स्थानीय तह निर्वाचन महानगर र उपमहागरका उम्मेदवार टुंग्याउन बसेको बैठकमा कांग्रेस शीर्ष नेताहरूबीच चर्काचर्की

 काठमाडौँ - आगामी स्थानीय तह निर्वाचनमा महानगर र उपमहागरका उम्मेदवारमा सहमति जुटाउन बसेको कांग्रेस शीर्ष नेताहरूको बैठक विनानिष्कर्ष टुंगिएको छ । गएराति अबेरसम्म बसेको कांग्रेस शीर्ष नेताहरूको बैठक उम्मेदवारमा सहमति नजुटेपछि विना निष्कर्ष टुंगिएको हो ।


बैठक राति साढे ११ बजेसम्म बसेको थियो । शुक्रबार साँझ ५ बजे बस्ने भनिएको बैठक राति १० बजे मात्रै सुरु भएको थियो । बैठक शुक्रबार बिहान समेत बसेको थियो ।

शीर्ष तहमा उम्मेदवार टुंग्याएर केन्द्रीय कार्य सम्पादन समितिमा लैजाने तयारी थियो । हिजो सहमति नजुटेपछि केन्द्रीय कार्यसम्पादन समिति बैठक आजका लागि सारिएको थियो ।

बैठकमा विराटनगर महानगरपालिको विषयमा टिकट कसलाई दिने भन्ने विषयमा सभापति शेरबहादुर र नेता शेखर कोइरालाबीच बैठकमा चर्काचर्की भएको बैठकमा सहभागी नेताले बताए । उनका अनुसार देउवाले अमृत अर्याललाई उम्मेदवार बनाउन खोजेका छन् । उनी देउवानिकट केन्द्रीय सदस्य हुन् ।

कोइरालाले केन्द्रीय सदस्य भएकालाई महानगरमा उम्मेदवार बनाउन नहुने अडान लिएका थिए । केन्द्रको मान्छेलाई महानगरमा नलैजाऔ भन्ने शेखरको भनाइ थियो । अमृत २० वर्षअघि विराटनगरमा मेयरमा पराजित भएका थिए ।

बैठकमा अन्य महानगरमा समेत सहमति नभएको ती नेताको भनाइ छ ।

आज कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दै छ । बिहान ११ बजे बस्ने बैठकले महानगर र उपमहानगरका मेयर र उपमेयर टुंग्याउने तयारी छ । समितिको बैठक यसअघि हिजोका लागि बोलाइएको भए पनि आजका लागि सारिएको थियो।

Post a Comment

Previous Post Next Post