दलित तल्लो जात हो वा दलन विरुद्धको आवाज हो ? (नारायण रिजाल)

दलित को हुन् र दलित किन भनियो ? आजको विषयारम्भ यसैबाट गरौँ । दलित भन्नुपर्ने र दलित किन भनिरहनेबीच आममान्छेमा पनि समान धारणा छैन । दलित शब्दलाई लिएर समस्या उत्पन्न भएको छ । स्वयं दलितमा यो शब्द प्रयोग गर्ने र यसको अर्थ निर्धारण गर्ने सवालमा एकरूपता छैन । दलनमा परेकाहरूलाई सम्बोधन गर्ने बृहत् अर्थ बोकेको शब्द दलित दलनविरुद्धको आवाज हो ।

आर्थिक विकास, शिक्षा एवं आधुनिकताले जाति व्यवस्था र जातीय भेदभाव घटाएका छैनन्, बरु पुनर्उत्पादन गरिरहेका छन् । आधुनिकता, आधुनिक शिक्षा र आर्थिक विकासबाट लाभान्वित ठूला जातले आफूलाई प्राप्त अवसर एवं सूचना प्रविधिको प्रयोगबाट तल्ला जातका मानिसप्रतिको पूर्वाग्रह अनि उनीहरूविरुद्धको भेदभावलाई थप बलियो बनाएका छन् । दलितहरूको सामाजिक, सांस्कृतिक स्थान थप संकुचित भएको छ । आधुनिकताले दलितलाई स्वतन्त्र बनाएको छैन, बरु थप कमजोर (भल्नरेबल) बनाएको छ ।

छुवाछुत र विभेदका बहस हुँदै गर्दा ‘हामीले मात्र विभेद गरेका हौं र, उनीहरूका बीचमा पनि विभेद छ नि’ भन्ने सुतुरमुर्गे-तर्क सतहमा आउने गर्छ। जति बुट्टा भरेपनि त्यस तर्कको निचोड हो-आफू र आफ्ना समुदायले अर्को सिमान्तकृत समुदायमाथि गरेको अमानवीय कर्तुत खासै गलत होइन। त्यतिसम्म त भइहाल्छ नि! ‘हामी र उनीहरू अर्थात् कथित उच्च र कथित निचको यो विभेद ठीकै हो! प्राचीन कविलाहरूले कहिल्यै नभेटेको अर्को कविला(समूह) भेट्नेवित्तिकै एकअर्काप्रति ‘हामी र उनीहरू’को बाइनरी अपोजिसन (दोहोरो प्रतिद्वन्द्वी) को अवधारणा बनाउँथे र एकले अर्कोलाई सिध्याउने वा कमजोर पारेर आफ्नो अधिनस्थ पार्थे। र, त्यही कविलाई सोच मानवसमाजमा हस्तान्तरित छ। चर्चित किताब ‘सेपियन्स’मा युवल नोहा हरारीले यो विषय उल्लेख गरेका छन्।

दलित शब्दप्रति कतिपय मानिसको असन्तुष्टि रहेको पनि पाइन्छ । उनीहरू तर्क गर्छन्, दलित शब्दको प्रयोगले सम्बन्धित समूहलाई अपमान गर्ने र कमजोर बनाउने काम गरेको छ । झट्ट सुन्दा चित्तबुझ्दो लाग्ने तर्क यथार्थमा गलत छ ।


पहिलो– दलित शब्दले नेपाली समाजमा तल्लो जात मानिएका मानिसहरूको समूह र तिनको सामाजिक अवस्थाबारे देशव्यापी सचेतना बढाएको छ । तल्लो जात मानिएका मानिसहरूको समूह छ र यो समूहका विशेष एवं पृथक समस्या छन् भन्ने अर्थ यो शब्दले दिन्छ । दोस्रो– दलित शब्दले जातीय आधारमा विभेदको मारमा पारेका देशका विभिन्न समूहलाई एक सामूहिक पहिचान दिएको छ र उनीहरूको आवाजलाई सशक्त बनाउन सहयोग गरेको छ । तेस्रो– यो शब्दले परम्परागत जातीय नामका तुलनामा विशेष राजनीतिक, आर्थिक अर्थ बोकेको छ । तसर्थ, राज्यका नीति तथा कार्यक्रम बनाउन यसबाट सहजता मिल्छ । चौथो– दलित शब्द समग्र समूह उसको विशिष्टता जनाउने शब्द हो । कुनै जातीय समूहको नाम वा थर होइन र त्यस रूपमा प्रयोग गर्न मिल्दैन ।

