पर्यटक पर्खिंदै सत्खलुवा ताल

धनन्जय रिजाल,सुर्खेत

वरिपरि सुन्दर सातवटा ताल । भ्यु टावरमा चढेर बाघ, हात्ती, चित्तललगायत जंगली जनावर अवलोकन गर्न पाइने । यो बारबर्दियामा अवस्थित सत्खलुवा ताल क्षेत्रको दृश्य हो।


प्राकृतिक रुपमा सुन्दर भए पनि यस सत्खलुवा तालसम्म पर्यटक पुग्न सकेको छैन। नजिककै यति रमणीय ठाउँ भए पनि यसअघि घुम्ने अवसर नमिलेको राजापुर नगरपालिका–५ की विनीता चौधरीले बताइन्। ‘यति सुन्दर ठाउँ रहेछ, आएपछि मनै लोभ्यायो । अरुले सत्खलुवा भनेको सुन्दा के छ होला र त्यहाँ जस्तो लाग्थ्यो,’ उनले भनिन्, ‘खासमा सबैले एकपटक घुम्नै पर्ने ठाँउ रहेछ ।’

पहिलो पटक सत्खलुवा पुगेकी विनीताले त्यहाँको रमणीय वातावरणमा आनन्दसँग साथीहरुसँग डुङ्गा चढेको बताइन् । पिकनीक खानका लागि त्यहाँ पुगेकी उनले तालमा डुङ्गा चढ्नुका साथै भ्युटावर चढेर त्यस क्षेत्रको अवलोकन गरेको बताइन्। पहिलोपटक सत्खलुवा पुगेकी विनीताले उक्त तालको सत्खलुवा कसरी रह्यो भन्ने पनिसोध्न भ्याएकी रहिछन्। ‘डुङ्गा चालकलाई तालको नाम कसरी सत्खलुवा रहन पुग्यो भनी सोधें,’ उनले भनिन्, ‘सत्खलुवा क्षेत्रमा सातवटा सुन्दर ताल छन् । सात वटा खोल्साबाट पानी आउने भएकाले थारु भाषमा सत्खलुवा नाम रहन गएको डुङ्गा चालकले बताए।’ बर्दियाकै ठाकुरबाबा नगरपालिका–२ कर्मला का आृृर्जन रिजालले पहिलोपटक सत्खलुवा पुगेको र साह्रै राम्रो ठाउँ भएको बताए। उनले भने, ‘एकदमै सुन्दर ठाउँ रहेछ । यति नजिक हुँदा पनि आएको थिइनँ।’ सत्खलुवा क्षेत्रमा पछिल्लो समय आन्तरिक पर्यटकहरु आकर्षित हुन थालेका छन् । बर्दिया क्षेत्रमा शिक्षक तथा विद्यार्थिहरु पनि पिकनीक खान सत्खलुवा ताल पुग्ने गरेको छन्। केही दिन पहिले क्याम्पसमा विद्यार्थीलाई पिकनीख खान सत्खलुवा लगेर गएको मनुषा टीका सिह थापा बहुमुखी क्याम्पसका शिक्षक खगेन्द्र शाहीले बताए । पछिल्लो समय केही प्रचारप्रचार भएपछि पर्यटकहरु दैनिक जसो आइरहेको डुङ्गा चालक शिवप्रसाद अधिकारीले बताए ।
प्रचारप्रसारको अभाव

सत्खलुवा ताल क्षेत्र पर्यटकका लागि गतिलो गन्तव्य भए पनि प्रचारप्रसार अभाव भएको स्थानीयहरु बताउँछन्। बर्दिया क्षेत्रकै धेरैलाई सत्खलुवाको महत्त्व र विशेषताबारे जानकारी नभएको मीना भण्डारीले बताउँछिन्। पछिल्लो समय उक्त क्षेत्रमा सञ्चालित होमस्टेले केही पर्यटकहरु आकर्षित भइरहेको होमस्टे सञ्चालकहरु बताउँछन्। होमस्टे सञ्चालनपछि विशेषतः विदेशी पर्यटक आउन थालेका छन्। स्थानीय सरकारले तालको प्रचारप्रचारमा विशेष ध्यान दिएमा आन्तरिक तथा बाह्य पर्यटक आकर्षित गर्न सकिने शिवप्रसाद अधिकारी बताउँछन्।
प्रदेश ५ सरकारले भ्रमण वर्ष उदघाटन बर्दियाको ठाकुरमा गरेको थियो। तामझामका साथ भ्रमण वर्षको सुभारम्भ गरे पनि उदघाटन गरिएको दुई महिना पनि नपुग्दै बर्दिया सुनसानजस्तै बन्न थालेको स्थानीयहरु बताउँछन्।




Post a Comment

Previous Post Next Post