जीवनभर गठबन्धनसँग मिलेर चुनाव लड्छाैँ भनेर कागजपत्र भएकाे छैन : मिनेन्द्र रिजाल

 नेपाली कांग्रेसका नेता डा. मिनेन्द्र रिजालले वर्तमान सत्ता गठबन्धनसँग जीवनभर मिलेर चुनाव लड्छौँ भनेर कागजपत्र नगरेको बताउनुभएकाे छ । तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधि सभा विघटन गरी संविधान ट्र्याक बाहिर गएको भन्दै संविधानलाई ट्र्याकमा ल्याउनका लागि मात्रै गठबन्धन गरिएको उहाँकाे भनाइ छ ।



आज बुधवार राष्ट्रिय युवा सङ्घ नेपालले काठमाण्डाैमा आयोजना गरेको ‘स्थानीय तह चुनाव, संवैधानिक व्यवस्था र अबको राजनीति’ विषयक खुला बहसमा बोल्दै उहाँले भन्नुभयाे, ‘केपी ओली नेतृत्वकाे सरकारले जसरी शासन गर्दै थियाे, जसरी पटक–पटक प्रतिनिधि सभा विघटन गर्‍याे, त्यसबाट संविधान जाेगाउन गाह्राे हुन्छ भनेर हामीहरू हिँडेकाे हाे । हामीहरूले त्यतिखेर अब बाँकी जीवनभर चुनाव सँगै लड्छाैँ भनेर कागज गरेका छैनाैँ । हामीले संविधान ट्र्याक भन्दा बाहिर गयाे, त्यसलाई ट्र्याकमा ल्याउने र त्यसका लागि सँगै बस्ने भएकाे हाे ।’

कार्यक्रममा बाेल्दै नेता रिजालले एमालेले निरन्तर संसद अवरोध गरिरहनु बेठिक भएको बताउनुभयाे । सभामुखको भूमिका चित्त नबुझेमा हटाउने कानुनी व्यवस्था संविधानले दिएको भए पनि एमालेले त्यसो गर्न नसकेको नेता रिजालले बताउनुभयो । संसद्को गतिरोध अन्त्य गरेर निकास दिनुपर्नेमा उहाँले जोड दिनुभयो ।

नेता रिजालले भन्नुभयो, ‘तपाईँहरू(एमाले) ले संसद् बन्द गरेर संविधानलाई तागत दिइरहनुभएको छैन । तपाईँहरूलाई सभामुखको भूमिका चित्त बुझेन भने सभामुख बेठिक छन्, यिनलाई हटाइ पाउँ भनी लेख्ने व्यवस्था त संविधानले दिएको छ नि । त्यो व्यवस्थामा जानुभएकाे भए हुन्थ्यो नि त । जानुभएन अहिलेसम्म । त्यो व्यवस्थामा तपाईँहरूसँग मत नपुग्ला तर लोकतन्त्र भनेको जित, हार दुई वटै हुन्छ नि त ।

Post a Comment

Previous Post Next Post