यो धार्मिक समस्या पनि होइन किनभने धर्मको परिभाषा जगाउन शास्त्र चाहिन्छ, शास्त्रले ''चातुर्वर्ण्यं मया सृष्टं गुणकर्मविभागशः।'' आदि व्याख्या गरेको छ । यसले ब्राम्हण, क्षेत्री, वैश्य र शुद्रको विषयमा गुण, प्रकृति (स्वभाव) र कर्मलाई आधार मानी व्याख्या गरिएको छ ।

ब्राह्मणोऽस्य मुखमासीद्बाहू राजन्यः कृतः ।ऊरू तदस्य यद्वैश्यः पद्भ्यां शूद्रोऽजायतः ॥ यो हामीले कुन अंगलाई प्राथमिकतामा राखेर काम गर्छौं हाम्रो सामाजिक जन्म त्यहीँबाट हुन्छ । जस्तो कि मुखको बढी प्रयोग गरी ब्रह्म तत्वलाई जानेर सो सम्बन्धि ज्ञान दिने र मुखलाई नै आधार बनाएर आफ्नो सामाजिक पहिचान दिने कार्य गर्ने ब्राह्मण हो । क्षेत्रको अर्थ हात, शरीर र जमिन भन्ने हुन्छ, सैन्य संगठनको माध्यमद्वारा जनता र स्वदेशी भूमिको रक्षा गर्न हतियार चलाउन हात प्रयोग गर्ने शासकलाई क्षेत्री भनिन्छ । शरीरको अंग मध्ये पेट भनेको संकलन गर्ने स्थान हो, संकलन उद्यमशीलता, पेसा र व्यवसायले हुन्छ तसर्थ उन्नति र भरणपोषणमा लाग्ने जनलाई वैश्य भनिन्छ । सेवाका लागि पाउको बढी प्रयोग गरी आफ्नो सामाजिक परिचय दिने शुद्र हुन्छ ।

यहाँ कर्म र शरीरको अंगको समुचित प्रयोगको आधारमा उसको जैविक जन्म होइन कि सामाजिक जन्मको कुरा स्पष्ट उल्लेख गरिएको छ । कुनै कथित धर्म गुरु या कर्मकाण्डीले शास्त्रमा विभेद छ भनेर धर्मको आड लिएर विभेद गर्ने कार्य गरेका छन् भने कि उनको अध्ययन नै छैन छ भने पनि ढोंगलाई प्रदर्शन गरिरहेका छन् । यो अन्य सामाजिक अभियन्ताहरूलाई पनि विशेष आग्रह हो कि यहाँ धर्मलाई दोष दिएर कसैले विभिन्न अभिष्ट पूरा नगरौं । यी दुवै समूहलाई धर्ममा विभेद भएको प्रमाणित गर्न चुनौति र वहसका लागि आग्रह समेत गरिन्छ ।

तसर्थ, दलित शब्द नै गलत छ भन्ने उच्च जातका मानिसहरूको तर्क पूर्वाग्रही त छँदै छ, दलित आन्दोलन थप विभाजित र कमजोर होस् भन्ने अवचेतन मनको चाहनाजस्तो पनि देखिन्छ ।

उच्च जातका केही पढेलेखेका मानिसले भनिरहेको सुनिन्छ– मेरा अघिल्ला पुस्ताले मिहिनेत गरे । कानुनी रूपमा उपलब्ध अवसरको प्रयोग गर्दै शिक्षा र सम्पत्ति आर्जन गरे । हामीले पनि पढाइ वा पेसा/व्यवसायमा मिहिनेत गरेर नै समाजमा आफ्नो हैसियत बनाएका छौँ । म र मेरो पुस्ता जातीय विभेदको विपक्षमा छौँ । कसैलाई भेदभाव गर्दैनौँ । तर दलितको विपन्न र कमजोर अवस्थाका लागि हामी किन जिम्मेवार हुनुपर्ने ?

