के फेरी हाेला त करिश्मा र प्रकाशको सहकार्य

 निर्देशक प्रकाश सायमी र अभिनेत्री करिश्मा मानन्धरबीच फिल्म ‘हतियार’ पछि सहकार्य भएको छैन । तर, यो फिल्मभन्दा अगाडि र पछाडि पनि उनीहरुबीच सहकार्यका लागि प्रयास भएको थियो । फिल्म ‘सन्तान’ हेरेपछि प्रकाशले करिश्मालाई ‘पिरती’ का लागि साइन गराएका थिए । तर, फिल्मका निर्माता उदित नारायण झासँग केही असमझदारी भएपछि करिश्माले काम गरिनन् । 



 
करिश्मासँगको एक तस्विर मंगलवार फेसबुकमा साझेदार गर्दै निर्देशक सायमीले उनीसँग धेरै पटक सहकार्यको प्रयास भएपनि ‘हतियार’ मा मात्र एकसाथ काम गर्न पाएको स्मरण गरेका छन् । आफ्नो पहिलो निर्देशकिय फिल्म ‘पृथिवी’ मा करिश्मालाई नायिकामा साइन गराए पनि विनोद मानन्धर (करिश्माका पति) का कारण काम नगर्ने निर्णय भएको उनले उल्लेख गरेका छन् । 
 
उनले लेखेका छन्, ‘करिश्मालाई पछि मैले नायिकाको रुपमा ‘हतियार’ मा साइन गरेँ र त्यसमा उनी सीमान्त उधासकी नायिका भइन् । पछि सीमान्तले ‘शुभकामना’ फिल्म बनाउने प्रस्ताव ल्याए । त्यसमा श्रीकृष्ण श्रेष्ठ, सीमान्त, करिश्मालाई अनुबन्धित गरियो । यसपाली मलाई फिल्म बनाउन मन लागेन ।’ यो फिल्म बनेपनि करिश्मासँग फेरि सहकार्य हुन नसकेको उनले बताएका छन् ।
 
निर्देशक सायमीको स्टाटस आफ्नो फेसबुकवालमा शेयर गर्दै करिश्माले फेरि पनि सहकार्यको सम्भावना रहेको आशय व्यक्त गर्दै लेखेकी छन्, ‘कस्तो विस्तृतमा सम्झनाहरु ब्याख्या गर्नुभयो । तर, असम्भव केही छैन । हामी अझै जिउँदै छौं ।’ गत वर्ष ‘किताब जात्रा’ को क्रममा प्रकाश सायमीले करिश्मा र नायक राजेश हमालसँग फिल्म र किताबको बारेमा विभिन्न कुराकानी गरेका थिए ।

Post a Comment

Previous Post Next Post