कोहलपुर नगरपालिका को आयोजना तथा कृसा (KRISA) बाँकेको सहकार्यमा “Navigating Emotions” विषयक महत्वपूर्ण अभिमुखीकरण कार्यक्रम अत्यन्त सफलतापूर्वक सम्पन्न भएको छ। कोहलपुरलाई शैक्षिक हबका रूपमा विकास गर्ने उद्देश्यले आयोजना गरिएको उक्त कार्यक्रमको नतिजा निकै उत्कृष्ट र प्रभावशाली रहेको छ।
कार्यक्रमको अध्यक्षता सामाजिक विकास समिति संयोजक इश्वरी प्रसाद बि.क.ले गर्नुभएको थियो भने प्रमुख अतिथिका रूपमा नगर प्रमुख पूर्ण प्रसाद आचार्यको गरिमामय उपस्थिति रहेको थियो। कार्यक्रमका सहजकर्ता तथा विशिष्ट अतिथि डा. कृष्ण वाग्ले, सहायक प्राध्यापक, काठमाडौ विश्वविद्यालयले भावनात्मक व्यवस्थापन, मानसिक स्वास्थ्य तथा शैक्षिक वातावरणमा भावनाको भूमिकाबारे गहन र व्यवहारिक सहजीकरण गर्नुभएको थियो।
त्यसैगरी कार्यक्रममा कृसा कोहलपुरका अध्यक्ष ओबिन्द्र के.सी., प्याब्सन तथा एन–प्याब्सन कोहलपुरका प्रतिनिधि, नेपाल शिक्षक महासङ्घका प्रतिनिधिहरूको समेत उल्लेखनीय उपस्थिति रहेको थियो। कार्यक्रमको कुशल सञ्चालन वरिष्ठ शिक्षा अधिकृत रविलाल मिजारले गर्नुभएको थियो।
उक्त कार्यक्रममा सामुदायिक तथा संस्थागत विद्यालयका प्रधानाध्यापक, सहायक प्रधानाध्यापक, संस्थापक तथा प्रबन्ध निर्देशकहरू गरी करिब ७० जनाको सक्रिय सहभागिता रहेको थियो। सहभागीहरूले विद्यार्थी, शिक्षक तथा अभिभावकबीच उत्पन्न हुने भावनात्मक अवस्थाहरूलाई कसरी प्रभावकारी रूपमा व्यवस्थापन गर्ने भन्ने विषयमा उपयोगी ज्ञान, अनुभव तथा अभ्यास आदान–प्रदान गरेका थिए।
कोहलपुरलाई एक सशक्त र उत्कृष्ट शैक्षिक हबका रूपमा विकास गर्ने दीर्घकालीन उद्देश्यसहित आयोजना गरिएको यस “Navigating Emotions” अभिमुखीकरण कार्यक्रमले उल्लेखनीय सफलता हासिल गरेको छ। यस कार्यक्रममार्फत विद्यालय तहमा भावनात्मक सन्तुलन, मानसिक स्वास्थ्य सचेतना तथा शिक्षण–सिकाइ प्रक्रियामा सकारात्मक वातावरण निर्माण गर्न महत्वपूर्ण टेवा पुगेको देखिएको छ।
यस सफल आयोजनामा सहकार्य प्रदान गर्ने कृसा (KRISA) बाँकेप्रति विशेष धन्यवाद तथा उच्च सम्मान व्यक्त गर्न चाहन्छौं। शिक्षा क्षेत्रमा गुणस्तर अभिवृद्धि, शिक्षक क्षमता विकास तथा मानसिक स्वास्थ्यसम्बन्धी सचेतना फैलाउन कृसा (KRISA) बाँकेले पुर्याउँदै आएको योगदान प्रशंसनीय रहेको छ, र यस कार्यक्रमको सफल कार्यान्वयनमा उनीहरूको महत्वपूर्ण भूमिका रहेको छ।
कार्यक्रममा सहभागी भएका प्रधानाध्यापक, प्रिन्सिपल, शिक्षक तथा शैक्षिक नेतृत्वदायी व्यक्तित्वहरू बाट प्राप्त प्रतिक्रिया अत्यन्त सकारात्मक, उत्साहजनक तथा प्रेरणादायी रहेको छ। सहभागीहरूले कार्यक्रमलाई समय सान्दर्भिक, उपयोगी र व्यवहारिक भन्दै भविष्यमा पनि यस्ता कार्यक्रमहरूलाई निरन्तरता दिनुपर्ने आवश्यकता औंल्याएका छन्। समग्रमा, यस कार्यक्रमको उपलब्धि र प्रभावले कोहलपुरलाई शैक्षिक हबका रूपमा स्थापित गर्ने अभियानमा थप ऊर्जा र दिशा प्रदान गरेको विश्वास गरिएको छ।
कार्यक्रमको समापन गर्दै प्रमुख अतिथि पूर्ण प्रसाद आचार्यले यस्ता कार्यक्रमहरूले शिक्षण–सिकाइ प्रक्रियालाई अझ प्रभावकारी बनाउने उल्लेख गर्दै आगामी दिनमा पनि यस्ता सहकार्यलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गर्नुभयो।


Post a Comment