गाउँ निकाला’को हल्लापछि अनमी तुल्साले भनिन्– गलत हो, मुगुमै छु

सोमबार दिउँसो सामाजिक सञ्जालमा एउटा शब्दसहितको तस्बिर भाइरल बन्यो। उक्त भाइरल तस्बिर मुगुको सोरु गाउँपालिकास्थित खनायाँ स्वास्थ्य चौकीमा कार्यरत अनमी तुल्साकुमारी विश्वकर्माको थियो।
तस्बिरमा लेखिएको थियो, ‘दलितले छोएको औषधि नखाने भन्दै स्थानीयले गाउँ निकाला गरे!’ जातीय छुवाछुतसम्बन्धी उक्त तस्बिरबारे बुझ्न हामीले विश्कर्मालाई प्रत्यक्ष सम्पर्क गरेका थियौँ।
तर, उनले आफूलाई गाउँलेहरूले निकाला नगरेको बताइन्।


गाउँलेहरुले मैले छोएको औषधी नखाने र गाउँ निकाला गरे भन्ने कुरा चाहीँ गलत हो,’ विश्वकर्माले यात्रा खबर संग भनिन्, ‘तर, केही प्रचलित मान्छेले भने दलितले छोएको औषधी नखाने भनेकै हुन्। त्यो कुरा एक÷दुई महिना पहिलेकै हो।’


तर, उनले उक्त कुरा आफूले घरमा भने गरेको स्वीकार गरिन्।


मुगुमा रोजगारीका लागि पोस्टिङ भएपछि स्वास्थ चौकी नजिकै कोठा सर्ने क्रममा परिवारसँग मात्रै सो कुरा गरेको उनले बताइन्।

‘मैले कहीँकतै मिडियामा यस्तो कुरा गरेको थिएनँ। मेरो घर दाङको तुल्सीपुर हो। म मुगुमा रोजगारीको लागि पोष्टिङ भएको एक वर्ष भयो। मैले कोठा सार्ने कुरा आफ्नो घरमा गरेको थिएँ,’ उनले थप प्रष्ट पार्दै भनिन्।

उता, सोरु गाउँपालिकाका उपाध्यक्ष किशरबहादुर शाहीले उक्त घटनाबारे जानकारी पाउने बित्तिकै खनायाँ पुगेको बताए।

‘उक्त खबर पाउन बित्तिकै म त्यहाँ (खनायाँ स्वास्थ्य चौकी) पुगेको थिए। म तुलसाजीसँगै सदरमुकाम फर्किएको छु,’ अध्यक्ष शाहीले भने, ‘तुलसा जी पनि म सँगै हुनुहुन्छ। उहाँको फोन नम्बरमा धेरैको फोन आएपछि तनाव भएर फोन अफ गर्नुभएको छ।’

Post a Comment

Previous Post Next Post