टाउकोमा गम्भीर समस्या भएका बेंसीशहरकी साधना श्रेष्ठको उपचारमा सहयोग गर्न अपिल

लमजुङ उद्योग वाणिज्य संघका पूर्वअध्यक्ष स्वर्गिय धर्मराज श्रेष्ठको कान्छी छोरी साधना श्रेष्ठको उपचारमा आर्थिक अभाव भएको छ ।


१९ बर्षीया साधनालाई टाउकोमा गम्भीर समस्या (राइनोरिया) रोग लागेको र उपचारमा धेरै रकम लाग्ने भएपछि परिवारले सहयोगको अपिल गरेको छ । धर्मराज श्रेष्ठको निधनपछि परिवारमा आर्थिक स्रोत नभएको र छोरीको उपचारमा झन् समस्या भएको परिवारले बताएको छ । आमा सुनकुमारी श्रेष्ठका अनुसार श्रीमान हुँदाको समयमा जीवनयापनमा सहज भएपनि श्रीमानको मृत्युपछि आर्थिक अभाव भएको छ । अभाव नै अभावको बीचमा छोरीलाई गम्भीर रोग लागेपछि थप चिन्ता थपिएको बताउनुभयो । एकपटक टाउकोको सल्यक्रिया गरेपनि सल्यक्रिया सफल नभएको र थप उपचारका लागि भारत लानुपर्ने भएको बताउनुभयो । हालसम्मको उपचारमा करिव १० लाख रुपियाँ खर्च भइसकेको र अब थप उपचारमा ८ लाख बढी भारतीय रुपैयाँ लाग्ने बताएकाले मंगलबार पत्रकार भेटघाट कार्यक्रममार्फत सहयोग गर्न आमा सुनकुमारी श्रेष्ठले अनुरोध गर्नुभयो ।
साधनालाई गत भदौ २९ गते देब्रे नाकबाट पानी बगिरहने समस्या देखा परेको थियो । सुरुमा नारायणी सामुदायिक अस्पताल भरतपूरमा देखाइएको थियो । अस्पतालले काठमाडौं शिक्षण अस्पतालमा रिफर गरेको थियो । अस्पतालले छोरीलाई राइनोरिया भएको बताएपछि मंसिर २६ गते भर्ना गरिएको थियो । मंसिर २८ गते टाउकोको सल्यक्रिया गरिएको हो । माघ ७ गते डिस्चार्ज गरेर घर ल्याईएपनि पुनः स्वास्थ्यमा समस्या देखिएको आमा सुनकुमारीले बताउनुभयो । भनेका कुरा सम्झन नसक्ने, सुतिरहने खालको समस्या देखिएपछि पुनः जाँच गरिएको थियो । उपचार नेपालमा सम्भव नभएको अस्पतालले बताएको बताइएको छ ।
भदौभित्र उपचार गर्न डाक्टरले सल्लाह दिएपनि आर्थिक अभाव भएपछि सबैसंग सहयोगको अपिल गरेको लमजुङ उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष रामकुमार श्रेष्ठले बताउनुभयो । जटिल खालको स्वास्थ्य समस्या देखिएको र उपचार नेपालभित्र सम्भव नभएपछि सहयोग गर्न आग्रह गरिएको बताउनुभयो । भारतमा उपचारका लागि पठाउन रकम धेरै लाग्ने भएकाले सहयोगी मनहरुले जति सक्दो सहयोग गर्न आग्रह गरिएको छ ।

साधनाको आमा, एक दिदी र एक भाई छ । उहाँको उपचारका लागि बेंसीशहर नगरपालिका ८ का लमजुङ उद्योग वाणिज्य संघका द्धितीय उपाध्यक्ष भरतकुमार श्रेष्ठले मासिक ५ हजारका दरले बर्षभरीमा कुल ६० हजार खातामा जम्मा गर्ने प्रतिवद्धता जनाउनुभएको छ । सहयोग गर्न चाहनेले साधनाको आमा सुनकुमारी श्रेष्ठको मोबाइल नम्बर ९८४६०७४२४१ मा सम्पर्क गर्न अनुरोध गरिएको छ । उहाँको नाममा एभरेष्ट बैंक लिमिटेड बेंसीशहर शाखामा रहेको खाता नम्बर ०२७००५०१२०००८७ मा जम्मा गर्न आग्रह गरिएको छ । पत्रकार भेटघाट कार्यक्रममा घरेलु तथा साना उद्योग महासंघ लमजुङका अध्यक्ष श्रीकृष्ण लामिछाने, नेपाल पत्रकार महासंघ लमजुङका निवर्तमान अध्यक्ष आश गुरुङ, पूर्व अध्यक्ष किसान संगीत नेपाली, संस्थापक अध्यक्ष नवराज पहाडी, रेडियो मस्र्याङदीका निर्देशक मिना गुरुङलगायतको उपस्थिति थियो ।

Post a Comment

Previous Post Next Post