सतहबाट हेर्दा यो तर्क जायज लाग्छ । यसको लोकप्रियता पनि धेरै नै छ । यद्यपि यो बुझाइमा केही गम्भीर समस्या छन् ।

जतिसुकै गरिबी र कठिनाइ सामना गरेका भए पनि उच्च जातका मानिसले नेपालको सामाजिक संरचनाबाट पाउने फाइदा र सुरक्षा दलितको तुलनामा असाध्यै बढी छ । उच्च जातका मानिसहरूले समाजबाट प्राप्त गर्ने सम्मान र पहुँच तथा तिनले उपयोग गर्ने सामाजिक सञ्जाल (इन्टरनेट होइन) दलित समुदायका मानिसका लागि केवल सपना हुन् । उच्च जातका मानिसले आफू र आफ्ना परिवारले उपयोग गर्न पाएका विशेष सुविधाप्रति सचेत हुन आवश्यक छ । उच्च जातको त्यो व्यक्ति, जो आफ्ना विशेष सुविधा (प्रिभिलेज) प्रति सचेत छैन, त्यो दलितका मुद्दामा सचेत होला भनेर मान्न सकिन्न ।

न्याययुक्त समाज निर्माण गर्न त्यतिखेर सम्भव हुन्छ जतिखेर आदर्श र व्यवहार को तालमेल हुन्छ । हाम्रो देशमा यी दुइ कुरा दुई धुर्व जस्तै छन् । यो धेरै दुखलाग्दो कुरा हो । हरेक तह र तप्काका ब्यक्ति कन्सस हुनु पर्यो र आत्मसात गर्नु पर्योकी देशमा सामाजिक अन्याय व्याप्त छ र यो देशको नागरिको हैसियतले मैले केहि गर्नुपर्छ भन्ने चेत आउनु पर्यो ? राष्ट्रिय स्तरमा नीति ल्याउनलाई सजिलो छ । तर त्यो नीतिको कार्यान्वयन गर्दा त्यो नीति यो यो तरिकाबाट कार्यन्वयन गर्ने हो भनेर त्यसको डकुमेन्टेशन पनि हुनु जरुरी छ । तर हाम्रो देशमा कार्यान्वयनका लागि डकुमेन्टेसन सहित नीतिहरु आउदैन । यहाँ सजिलैसँग नीति परिवर्तनहरु हुन्छ तर नीति आफैमा एउटा समाधानको बाटो पनि होइन । त्यसले मात्र एउटा बाटो खोल्दिने काम गर्छ । हुन त बाटो अहिले मात्र खोल्दिएको होइन पहिले देखि नै खोल्दिएको हो तर त्यो बाटोहरुमा कस्ता खालका गाडीहरु गुडाउन सकिन्छ त्यो महत्वपूर्ण कुरा हो । त्यसैले पोलिसीहरु बनाउँदा त्यसले कुन बाटोलाई रोजेर अघि बढ्ने कुरालाई सिकाउँछ भन्ने कुराको पनि हेक्का राख्नु पर्छ । नीति समस्या समाधानका बाटाहरु हुन् भने हामीले नीतिहरु बनाउदा त्यो गोरु गाढा गुडाउने, ट्कहरु कुदाउने बनायौ की आवश्यकता परेको बेलामा प्लेन पनि उडाउन सक्ने रोड बनायौं कि भन्ने हो । त्यसैले पोलिसी भनेको त्यस्तो रोड हो जसले स्पिडलाई कम गर्ने वा हाइ स्पिडमा लिएर जाने भन्ने कुरा सिकाउँछ । गोरेटो र घोडेटोमा ट्रक कुदैना । गलत बाटोबाट हिंडेर हामी गन्तव्यमा पुग्न सक्दैनौं । यस्तो खालको नीति लिएर परिवर्तन हुन सक्दैन । त्यो नीतिलाई कार्यान्वयनका लागि हामीले हाम्रो सोसल कुराहरु कसरी सोच्छौ भन्ने हो । जस्तै यसको लागि शिक्षाको कुरा, दिनदिनै बोलिने बोलीका कुरा, एउटा मानव जातिले अर्को मानव जातिको लागि गरेको व्यवहारका कुराहरुको बारेमा चेत र त्यो चेत व्यवहारमा जबसम्म प्रतिबिम्बित हुँदैन, त्यो कहिल्यै पनि नीति अनुसार पुरा हुन सक्दैन । त्यसैले अहिले पनि नीति आउछ, कार्यान्वयनमा गएर फितलो हुन्छ । फेरि सबैले भन्ने नी त्यही हो । एनजीओ, आइएनजीओले पनि त्यही भनिरहेको हुन्छ । सरकारका काम गर्ने कर्मचारीहरुले पनि, पत्रकारहरुले पनि त्यही भनिरहेको हुन्छ । 

