देशभरका सबै जिल्ला र पालिकाको जनसंख्या विवरण सार्वजनिकः दैलेखको जनसंख्या भने घट्यो

 दैलेख । केन्द्रीय तथ्याँक विभागले बुधबार देशभरका सबै जिल्ला र पालिकाको पनि जनसंख्या विवरण पनि सार्वजनिक गरेको छ ।



विभागका अनुसार नेपालका ७७ जिल्लाहरूमध्ये सबैभन्दा धेरै जनसंख्या काठमाण्डौ जिल्लामा २० लाख १७ हजार ५३२ जना र सबैभन्दा कम जनसंख्या मनाङ जिल्लामा (५ हजार ६४५) रहेको छ ।

यसैबिच तथ्याँक विभागले सार्वजनीक गरेको तथ्याँकअनुसार दैलेख जिल्लाको जनसंख्या भने घटेको छ । बुधबार सार्वजनीक गरिएको तथ्याँक अनुसार दैलेख जिल्लाको जनसंख्या २ लाख ५३ हजार ३ सय १९ मा झरेको छ ।

विभागले सार्वजनिक गरेको राष्ट्रिय जनगणना २०७८ प्रारम्भिक नतिजा अनुसार दैलेख जिल्लाको जनसंख्या २ लाख ५३ हजार ३ सय १९ मा झरेको हो ।

यसअघि विस २०६८ सालमा गरिएको जनगणनामा दैलेखको जनसंख्या २ लाख ६१ हजार ७ सय ७० थियो । राष्ट्रिय जनगणना २०७८ को प्रारम्भिक नतिजा अनुसारको जनसंख्या २०६८ सालको जनगणना अनुसारको जिल्लाको जनसंख्यामा ८ हजार ४ सय ५१ कम हो ।

प्रारम्भिक नतिजा अनुसार दैलेखमा पुरुषको जनसंख्या १ लाख २१ हजार ६ सय ७७ छ भने महिलाको जनसंख्या १ लाख ३१ हजार ६ सय ४४ छ । तथ्यांक अनुसार जिल्लाका ४८ हजार ७ सय ७६ घरधुरीमा जनगणना गरिएको विभागले जनाएको छ ।

जिल्लामा परिवार संख्या ५५ हजार ७ सय ८ छ । जिल्लाको लैंगिक अनुपात ९२.४३ रहेको छ । विभागका अनुसार जनघनत्व १६९ जना प्रतिवर्गकिलोमिटर छ । जिल्लामा परिवारको औषत आकार ४.५५ छ । जिल्लामा वार्षिक जनसंख्या वृद्धिदर ऋणात्मक देखिएको छ । प्रारम्भिक तथ्यांक अनुसार जिल्लाको बार्षिक जनसंख्या बृद्धिदर–०.३१ छ ।

यसैबिच दैलेखका ११ वटा स्थानीय तह मध्ये जिल्लाको दुल्लु नगरपालिकाको जनसंख्या सबै भन्दा धेरै छ । नतिजा अनुसार दुल्लु नगरपालिकाको जनसंख्या १८ हजार ५ सय ६ पुरुष र २१ हजार ७६ महिला गरी ३९ हजार ५ सय ८२ छ ।

यस्तै आठबीस नगरपालिकाको जनसंख्या १५ हजार ५सय ६५ पुरुष र १६ हजार २ सय ७४ गरी ३१ हजार ८ सय ३९ छ । भगवतीमाई गाउँपालिकाको १८ हजार ३ सय ६६, भैरबी गाउँपालिकाको १७ हजार ७ सय ८१, चामुण्डाविन्द्रासैनी नगरपालिकाको २६ हजार ५ सय ७५, डुङ्गेश्वर गाउँपालिकाको जनसंख्या १४ हजार ५ सय ९७ छ ।

प्रारम्भिक नतिजा अनुसार गुराँस गाउँपालिकाको २१ हजार २ सय ७८, महाबु गाउँपालिकाको १८ हजार ३७, नारायण नगरपालिकाको २५ हजार ८ सय ३, नौमूले गाउँपालिकाको २० हजार ५ सय ८९ र ठाटीकाँध गाउँपालिकाको जनसंख्या १८ हजार ६ सय ६६ छ ।

विभागकाअनुसार ७७ जिल्लाहरूमध्ये सबैभन्दा धेरै जनसंख्या काठमाण्डौ जिल्लामा २० लाख १७ हजार ५३२ जना र सबैभन्दा कम जनसंख्या मनाङ जिल्लामा ५ हजार ६४५ रहेको छ ।

मोरङ, रूपन्देही, झापा र सुनसरी जिल्ला क्रमशः दोस्रो, तेस्रो, चौथो र पाँचौं धेरै जनसंख्या भएका जिल्लाहरू हुन् । कम जनसंख्या भएका जिल्लातर्फ मुस्ताङ, डोल्पा, रसुवा र हुम्ला क्रमशः दोस्रो, तेस्रो, चौथो र पाँचौं स्थानमा छन् ।

गाउँपालिकातर्फ सबैभन्दा धेरै जनसंख्या भएका ५ गाउँपालिकाहरुमा बाँकेको बैजनाथ, राप्तीसोनारी र खजुरा, रुपन्देहीको मायादेवी र कपिलवस्तु जिल्लाको मायादेवी छन् ।

यस्तै सबैभन्दा कम जनसंख्या भएका ५ गाउँपालिकाहरुमा मनाङको नार्पा भूमी, मुस्ताङको लो–घेकर दामोदरकुण्ड, मनाङको मनाङ ङिस्याङ र नासो गाउँपालिका रहेका छन् ।

यस्तै नगरपालिकाहरूमध्ये सबैभन्दा धेरै जनसंख्या भएका ५ नगरपालिकाहरूमा क्रमशः काठमाण्डौ, पोखरा, भरतपुर, ललितपुर र विरगञ्ज महानगरपालिका रहेका छन् ।

यस्तै सबैभन्दा कम जनसंख्या भएका ५ नगरपालिकाहरूमा डोल्पाको ठूलीभेरी र त्रिपुरासुन्दरी, संखुवासभाको मादी, तेह्रथुमको लालीगुराँस र दोलखाको जिरी नगरपालिका रहेका छन् ।

विभागले भक्तपुर, रुपन्देही, चितवन, बाँके र सुनसरीको जनसंख्या वृद्धिदर सर्वाधिक तथा रामेछाप, खोटाङ, मनाङ, भोजपुर र तेह्रथुमको वार्षिक जनसंख्या वृद्धिदर ऋणात्मक रहेको जनाएको छ ।

Post a Comment

Previous Post Next Post