निरज दाहाल को कबिता यो साल पनि अन्तरी पास भइन

 यो साल पनि अन्तरी पास भइन

मेरा बाका हातका नाडी-नसा छामिदिने को छ ?
को छ आमाको स्यूँदो बचाइदिने मान्छे ?
को छ दिदीहरूको वेदना बा-आमासम्म पुग्नलाई रोक्न सक्ने ?
को छ बैनीको लुगा फेरिदिने ?
को छ भाइलाई हात समाएर स्कूल लैजाँदै गर्दा 
उसका औँलाले मेरा हत्केलामा लेखेका अक्षर जाँच्ने जाँचकी ?

ए जाँचकी !
तेरो सेतो पानामा
मैले काला अक्षरका मसीले - लेखिनँ होला
तैँले सोधेका प्रश्नहरूको उत्तर...


तेरो निर्धारित समयमा
मैले पानाहरू सकिनँ होला भर्न- अक्षरले !
तैंले तोकेका विषयमा
मैले घोकेका सत्यहरू हुँदैनथ्यो होला लेख्न !

तर, को छ यहाँ ?
को छ यहाँ ?
जो जाँच्न सक्छ- मैले भीरपाटीको कान्लामा हँसियाले लेख्ने अक्षरहरू ?
को छ यहाँ ?
जो पढ्न सक्छ- मैले खालि छाडेका पानाभित्रको वेदना ?
को छ यहाँ ?
जो रम्न सक्छ- सेता पानामाथिका काला अक्षरहरूको असुहाउँदो नाचमा ?
को छ यहाँ ?

जो महसुस गर्न सक्छ - बालविवाहको भूमरीमा पिल्सिएकी 
मेरो मानसिक अवस्थाको उत्तर - कापी हेरेर ?
को छ यहाँ ?
जो देख्न सक्छ- हरियो घाँससँग खेलिरहने मेरो भविष्य पनि हरियो ?
ए ! राहदानीको रङ त्यसैले पो हरियो हुँदो हो !


सुन मान्छेहरू हो !
च्यातिदेऊ - तिमीले तयार पारेका नम्बरहरूका पाण्डुलिपि,
बन्द गरिदेऊ - तिम्रो अव्यवहारिक घोकाइका शिलशिलाहरू,
फ्याँकिदेऊ- मेरो स्कूलको नतिजा !
छाडिदेऊ- तिम्री छोरी र यो 'अन्तरी'को तुलना गर्न !


बरू आऊ
पठाऊ- तिम्री छोरी र मलाई एउटै कान्लामा
अनि हेर
कसले पहिले भर्ने रहेछौँ- डोकाको कापीमा घाँसका अक्षर !
बसाऊ- तिम्री छोरी र यो अन्तरीलाई एउटै फलैँचामा
अनि हेर
कसले समयमै सिद्ध्याउने रहेछौँ- मकैका केस्रा उधारेर भकारी भर्न !
लखेट - तिम्री छोरी र मलाई एउटै छाउगोठमा

अनि हेर
कसले सक्ने रहेछौँ- पीडाको मसीले जिन्दगीका पानामा
 समयले सोधेका प्रश्नहरूका उत्तर ठ्याक्कै लेख्न !
देऊ - तिम्री छोरी र मलाई एउटै गृहकार्य
अनि जाँच
कसले सक्ने रहेछौँ- बगरका पानामा हथौडाले अक्षर लेखेर- घर चलाउन !


हे देश !
उनीहरूले घोकेको पाठ्यक्रमबाट प्रश्न सोध्न छाडेर
मैले बुझेको पाठ्यक्रमबाट प्रश्न सोध्न थालेछस् भने कुनै दिन
देखाउँला म पनि - मेरो नतिजाको मार्कसिट तँलाई !
अहिलेलाई यत्ति सुन् - मेरो देश !
 यो साल पनि अन्तरी पास भइन !

Post a Comment

Previous Post Next Post