नक्कली पीसीआर रिपोर्ट बनाउने अस्पतालका कर्मचारी तथा बिचौलिया पक्राउ

 काठमाडौँ- महानगरीय अपराध महाशाखाले नक्कली पीसीआर रिपोर्ट बनाउने अस्पतालका कर्मचारी तथा बिचौलियाहरु पक्राउ गरेको छ ।

बैदेशिक रोजगारमा जाने ब्यक्तिहरुका लागि पीसीआर रिपोर्ट बनाईदिने भन्दै सरकारले तोकेको भन्दा अत्याधिक बढी रकम लिई स्वाबको नमुना समेत नलिई पीसीआरको नक्कली रिपोर्ट बनाईदिने गरेको आरोपमा भक्तपुरको मध्युपर थिमीस्थित नागरिक कम्युनिटी टिचिङ अस्पताल र काठमाडौंको तीनकुनेस्थित कान्तिपुर अस्पतालबाट नक्कली पीसीआर रिपोर्ट सहित पक्राउ गरिएको अपराध महाशाखाले जनाएको छ ।

पक्राउ पर्नेमा धनुषा जिल्ला घर भई हाल ललितपुर ग्वार्को बस्ने  बर्ष २५ को रोसन कुमार छिट्टान,  धनुषा जिल्ला घर भई हाल  गौशाला बस्ने बर्ष २५ को नागेन्द्र यादव ,  काभ्रेपलान्चोक जिल्ला घर भई हाल भक्तपुर सल्लाघारी बस्ने बर्ष २९ को माधव मैनाली र सर्लाही जिल्ला घर भई हाल भक्तपुर कौशलटार बस्ने बर्ष २४ को नागरिक हस्पिटलका ल्याब प्रबन्धक प्रसन्न कुमार झा  रहेका छन् ।

त्यस्तै,  नागरिक कम्युनिटी अस्पतालका पीसीआर ल्याब सञ्चालक भावेश मिश्र र कान्तिपुर अस्पताल प्रा.लि. का पीसीआर ल्याब सञ्चालक निर्मल गिरी भने फरार रहेका छन्।

प्रहरीले उनीहरूको साथबाट पीसीआर रिपोर्ट नेगेटिभ बनाउने कम्प्युटर मनिटर, ल्यापटप, सीपीयु, नक्कली पीसीआर रिपोर्ट र मोबाइलगायत सामग्रीसमेत बरामद गरेको जनाएको छ ।

Post a Comment

Previous Post Next Post