दुई बर्ष देखि फलामको सिक्रीमा बाँधिएका सुरेश थापा



बर्दिया/ बाँसगढी ९ खैरेनी बर्दियाका २२ बर्षिय सुरेश थापा । जो बिगत दुई बर्ष देखि फलामको सिक्रीमा बाँधिएका थिए ।

मानसिक समस्याबाट पीडित उनले अस्वभाविक व्यवहार गर्दै समस्या सृजना गर्न थालेपछी उनलाई नियन्त्रणमा लिन परिवारले बाँधेर राख्ने गरेको थियो । जय बहादुर थापाका नाति हर्क, बहादुर थापाका छोरा सुरेश अध्ययन गर्दा, गर्दै मानसिक समस्या सृजना भएको थियो । मानसिक अस्वस्थ भएपछी घरमा नबस्ने, डुलिरहने, दौडिने, बस, ट्रक रोक्ने, झै झगडा गरिरहने लगायतका समस्या उनमा देखिएपछी उनलाई नियन्त्रणमा लिन उनलाई घर परिवारले फलामको जन्जिरले बाँध्ने गरेको थियो । कमजोर आर्थिक अबस्थाको उक्त परिवारमा सुरेशकी आमाको निधन भएपछी सुरेशमा समस्या बढेर गएको बताईन्छ । श्रीमतीको निधन भएपछी सुरेशका बुवाले दोश्रो बिहे गरेका थिए । सुरेशका बुवा रोजगारीको शिलशिलामा बिदेश रहेको, उनको रेखदेख बृद्द बाजे, बज्यै र कान्छी आमाले गरिरहेका थिए । गरिबी, कामको बोझका कारण छोराको रेखदेख परिवारका लागि समस्या सृजना भईरहेको थियो । मानसिक रोगको उपचार गराई औषधि सेवन गराईरहे पनि सुरेशको मानसिक स्वास्थ्यमा सुधार आएको थिएन । उनको यो अवस्थालाई नजिकबाट नियालीरहेका उक्त वडाका वडाध्यक्ष चन्द्र बहादुर शाहीको अनुरोध, बास नेपालका जनसम्पर्क अधिकृत माधब कार्की, कार्यकारी निर्देशक नमस्कार शाहको पहलमा मानव सेवामा समर्पित निलसागर सेवाश्रमको टोली निज निवासमा शुक्रबार अबेर राती पुगेको थियो । टोली पुग्दा उनले लगातार कविता, गित सुनाए, निरन्तर बोलिरहे, बोल्दा उनी बाठो, चलाख र अब्बल भएको बुझ्न टोलीलाई गार्हो भएन । टोली घरमा पुगे लगत्तै गाउँका भद्र, भलाद्मी जम्मा भए, सबैको आग्रह बमोजिम उनको उद्दार गर्ने योजना बन्यो, उनी पनि राजी भए । अन्ततः उनको उद्दार गरि निलसागर सेवा श्रममा ल्याईएको छ । उनको स्वास्थ्य अवस्था सुधार भएर उनको पारिवारिक पुनर्मिलन हुने आशा निलसागर सेवाश्रमकि अध्यक्ष सरिता खनालले गरिन् ।
निलसागरका उपाध्यक्ष नारायण सुबेदीले उनको उपचारका साथै मनोबिमर्श सेवा प्रदान गरि आश्रममा राख्ने बताए ।

Post a Comment

Previous Post Next Post