डेढ करोड कमिसनको लागि ३ जनाको हत्या !

तीन जनाको हत्या आरोपमा पक्राउ परेका अनिलकुमार मण्डलले हत्या जग्गा किनबेच गर्दा आउने कमिसनका कारण भएको प्रारम्भिक बयान दिएका छन् । अपराध महाशाखा काठमाडौं र मोरङ प्रहरीसमक्ष दिएको प्रारम्भिक बयानमा हत्याको कारण जग्गाको बैना वापत आउने कमिसन नै रहेको आरोपीले बताएका हुन् ।


प्रहरी स्रोतका अनुसार यी चारजना जग्गा व्यवसायीको समूहले झापामा ५० करोडको जग्गा बैना गराएको थियो । जग्गा कसले कसलाई गराएको स्पष्ट नभएपनि ५० करोडको जग्गा बैना गराएवापत ३ प्रतिशतले हुन आउने डेढ करोड रुपैयाँ कमिसन आउने पक्कापक्की भएको थियो । तर कमिसनका विषयमा लिम्बुले धेरै भाग खोजेपछि कमिसन एकलौटी पार्ने उद्देश्यका साथ मण्डलले पहिले लिम्बु र पछि अन्य दुई जनाको हत्या गराएका थिए ।

प्रहरी स्रोतका अनुसार जग्गाको कमिसनको विषयमा कुरा नमिलेपछि मण्डलको समूहले मंसिर २८ गते लिम्बुलाई ललितपुरको धापाखेलमा बोलाएर हत्या गरेको थियो । उक्त हत्याकाण्डको पोल खुल्ने डरले पछि मण्डलको समूहले राजेन्द्र कुमार श्रेष्ठलाई पुषको ५ गते र शम्भु चौधरीलाई पुषको ७ गते मोरङमा हत्या गरेका थिए ।

त्यसपछि शव वेपत्ता बनाउन लिम्बुको शव धापाखेलकै एक घरको कम्पाउन्ड र श्रेष्ठ र चौधरीको शव मोरङको धनपालथान गाउँपालिका ७ कमलपुरमा रहेको उखुबारीमा खाल्डो खनेर गाडिएको थियो । छिटो शव गलाउनका लागि उनीहरुले सबै स्थानमा नुनको प्रयोग गरेका थिए ।

हत्याको आरोपमा प्रहरीले तत्काल तीन जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सिराहा नगरपालिका वडा नं २१ सिराहा घर भई बल्खु बस्ने ३१ वर्षीय अनिलकुमार मण्डल, जहदा गाउँपालिका ४ सिस्वनी बस्ने वर्ष २९ को अमित साह भनिने दीनानाथ सोनार र धनपालथान गाउँपालिका ७ कमलपुर बस्ने ६२ वर्षीय नासिर आलम छन् । हत्यामा अन्य केही नेपाली तथा भारतीय नागरिकको पनि संलग्नता रहेको र उनीहरु फरार रहेकाले खोजीकार्य भइरहेको प्रहरीले जनाएको छ ।

मण्डलले चारजना भारतीय नागरिकलाई २० लाख रुपैयाँ दिएर श्रेष्ठ र चौधरीको हत्या तथा शव व्यवस्थापन गर्न लगाएको प्रहरीले बताएको छ ।

Post a Comment

Previous Post Next Post