बेलासपुरमा ब्रतबन्धको भोजमा झैझगडा: एक युवकको मृत्यु, अर्का एक घाइते



 नेपालगन्ज, वैशाख २२

सिद्धार्थ जंग शाह 

बाँकेको नेपालगन्ज उपमहानगरपालिका वडा नं. १२ बेलासपुरमा आज बिहान भएको एक झैझगडामा परी एक युवकको मृत्यु भएको छ भने अर्का एक जना घाइते भएका छन्।



आज मिति २०८३/०१/२२ गते बिहान अन्दाजी ५:५० बजेको समयमा स्थानीय प्रीतम अधिकारीको घरमा कुटपिट भएको थियो। अधिकारीको घरमा आयोजना गरिएको ब्रतबन्धको कार्यक्रममा सहभागी हुन पुगेका साथीहरूबीच नै विवाद हुँदा घटनाले उग्र रूप लिएको बुझिएको छ।

कुटपिटबाट गम्भीर घाइते भएका बाँके जिल्ला खजुरा गाउँपालिका वडा नं. ६ सिमलघारी बस्ने २२ वर्षीय विशाल चन्द ठकुरीको मृत्यु भएको छ। उनको निधार र ढाडमा गम्भीर चोट लागेको थियो। घाइते अवस्थामा उपचारका लागि सञ्जिवनी कलेज अफ मेडिकल साइन्सेज (नेपालगन्ज अस्पताल) ल्याउँदै गर्दा बाटोमै बिहान ६:०३ बजे उनलाई चिकित्सकले मृत घोषणा गरेका थिए।

त्यस्तै, कुटपिटबाट जुम्लाको चन्दननाथ नगरपालिका वडा नं. ४ घर भई हाल बेलासपुर बस्ने २० वर्षीय योगेन्द्र सुनार घाइते भएका छन्। उनको टाउकोमा चोट लागेको भए पनि अवस्था सामान्य रहेको अस्पताल स्रोतले जनाएको छ।


मृतकका साथीहरू सागर सार्की र साजन डाँगीका अनुसार उनीहरू हिजो बेलुकादेखि नै ब्रतबन्धको भोजमा सहभागी थिए। कुटपिट गर्ने समूह र घाइतेहरूले सँगै खानपिन गरी राति प्रीतम अधिकारीकै घरमा सुतेका थिए। तर, आज बिहान अचानक अपरिचित युवाहरूको समूहले धारिलो हतियार र बियरको बोतल प्रहार गरी निर्घात कुटपिट गरेको प्रत्यक्षदर्शीले बताएका छन्।


घटनापछि कुटपिटमा संलग्न केही व्यक्तिहरू फरार रहेको र उनीहरूको खोजी कार्य जारी रहेको बुझिएको छ। जिल्ला प्रहरी कार्यालय बाँकेले घटनाको सम्बन्धमा थप अनुसन्धान भइरहेको र वास्तविक विवरण खुल्न बाँकी रहेको जनाएको छ। घाइते र मृतकको ठेगानाबारे प्रारम्भिक जानकारी आए पनि थप यकिन गर्ने काम भइरहेको छ।

Post a Comment

Previous Post Next Post