सामाजिक सुरक्षा भत्ता बुझ्न बैँकमा लाइन लाग्नुपर्ने बाध्यता हट्यो

 सल्यानको शारदा नगरपालिकाले नगरभित्रका सबै वडा कार्यालयबाट नै सामाजिक सुरक्षा भत्ता वितरण गर्न शुरु गरेको छ । नगरभित्रका अति अशक्त, जेष्ठ नागरिक र अपाङ्गता भएका व्यक्तिलाई मध्यनजर गर्दै शुक्रवारदेखी सामाजिक सुरक्षा भत्ता वडाबाटै वितरण गर्न शुरु गरेको हो । बैंकमा आउजाउ गर्दा अति अशक्त, जेष्ठ नागरिक र अपाङ्गता भएका व्यक्तिहरुलाई सास्ती हुने भएपनि नगरपालिकाले वडाबाटै सामाजिक सुरक्षा भत्ता वितरण गर्न शुरु गरेको हो ।


विगतमा नगरवासीहरुले खलंगा र श्रीनगर वजारमा रहेका बैँकहरुमा पुगेर सामाजिक सुरक्षा भत्ता लिदैँ आएका थिए । वडा कार्यालयमा नै सामाजिक सुरक्षा भत्ता पाउदाँ निकै खुसी लागेको शारदा नगरपालिका वडा नम्बर ३ निवासी स्थानिय जुद्ध कुमारी बिष्टले बताउनुभयो । ‘पहिले त भत्ता लिन बैँकमा जानुपथ्र्यो, यस पटक भने वडा कार्यालयमा आएर भत्ता बुझिम्, अब सधै वडा कार्यालयबाट भत्ता दिएपछि सजिलो हुनेछ’ खुसी हुदैँ उहाँले भन्नुभयो ।


अर्की स्थानिय टिका खत्रीले बैँकमा पुगेर लाइन लागेर भत्ता बुझ्ने बाध्यता रहेकोमा अहिले भने सजिलो भएको बताउनुभयो । ‘भत्ता लिन खलंगामा रहेको बैंकमा जानुपर्दा सास्ती थियो, लामो समय हिड्नुपथ्र्यो, बैँकमा पुगेर पनि लाइन लाग्नुपथ्र्यो’ उहाँले खुसी हुदैँ भन्नुभयो ‘भत्ता पाउनको लागि बिहानै बैँक जानुपर्ने झन्झटवाट मुक्ति मिलेको छ ।’ उहाँले वडा कार्यालयसम्म पनि आउजाउ गर्न नसक्नेहरुको लागि घरैमा गएर भत्ता वितरण गर्नुपर्ने बताउनुभयो ।


शारदा नगरपालिका भित्रका ६ हजार १ सय ३० जनाले सामाजिक सुरक्षा भत्ता पाउँदै आएका छन् । ती मध्ये अति अशक्त, जेष्ठ नागरिक, अपाङ्गता भएका व्यक्तिहरुलाई मात्रै वडा कार्यालयमा पुगेर सामाजिक सुरक्षा भत्ता वितरण गर्न थालिएको हो ।

नगरप्रमुख प्रकाश भण्डारीले सामाजिक सुरक्षा भत्ता लिनकै लागि लामो समय हिडेर बैँक सम्म आउनुपर्ने नागरिकको बाध्यतालाई अन्त्य गर्न नगरका १५ वटै वडा कार्यालयबाट वितरण गर्ने व्यवस्था मिलाएको बताउनुभयो । सदरमुकाम खलंगा तथा श्रीनगर बजारमा रहेका विभिन्न बैंकका म्यानेजरहरुसँग छलफल गरि बैंकका कर्मचारी, वडा कार्यालयका कर्मचारी र सुरक्षाकर्मीको सहयोगमै वडा कार्यालयबाट सामाजिक सुरक्षा भत्ता वितरण गर्न थालिएको उहाँको भनाइ छ ।


‘सरकारले सामाजिक सुरक्षा भत्ता दुरुपयोग हुनबाट बचाउन र सम्बन्धित व्यक्तिले नै भत्ता रकम पाओस् भनेर बैंकमा खाता खोल्ने काम राम्रो ग¥यो तर बैंकमा खाता खोल्दा अशक्त, जेष्ठ नागरिक, अपाङ्गता भएका व्यक्तिहरुले सास्ती भोग्नु परेको थियो, सबै वडामा बैंक नहुँदा उनीहरुलाई डेढ दुई घन्टा लगाएर आउनु पर्ने त्यसमा पनि भीडभाडका कारण लामो समय कुर्नु पर्ने बाध्यता रहेको थियो’ उहाँले भन्नुभयो ‘हामीले वडाबाट नै भत्ता वितरण शुरु गरेका छौँ, आउदा दिनमा अति अशक्त, जेष्ठ नागरिक, अपाङ्गता भएका व्यक्तिहरुले समस्या भोग्नु पर्ने छैन् ।’सामाजिक सुरक्षा भत्ता वितरण गर्न नगरप्रमुख भण्डारी, उपप्रमुख सुस्मिता सापकोटा (सुनार), निमित्त प्रमुख प्रशासकिय अधिकृत लिलाधर बबाल लगाएत वडा नम्बर ३ को कार्यालयमा पुग्नुभएको थियो । शुक्रवार देखी वितरण गर्न थालिएको सामाजिक सुरक्षा भत्ता यही जेठ २७ गतेसम्म सबै वडाहरुमा पुगेर वितरण गरिने नगरपालिकाले जनाएको छ ।

Post a Comment

Previous Post Next Post