नीति आउँछ तर कार्यान्वयन फितलो छ । यो कुरा थाहा पाइरहेका छौं भने नीति बलियो बनाउनका लागि किन हामी लागिरहेका छैनौं ? त्यसलाई बलियो बनाउनको लागि छलफल त हुनुपर्यो नी । खाली एकमाथि अर्को नीति थप्दै लगेको मात्र देखिन्छ । असल नीति थोरै भए पनि प्रभाबकारी हुन्छन, नराम्रा र दीर्घकालीन सोंच नराखी बनेका नीतिका ठेलीले पुस्तकालय भरे पनि तिनले परिवर्तनलाई गति दिन सकदैन् । यहाँका नीति जनताको लागि होइन, एनजीओ, आइ एनजीओ, र अन्र्तराष्ट्रिय संस्थाको लागि बनाइन्छ ।

दलित आन्दोलनले स्थापना गरेको सम्मान र मानक शब्दका रूपमा दलितलाई ग्रहण गरिसकेका छन् । साझा नाम बनेको कारण सबै खेमा राजनीतिसँग आबद्ध कार्यकर्ताले दलित शब्द प्रयोग गर्छन्; जसले संविधानमा समेत आफ्नो परिचय र अधिकार स्थापित गरेको छ । गर्व गर्न सकिने साझा नाम, परिचय र मानक बनेको छ– दलित शब्द । त्यसैले दलित शब्दमा अलमल, दोधार र अन्यमनस्क बनिराख्ने आवश्यकता छैन । सक्दो दलित भाष्य निर्माण गरेर, संस्कृति बनाएर, सौन्दय मानेर दलित विषयलाई फराकिलो आयाम दिँदा आहतमा राहत मिल्नेछ । दलन दलितको मात्रै निजी समस्या होइन, राष्ट्रको समस्या हो । दलित शब्द दर्द, अपमान, आक्रोश र विप्लवको दलनविरुद्धको राष्ट्रिय अन्तर्राष्ट्रिय आवाज हो ।

मानवीयताको कलंकरूपी समस्याको समाधान स्वदेशका तारे होटल र विदेशका ठाउँ/ठाउँमा विभिन्न सभा, सेमिनार गरेर हुँदैन । यो समस्यालाई राजनैतिक दलको अनावश्यक प्रवेश र विभिन्न आयातित विचारवाद या धर्मको छत्रछायाँमा राखेर समाधानको जमर्को गर्नु दीर्घकालीनरुपमा घातक सिद्ध हुनेछ । हाम्रो समस्या हामी नै समाधान गर्दछौं, किनकि जुन अंगमा घाउ लागेको छ उपचार त्यहीँ गर्ने हो । विरोधका लागि विरोध गर्ने प्रवृत्ति हाम्रो समाजमा हावी छ, तर न्यायसंगत र परिस्थितिको गहनतालाई बुझेर बिरोध गर्नु सान्दर्भिक हुन जान्छ । छुवाछुत रहिरहोस र प्रभुत्व कायम गर्न पाइयोस भन्ने अतिवादी चिन्तन तथा यसलाई भजाएर स्वार्थसिद्ध गर्न एवं समुदायगत द्वन्द्वमा रमाउन उद्यत समूहलाई यो संकल्प त्यति पाच्य नहोला तर यसमा न्याय, सर्वपक्षीय र सर्वकालिक हित छ ।

अव हामिले जातिय छुवाछुत,भेदभाव र असमानताको मुद्दा बाट माथि उठ्न पर्छ किनकि हाम्रा युवाले कमाएको पैसाले भारत र चीनलाई धनी बनाएको छ । प्राइभेट स्कुल र प्राइभेट हस्पिटलले कमाएका छन् । बैंक, वित्तिय संस्थाले निक्षेप संकलन गर्न सकेका छन् , त्यसले हाम्रो अवस्थामा सुधार भएजस्तो देखिएको हो । राज्यले यो दासअर्थतन्त्रमा धेरै ठुलो गर्व गर्नुहुन्छ जस्तो लाग्दैन । नेपाली युवा मजदुरको रुपमा होइन, पर्यटकको रुपमा विदेश जान सक्ने अर्थतन्त्र निर्माण गर्न जरुरी छ ।

लेखक नारायण रिजाल यात्रा मिडिया हाउसका प्रधान सम्पादक समेत हुन । उनि संग सामाजिक सञ्जाल फेसबुकमा  जोडिन यहाँ दवाउनुहोस  ।

Post a Comment

Previous Post Next Post