माओवादी र एसले धेरै भाग खोजेको भन्दै दैलेखमा एक्लै लड्ने कांग्रेसको तयारी


दैलेख । नेपाली कांग्रेस दैलेखले जिल्लाका ११ वटै स्थानीय तहमा यही ९ गते उम्मेदवार टुंग्याउने भएको छ । कांग्रेस जिल्ला सभापति मणिराम रेग्मीले वैशाख ८ गते संसदीय दलको वैठक बोलाइएको जानकारी दिए ।

‘हामीले ११ वटै पालिकाका उम्मेदवारका आकांक्षीको सिफारिस प्राप्त गरिसकेका छौं । गठबन्धनमा सहमति नभएका कारण अहिले पनि वार्ताहरू चलिरहेका छन् ’, रेग्मीले यात्रा मिडिया सँग भने, ‘तर सहमति हुन सकेको छैन । हामीले संसदीय दलको वैठक वैशाख ८ गते बोलाएका छौं । ९ गते हामी टिकट बाँडेर उम्मेदवारलाई गाउँमा पठाइदिन्छौं । ८ गतेसम्म सहमतिको प्रयास भने जारी रहनेछ ।’

उनले माओवादी र समाजवादीले बढी नै पालिका माग गरेको कारण समस्या भएको बताए ।

‘उहाँहरूले कांग्रेस ६ र आफूहरू ५ पालिकाको नेतृत्व पाउनुपर्ने माग गर्दै आउनुभएको छ । यो कुरामा कांग्रेस सहमत हुन सक्दैन । यो अडानले सहमति हुने सम्भावना कम भएको छ । यद्यपि प्रयास भने जारी नै छ ।’

उनले कांग्रेसले जितेको स्थानमा सम्मानजनक स्थान खोज्ने तर माओवादीले जितेको स्थानमा कांग्रेसले भाग नपाउने अवस्था आउनु राम्रो नहुने बताए ।

‘आफूले जितेको स्थानमा भागबन्डा नगर्ने तर कांग्रेसले जितेको स्थानमा उहाँहरूलाई भाग दिने भन्ने कुरा अस्वाभाविक नै हो’, रेग्मी भन्छन् ।

दैलेखका ९० वडामा ७४ चुनवमा माओवादीले एक वडा पनि जितेको थिएन । महाबु गाउँपालिका अध्यक्ष, उपाध्यक्ष, नारायण नपा उपप्रमुख, ठाँटीकाँध गाउँपालिकाका उपाध्यक्ष भने नेकपा एसमा प्रवेश गरेका छन् ।


Post a Comment

Previous Post Next Post