गुलरिया, बर्दिया २०८२ माघ २३
सिद्धार्थ जंग शाह
बर्दियामा वन्यजन्तुको आक्रमणबाट मानवीय क्षति हुने क्रम नरोकिएपछि आक्रोशित स्थानीयबासीले आज शुक्रबार जिल्ला प्रशासन कार्यालय, बर्दिया घेराउ गरेका छन्। "वन्यजन्तुबाट मानव सुरक्षा"को माग गर्दै सयौँको संख्यामा भेला भएका स्थानीयले प्रशासनको मूल ढोकामै पुगेर चर्को नाराबाजी गरेका हुन्।
बिहीबार मात्रै जिल्लाका दुई छुट्टाछुट्टै स्थानमा वन्यजन्तु (चितुवा/बाघ) को आक्रमणबाट दुई जनाको मृत्यु भएको थियो। गुलरिया नगरपालिका-४ का नन्दु रोकाय र मधुवन नगरपालिका-९ की मैसरा डाँगीको मृत्यु भएपछि स्थानीय प्रशासन र निकुञ्ज प्रशासनविरुद्ध आक्रोशित भएका हुन्।
प्रदर्शनमा उत्रिएका स्थानीयले "सरकारले भनोस्—बाघ जोगाउने कि मान्छे?" भन्दै प्रश्न गरेका छन्। उनीहरूले पीडित परिवारलाई उचित क्षतिपूर्ति, नरभक्षी वन्यजन्तुको नियन्त्रण र निकुञ्ज आसपासका बस्तीमा भरपर्दो सुरक्षाको ग्यारेन्टी गर्न माग गरेका छन्।
प्रदर्शनकारीहरू जिल्ला प्रशासनको निषेधित क्षेत्र तोडेर भित्र प्रवेश गर्न खोजेपछि स्थिति तनावपूर्ण बनेको थियो। कार्यलय सुरक्षाका लागि ठूलो संख्यामा जनपद र सशस्त्र प्रहरी परिचालन गरिएको छ।
पछिल्लो समय बर्दियामा बाघ र चितुवाको संख्या बढेसँगै मानव-वन्यजन्तु द्वन्द्व चरम सीमामा पुगेको छ। तथ्याङ्क अनुसार यस आर्थिक वर्षमा मात्रै वन्यजन्तुको आक्रमणबाट धेरैले ज्यान गुमाइसकेका छन्। स्थानीयले संरक्षणको नाममा मानव जीवनलाई जोखिममा पारिएको भन्दै वन ऐन संशोधन र बस्ती सुरक्षाको माग गर्दै आएका छन्।
"हामी संरक्षणको विरोधी होइनौँ, तर राज्यले बाघको संख्या गनेर मात्र बस्ने कि हाम्रो बाँच्न पाउने अधिकारको पनि रक्षा गर्ने?" - प्रदर्शनमा सहभागी एक स्थानीय।
प्रशासनले भने स्थितिलाई साम्य पार्न र स्थानीयका माग सम्बोधन गर्न सरोकारवाला निकायसँग छलफल भइरहेको जनाएको छ।


Post a Comment