउन पनि हो । नेपालको सन्दर्भमा पनि यदि युवालाई सशक्त गराउने हो भने समाजमा स्थापित कल्पित भ्रम चिर्न र समाजलाई समानता र न्यायको बाटोमा अझ अगाडि लैजान सक्छन् । उनीहरूसँग विचार ताजा हुन्छ र उनीहरू परम्परागत विचारधारामा पुरिएका पनि हुँदैनन् । युवाहरूसँग यथास्थितिलाई चुनौती दिई सामाजिक र राजनीतिक परिवर्तन गर्ने दृढ इच्छाशक्ति हुन्छ । शिक्षा र राजनीतिक चेतनाले युवाहरूलाई परिचालन गर्न महत्त्वपूर्ण भुमिका खेल्छ । आलोचनात्मक चेतको विकास गर्ने, तल्लो स्तरदेखि नै सङ्गठन गर्न प्रेरित गर्ने र सामूहिक काममा प्रोत्साहित गर्ने हो भने युवालाई सक्रिय राजनीतिमा सशक्त रूपमा आबद्ध गराउन सकिन्छ। साथै यो डिजिटल युगमा हरकोहिले जान्न र बुझ्न जरुरी छ ताँ की आउने पुस्तालाई सहज र दिगो पर्न जान्छ।
✓प्रवेश सिंह ठकुरी,
>कानुनी अध्यायन्ता (BALLB),
>राजनीतिक जिज्ञासु ।
Post a Comment